१४ बैशाख २०८१, शुक्रबार
Follow Us

महाकालीमा पुल बनाउन भारत सहमत

नेपालब्रिटेन डट कम्
२२ पुष २०७८, बिहीबार २३:२१

नयाँदिल्ली — दार्चुलाको नेपाल–भारत सीमामा पर्ने महाकाली नदीमा पुल बनाउन भारत सरकार सहमत भएको छ । भारतको मन्त्रिपरिषद् बैठकले बिहीबार उक्त निर्णय गरेको विदेशमन्त्री एस जयशंकरले ट्वीटमार्फत जानकारी दिएका छन् । ‘यो एउटा महत्त्वपूर्ण कदम हो, यसले हाम्रो मित्रवत् सम्बन्धलाई थप गहिरो बनाउनेछ,’ जयशंकरले ट्वीटमा उल्लेख गरेका छन् ।

महाकालीमा पुल नहुँदा सीमा वारपार गर्न समस्या छ । दार्चुलाका बासिन्दाले नेपालबाट नेपालकै भूमि आउन पनि तुइनको भर पर्नु परिरहेको छ । तुइन वारपार गर्दा कतिपयको ज्यानै जाने गरेको छ । दार्चुलाको व्यास गाउँपालिका–२ स्थित तुइनको सहारामा महाकाली तर्ने क्रममा स्थानीय जयसिंह धामी नदीमा बगेर गत साउन १५ देखि वेपत्ता छन् । नेपालको गृह मन्त्रालयले गरेको अनुसन्धानमा धामी तर्दै गरेका बेला भारतीय एसएसबीका जवानले तुइन काटिदिएको पाइएको थियो । त्यसपछि परराष्ट्र मन्त्रालयले चासो राख्दै भारतलाई कूटनीतिक नोट पठाएको थियो । तर उक्त कूटनीतिक नोटको जवाफ भारतले दिएको छैन ।