१३ बैशाख २०८१, बिहीबार
Follow Us

लन्डनमा मनाइयो पृथ्वी जयन्ती

नेपालब्रिटेन डट कम्
२८ पुष २०७८, बुधबार ०९:११


डा केसीलाई पृथ्वी पुरस्कार

लन्डन । ३ सयौं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बेलायतमा पनि मंगलबार एक विशेष कार्यक्रमबीच मनाइएको छ ।

संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका तर्फबाट हरेक वर्षजस्तै यसपटक पनि पृथ्वी जयन्तीको अवसरमा विशेष कार्यक्रम गरी राष्ट्र निर्माताका रुपमा पृथ्वीनारायण शाहप्रति श्रद्धासुमन व्यक्त गरिएको छ । यसअघि भौतिक उपस्थितिमा गरिंदै आएको कार्यक्रम यसपटक भर्चुअल गरिएको थियो ।

आयोजक संगठनका संस्थापक अध्यक्ष भरत क्षेत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ तथा विशेष अतिथिका रुपमा लन्डनस्थित नेपाली दूतावासकी कार्यवहाक राजदूत रोशन खनाल, प्राध्यापक तथा राजनीतिक विश्लेषक डा सुरेन्द्र केसी र नागरिक समूहका अध्यक्ष निगम हुमागाईले सम्बोधन गरेका थिए ।

उनीहरुले नेपाल राष्ट्रको एकिकरणकर्ता पृथ्वीनारायण शाहको योगदानलाई कुनै पनि आग्रहबिना स्मरण गरिनुपर्ने धारणा राखेका थिए ।

त्यस अवसरमा लन्डनस्थित बुद्धिजिवी चिकित्सक डा. राघवप्रसाद धिताल (ओबिइ), हन्स्लो मेयर विष्णु गुरुङ, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, नेपाली साहित्य विकास परिषद यूकेका संस्थापक अध्यक्ष सुरेशजंग शाह,यती नेपाली एसोसिएसन यूकेका अध्यक्ष ध्रुव केसी केसी लगायतले पनि सम्बोधन गरेका थिए ।

त्यस्तै, कार्यक्रममा समाजसेवी बुद्धिजिवी शिवजी श्रेष्ठ, साहित्यकार विकलचन्द्र आचार्य, साहित्यकार गोपी सापकोटा, एनआरएनए यूकेका पूर्व महासचिव फडिन्द्र भट्टराई,नेपाल प्रहरीका पूर्व डिएसपी पत्रकार बाचस्पति रेग्मी, नेपाली वेलफेयर सोसाइटी यूके अध्यक्ष धन बहादुर सार्की,वंशज नागरिकता निरन्तरता अभियानका संयोजक खगेन्द्र पाठक,समाजसेवी- व्यवसायी कृष्णजंग साह,गोर्खाली समाज यूकेका अध्यक्ष कर्ण बहादुर दर्लामी मगर,साहित्यकार हरिसिंह थापा, समाजसेवी साहित्यकार रेसम अर्याल, तमुधिं लण्डन इकाईका पूर्वअध्यक्ष तथा सल्लाहकार डेभिड गुरुङ, ठकुरी समाज यूकेका अध्यक्ष राम राजा मल्ल लगायतले पनि मन्तव्य राखेका थिए।

आयोजक संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका संस्थापक अध्यक्ष क्षेत्रीले स्वागत मन्तव्य राख्दै राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको योगदानलाई स्मरण गर्न वर्षेनी कार्यक्रम गरिंदै आएको जनाए ।

कार्यक्रममा बेलायतका प्रमुख नेपाली संघसंस्था एवम् समुदायका अगुवाहरुको उल्लेख्य सहभागिता थियो।कार्यक्रम सञ्चालन आरजीएनएस अध्यक्ष जीत रानाभाटले गरेका थिए।


डा केसीलाई पृथ्वी पुरस्कार

कार्यक्रममै आयोजक संयुक्त राष्ट्रवादी नेपाली संगठन बेलायतका तर्फबाट संस्थापक अध्यक्ष भरत क्षेत्रीले पृथ्वी पुरस्कार घोषणा गरेका छन् ।

हरेक वर्ष एक जनालाई प्रदान गर्ने गरी घोषित एक लाख रुपैँया राशीको पुरस्कार पहिलो वर्ष प्राध्यापक डा सुरेन्द्र केसीलाई प्रदान गरिने घोषणा संस्थापक क्षेत्रीले गरे ।

केही समयभित्रै नेपालमा एक समारोह आयोजना गरी पुरस्कार प्रदान गरिने अध्यक्ष क्षेत्रीले बताए ।