१६ चैत्र २०८०, शुक्रबार
Follow Us

‘ओमिक्रोन’ संक्रमण : बेलायतमा एकैदिन चार सयको निधन

नेपालब्रिटेन डट कम्
२९ पुष २०७८, बिहीबार ०१:१८

लन्डन । बेलायतमा कोरोनाको नयाँ भेरिएन्ट ‘ओमिक्रोन’ संक्रमण सुरु भएयता पहिलोपटक सबैभन्दा बढीले ज्यान गुमाएका छन् ।

‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयर’ ले पछिल्लो २४ घन्टामा थप ३९८ जनाको मृत्यु भएको बुधबार जनाएको छ ।

यससंगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख ५१ हजार नाघेको छ । संक्रमण तीव्र हुँदै जांदा मृत्यु दरमा पनि वृद्धि हुँदै गएको हो ।

पछिल्लो २४ घन्टामा थप एक लाख २९ हजार ५८७ नयाँ संक्रमित थपिएका छन् । यो संख्या गत साताको तुलनामा ३३.४ प्रतिशतले कमी हो ।

अघिल्लो साता बुधबार करिब एक लाख ९५ हजार संक्रमित भएका थिए । बेलायतमा हालसम्म संक्रमित हुनेको कुल संख्या एक करोड ४८ लाख ६२ हजार १३८ पुगेको छ ।

यसअघि ओमिक्रोनका कारण बेलायतमा दैनिक संक्रमित संख्या दुई लाख २० हजार नाघेको थियो ।

अहिले अस्पताल भर्ना हुनेको सङ्ख्या पनि वृद्धि भएको छ । बितेको २४ घन्टामा दुई हजार ४९ जना कोरोना संक्रमित अस्पताल भर्ना भएका छन् भने १९ हजार ७३५ जनाको अस्पतालमा उपचार भइरहेको छ । यसैगरी ७९३ जना भेन्टिलेटर बेडमा उपचाररत छन् ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको १३ करोड ५७ लाख ३९ हजार ३२६ डोज खोप वितरण भइसकेको छ । जसमध्ये पाँच करोड २० लाख ११ हजार ८३५ जना अर्थात् ९०.४ प्रतिशतले खोपको पहिलो र ४ करोड ७७ लाख ७४ हजार २४८ जना अर्थात् ८३.१ प्रतिशतले खोपको दुवै डोज लगाइसकेका छन् ।

यसैगरी, तीन करोड ५९ लाख ५३ हजार २४३ अर्थात् ६२.५ प्रतिशतले बुस्टर डोज पनि लगाइसकेका छन् ।