१५ चैत्र २०८०, बिहीबार
Follow Us

पत्रकार महासंघ यूकेको जनचेतना कार्यक्रम : कोरोना विरुद्ध खोपमै केन्द्रित रहन सुझाव

नेपालब्रिटेन डट कम्
२० पुष २०७८, मंगलवार ०१:५७

लन्डन- बेलायतमा कार्यरत नेपाली स्वास्थ्यकर्मीले कोभिड-१९ को नयाँ भेरियन्ट ओमिक्रोनले आक्रान्त बनाइरहेको बेला नेपाल कोभिडविरुद्धको खोपमै केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।

ओमिक्रोनको विश्वव्यापी ट्रेन्ड हेर्दा नेपालमा पनि संक्रमण थप जटिल बन्न सक्ने जोखिम देखिएको भन्दै उनीहरुले नेपाल सरकारलाई खोप वितरणमै थप ध्यान दिन सल्लाह दिएका हुन् ।

नेपाल पत्रकार महासंघ बेलायत शाखाले सञ्चालन गरेको स्वास्थ्य सचेतना कार्यक्रममा कन्सल्टेन्ट रेस्पिरेटोरी फिजिसियन डा सुधिर लोहनीले नयाँ ओमिक्रोन भेरियन्टमा समेत खोप ८० प्रतिशतभन्दा बढी प्रभावकारी पाइएको बताए । बेलायतको केन्टस्थित ड्यारेन भ्याली अस्पतालमा कार्यरत डा लोहनीले ओमिक्रन भेरियन्ट तुलनात्मक रुपमा कम घातक तर बढी संक्रामक रहेको जनाए ।

‘यसको संक्रमणले फोक्सोमा भन्दा पनि बढी घाँटीमा असर गर्ने भएकाले कम घातक छ । तर संक्रमण दर बढी रहेका कारण स्वास्थ्य सेवाहरुले थेग्नै नसक्ने तहको भार सिर्जना हुने खतरा देखिएको छ,’ उनले भने ।

संक्रमण भइहालेको अवस्थामा आफूलाई सक्रिय राख्न निकै महत्वपूर्ण रहने डा लोहनीको सुझाव छ ।’शरिर निष्क्रिय रहँदा फोक्सोले कम काम गर्ने र संक्रमण जटिल हुने भएकाले सक्रिय भइराख्नु महत्वपूर्ण हुन्छ’, उनले भने ।

नेप्लिज डक्टर्स् एशोसिएसन यूकेका अध्यक्ष एवम् कन्सल्टेन्ट सर्जन डा कमल अर्यालले ओमिक्रोन बढी संक्रामक रहेका कारण थप सजगता जरूरी रहेको धारणा व्यक्त गरे । सुरक्षाका लागि बुस्टर खोप लिन सल्लाह दिँदै उनले भीडभाडमा नजाने, नियमित रुपमा हात धुने, सुरक्षित दूरी कायम गर्ने र मास्क लगाउने जस्ता सतर्कता पनि अपनाउन सुझाव दिए । नेपालको हकमा पनि ओमिक्रोन संक्रमण थप जटिल बन्ने जोखिम औँल्याउंदै डा अर्यालले नेपाल सरकारले अहिले खोप वितरणमै बढी ध्यान दिनुपर्ने बताए ।

बेलायतमै कार्यरत सिनियर नर्स सुनिता गौतम थापाले ओमिक्रोनको कारण बेलायतका अस्पतालमा समेत अहिले चाप निकै बढेको बताइन् । तीव्र फैलिरहेको संक्रमणले अस्पताल भर्ना हुने तथा आइसियूमा जाने बिरामी बढेको र धेरै स्वास्थ्यकर्मी नै संक्रमित बनेकाले समस्या भएको उनले सुनाइन् ।