१३ बैशाख २०८१, बिहीबार
Follow Us

आइडिया फर वर्ल्डले नेपालको पार्किङ व्यवस्थापन गर्ने

नेपालब्रिटेन डट कम्
२२ पुष २०७८, बिहीबार २३:२८

काठमाडौं । ‘आइडिया फर वर्ल्ड’ नामक कम्पनीले आगामी दश वर्षभित्र दश लाख जनालाई उद्यमी बनाउने योजना ल्याएको छ ।

कम्पनीले बुधबार पूर्वराष्ट्रपति डा रामवरण यादवको प्रमुख आतिथ्यमा राजधानीमा एक कार्यक्रम गरि आफ्ना परियोजनाबारे जानकारी दिएको छ ।

उक्त कार्यक्रममा यादवले विश्वभर छरिएर रहेका नेपालीको पहिचान उचो बनाउने र ब्यवसाय पनि गर्ने भन्ने महान उद्देश्यका साथ स्थापना भएको आइडिया फर वर्ल्डको सफलताका लागि शुभकामना दिए ।

उनले भने, ‘संस्थाले बोकेको उद्देश्य पुरा हुनेमा म विश्वस्त छु । विश्व बजारमा छरिएर रहेका नेपालीहरु मात्र होइन्, नेपालप्रति शुभेच्छा राख्ने सबैको पूंजी, लगानी, सीप र कार्य दक्षतालाई एकीकृत गर्ने जुन लक्ष्य तपाईंहरुले बोक्नु भएको छ । यो आफैंमा एउटा महान सोच हो ।’

विश्वभरका तीन सय बढी गैरआवासीय नेपाली तथा उद्योगपतिहरु सहभागी कार्यक्रमलाई सम्वोधन गर्ने क्रममा पूर्व राष्ट्रपति डा यादवले नेपालमा जलविद्युत, पर्यटन, कृषि तथा जडिबुटीको क्षेत्र लगानीका लागि उर्वर रहेको धारणा राख्दै विश्वका विभिन्न देशमा रहेका नेपालीलाई समेत लगानी गर्न आग्रह गरे ।

पूर्वराष्ट्रपतिले नेपाल अथाह सम्भावना र श्रोतको खानी भएको बताउंदै विश्व बजारमा नेपालको पहिचान अब ब्यापार र लगानीका लागी उपयुक्त गन्तब्य हो भनेर पुष्टि गर्न यस्तो प्रयासले ठूलो महत्व राख्ने बताए ।

‘खुला बजार र खुला अर्थतन्त्रको वर्तमान युगमा विश्व एउटा ग्लोवल भिलेज हो । त्यसैले पनि यो आइडिया नामक संस्थाको सोच आफैंमा प्रशंसनीय छ’, उनले भने ।

कार्यक्रममा परियोजनाबारे जानकारी दिँदै आइडिया फर वर्ल्डका अध्यक्ष गोकर्ण श्रेष्ठले भने, ‘आइडिया फर वर्ल्डका सयौं परियोजनामध्ये मुख्य परियोजना आइडिया पार्किङ, आइडिया रियल स्टेट र आउंदै गरेको आइडिया बैंकलगायतका व्यवसायबाट आगामी दश वर्षभित्र १० लाख जनालाई उद्यमी बनाउने योजना छ ।’

अध्यक्ष श्रेष्ठले आइडिया ग्रुपले आफ्नो बहुप्रतिक्षित पार्किङ परियोजनाका लागि ६० भन्दा बढि देशमा सम्बन्धन लिएको जनाए । उनले ग्रुपले यूरोप, अमेरिका, भारत, नेपाल, बंगलादेश र अफ्रिकाका केहि देशहरुमा पार्किङ परियोजनाका लागि सम्बन्धन लिएको र बढ्दो जनसंख्या र शहरीकरणसंगै पार्किङ विश्वभर धेरै ठूलो समस्याको रुपमा विकसित भइरहेको बेला कम्पनीले यति धेरै देशमा सम्बन्धन लिनसक्नु ठूलो सफलता भएको दाबी गरे ।

बुधबार नै कम्पनीले आइडिया रियल स्टेटको पनि शुरुवात भएको घोषणा गरेको छ ।

कम्पनीले न्यूनतम दुई डलर लगानीमा घरको मालिक बन्न सक्ने परियोजना ल्याएको र उक्त योजना बेलायतबाट गत अक्टोबरमा शुरु गरिएको अध्यक्ष श्रेष्ठले जानकारी दिए । यस परियोजना अन्तर्गत प्रत्येक दिन दुई डलरको लगानीमा कम्पनीको शेयरधनी हुन सकिने र कम्पनीको प्रोपर्टीमा स्वामित्व लिन सकिने कम्पनीले जनाएको छ ।

परियोजनामा हालसम्म सात हजार भन्दा बढी सदस्यले शेयरधनी हुनका लागि आवेदन दिएको समेत अध्यक्ष श्रेष्ठले जानकारी दिए । श्रेष्ठले थपे, ‘रियल स्टेट संसारको सबैभन्दा ठूलो व्यवसाय मध्ये एक हो । संसारमा ९० प्रतिशत भन्दा बढी मिलिनियर जन्माउने व्यवसाय र संसारका धेरै देशको कुल ग्राहस्थ उत्पादनमा यसको योगदान निकै ठूलो छ । अहिले पनि संसारका हरेक देशमा दशौं लाख घरको आवश्यकता र माग छ । तर आपूर्ति कमजोर र न्यून छ । यसका माग सधैं बढिरहने हुनाले यो दिगो व्यवसाय पनि हो । त्यसैले यो व्यवसायमा आइडिया ग्रुपले १० लाख नेपालीलाई उद्यमी बनाउने कामको शुरुवात गरेको छ ।’
आइडिया ग्रुपले आइडिया बैंक सञ्चालनका लागि बेलायतमा लाइसेन्स प्रक्रिया पनि शुरु गरेको जनाएको छ । बेलायतमा स्थापना हुने यो बैंक यसै वर्षभित्र सञ्चालनमा ल्याउने योजना रहेको श्रेष्ठले बताए ।

