१३ बैशाख २०८१, बिहीबार
Follow Us

एक महिनाभित्र नेतृत्व हस्तान्तरण गर्छु : कुमार पन्त, अध्यक्ष एनआरएनए (भिडियो)

नेपालब्रिटेन डट कम्
१७ पुष २०७८, शनिबार २२:२३

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुमार पन्तले एक महिनाभित्र संघको नेतृत्व हस्तान्तरण गर्ने बताएका छन् ।

अध्यक्ष पन्तले शनिवार पत्रकार ऋषि धमलालाई दिएको एक अन्तरवार्तामा सरकारले अंकुश लगाउन खोज्दा संघको निर्वाचन अवरोध भएको बताए । उनले केही व्यक्तिको स्वार्थको लागि परराष्ट्र मन्त्रालयलाई प्रयोग गरिएको बताए ।

उनले संघ स्वतन्त्र सामाजिक संस्था भएको हुदा नेपाल सरकारको निर्देशन मान्न वाध्यात्मक नभएको बताए । उनले संघले नेपालको कानुनलाई मानेर अघि बढ्ने बताए ।

उनले निर्वाचन समिति गठन गरेर निर्वाचनका प्रकृया शुरुभैसको बताउदै सबैलाई समेटेर लैजाने प्रयत्न गर्दा निर्वाचन केही ढिला भएको बताए । उनले कोरोना महामारीमा संघले महत्वपूर्ण तथा उल्लेख्य रुपमा काम भएको बताए ।

विश्वभरि छरिएर रहेका नेपालीहरु मिलेर बस्न चाहेको भन्दै सरकारले उनीहरुको बीचमा फाटो ल्याउने काम नगरोस भन्ने पन्तको भनाई छ । उनले कतै सरकारले अमुक व्यक्तिलाई संघको नेतृत्वमा ल्याउनको लागि त यो कदम चालेको होईन ? भनेर पनि अहिले गैरआवासीय नेपालीहरुले प्रश्न उठाएको सुनाए ।

उनले भने-“सरकारको संघ कब्जा गर्ने चाहना थियो होला, चाहना नभएको भए त यस्तो कदम चाल्दैन थियो होला, संघले त आफ्नो काम गरिरहेको थियो, निर्वाचन कार्यतालिका सार्वजनिक गरिसकेको छ, निर्वाचन समितिले पनि काम गरिरहेको थियो, यसलाई रोक्नुहोस, यसलाई पख्नुहोस भन्नुको मतलव त केही न केही त हिँडेन स्वार्थ छ, केही न केही चाहन्छ सरकार, अमुक मान्छेलाई पो जिताउन लाग्यो सरकार भनेर साथीहरुले शंका गर्नुभयो ।” पन्तले राजनीतिक पार्टीलाई संघभित्र निषेध नै रहेको टिप्पणी गरे ।