७ बैशाख २०८१, शुक्रबार
Follow Us

बलिउडकी चर्चित गायिका असीस काैर नेपालमा

नेपालब्रिटेन संवाददाता
२३ पुष २०७८, शुक्रबार १२:३३

काठमाडौँ । बलिउडकी चर्चित गायिका असीस कौर नेपाल आएकी छन् । शनिबार दरबारमार्गमा रहेको क्लब प्लेटिनममा आयोजना हुने ‘राता लम्बिया नाइट विथ आसीस कौर’ कन्सर्टका लागि उनी नेपाल आएकी हुन् ।

फेलिज इन्टरनेसनल इभेन्टले आयोजना गरेको कन्सर्टमा उनले आफ्नो चर्चित गीत ‘राता लम्बिया’, ‘भे माही’, ‘बन्देया रे बन्देया’ र ‘तेरे बिन’, ‘आख लड जावे’ लगायत मार्फत दर्शक नचाउनेछिन् ।

नेपाली दर्शकको बलिउड सेलिब्रेटी भेट्ने र सँगै नाच्ने चाहना पूरा गर्न कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाका सिइयो शाहिल खानले बताए । ‘विश्वमा नेपालमा कोरोना कहर नभएको सन्देश कार्यक्रमले दिनेछ,’ खानले भने, ‘कौरको ‘राता लम्बिया’ गीत अहिले ब्यापक हिट भएको र बजारको माहोल हेरेर उनलाई ल्याउन लागेको हो ।’

कार्यक्रममा आसीस कौरका अलावा नेपाली गायक याबेश थापाको प्रस्तुति रहनेछ । आसीस कौरको पछिल्लो समय ‘राता लम्बिया’ गीत निकै हिट छ । कौरले इन्डियन आइडल, आवाज पञ्जाब दीलगायतका विभिन्न गायन रियालिटी शोमा समेत भाग लिएकी थिइन् ।

पाँच वर्षको हुँदादेखि नै गायन क्षेत्रमा लागेकी कौरले ‘तमाचे’ फिल्मको ‘दिलदारा रिप्राइज’ मार्फत बलिउडमा डेब्यू गरेकी थिइन् । त्यसयता उनले बलिउडका थुप्रै फिल्मको गीतमा आफ्नो आवाज दिइसकेकी छन् । २०२१ को फिल्म फेयर अवार्डमा समेत उनले हात पारेकी थिइन् ।