श्रेष्ठका अनुसार यो संस्था हाल विश्वका विभिन्न देशमा चार सयभन्दा बढी परियोजनामा संलग्न छ । जसमध्ये ५० वटा परियोजनालाई आफैंले नेतृत्व गरिरहेको छ ।

संस्थाले मुलतः अफ्रिकाको सुनखानी, यूरोपमा पार्किङ, रियल स्टेट, कृषि तथा अन्य विविध क्षेत्रमा लगानी गरिरहेको छ । करिब पांच वर्षअघि देखि नेपालमा समेत आइडिया फर वल्र्डको एशोसिएटेड संस्था आइडिया फर नेपाल लगायतको कम्पनीहरुको अगुवाइमा कृषि, घरजग्गा, पर्यटन, प्रविधि लगायतको क्षेत्रमा लगानी गरी योजना परियोजना सञ्चालन गरिरहेको छ ।

नेपालमा पनि यस संस्थाले यसै वर्ष देखि पार्किङ व्यवसाय शुरु गर्न लागेको छ । साथै काठमाडौं, बुटवल, नेपालगञ्ज, पोखरालगायतको क्षेत्रमा स्र्माट सिटी’ निर्माणका अवधारणासहित आवास निर्माण गर्ने परियोजनामा समेत काम गर्दै छ ।

त्यस्तै, चितवनको माडीमा ४० बिगाहा क्षेत्रफलमा फलफुल र माछापालनको व्यवसाय गर्दै आएको छ । साथै चितवन माडीमा यस संस्थाले स्टाण्डर्ड रिजोर्ट सञ्चालन गर्ने कामको समेत पूर्व तयारी गरिरहेको छ । देशका अन्य भागमा समेत कृषि फर्म सञ्चालनका आवश्यक प्रक्रिया आरम्भ गरिसकेको छ । साथै काठमाण्डौं टावर, मुक्तिनाथ केवलकार, सोलर फार्म लगायतका परियोजनाहरुको समेत यो संस्था साझेदारका रुपमा छ ।

कार्यक्रममा संस्थाकी दिर्नेशक रोजिना प्रधान राईले स्वागत मन्तव्यका क्रममा नेपालीहरुलाई विश्वभर कामदारको रुपमा मात्र हेरिने वर्तमान परिस्थितिलाई उल्टाउँदै नेपालीहरु पनि ‘इन्टरप्रेनर’ हुन् भन्ने स्थापित गराउन आफूहरु लागि परेको बताइन् । उनले अगाडि भनिन्, ‘विश्वभरका सम्पूर्ण नेपालीलाई हामीले गरेको कामले गौरवान्वित बनाएको छ । विश्वको जुनसुकै स्थानबाट नेपालीको श्रीवृद्धि र संवृद्धिमा टेवा पुरयाउन हामी लागि परेका छौँ । यसमा सबैलाई सहभागिताको लागि हार्दिक आग्रह गर्दछौँ ।’

कार्यक्रममा संस्थाका कानूनी सल्लाहकार हेमराज पोखरेलले यो संस्था गत चार पांच वर्ष देखि विधिवत रुपमा स्थापित भई कानूनी विधिपूर्वक सञ्चालनमा रही नयाँ योजना परियोजनाहरुको विकास र बृद्धिमा काम गरी रहेको बताउंदै संस्थाका चार्टर्ड अकान्टेन्टले कम्पनीले ल्याएको पार्किङ र रियल स्टेटको परियोजनाको फिजिबिलिटीका आधारमा यी परियोजनाहरु नाफामूलक र ‘ग्यारेन्टेड’ छन् भनेको जानकारी दिए ।

त्यसैगरि, कार्यक्रममा शुभकामना व्यक्त गर्दै प्रदेश नं। १ का आन्तरिक मामिला तथा कानून मन्त्री केदार कार्कीले आइडियासँगको सहकार्यमा विराटनगर महानगरपालिकामा आधुनिक पार्किङ सिस्टमका लागि काम शुरु भएको जानकारी दिए ।

त्यस्तै गैर आवसीय नेपाली संघ (एनआरएनए) आइसीसीका महासचिव डा। हेमराज शर्माले आइडियासंग मिलेर आफूहरुले वर्षौं देखि सहकार्य गरिरहेको बताउँदै परियोजनामा जोडिन सबै गैरआवासीय नेपालीलाई आग्रह गरे ।

कार्यक्रममा एनआरएनको आगामी महाधिवेशनमा अध्यक्षका दाबेदारहरु एनआरएन आइसीसी उपाध्यक्ष डा बद्री केसी, अर्का उपाध्यक्ष रविना थापा र आइसीसी सल्लाहकार कुल आचार्य लगायत विश्वका कयौं देशका गैरआवासीय प्रतिनिधिको उपस्थिति थियो ।

हङकङमा मुख्यालय रहेको ‘आइडिया फर वर्ल्ड’ गैरआवासीय नेपाली तथा विदेशी साझेदारहरु संलग्न वहुर्राष्ट्रिय कम्पनी हो ।