७ बैशाख २०८१, शुक्रबार
Follow Us

प्रधानमन्त्री कार्यालयमा पार्टी: आलोचनापछि प्रधानमन्त्री कार्यालयले माग्यो माफी

नेपालब्रिटेन डट कम्
१ माघ २०७८, शनिबार ०३:५७

बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको कार्यालयले महारानी एलिजाबेथ द्वितीयसँग माफी मागेको छ। राजकुमार फिलिप (महारानीका पति) को अन्तिम संस्कारको अघिल्लो दिन प्रधानमन्त्री कार्यालयमा दुईवटा पार्टी गरिएको सार्वजनिक भएपछि जोन्सनको कार्यालयले माफी मागेको बेलायती सञ्चारमाध्यमले जनाएका छन्।

सन् २०२१ को अप्रिल १६ मा भएको पार्टी तीन घण्टाभन्दा लामो समय चलेको थियो। यससम्बन्धी खबर पहिलोपटक द टेलिग्राफले प्रकाशित गरेको थियो। राष्ट्रिय शोकका बेला पार्टी गरेको भन्दै प्रधानमन्त्री जोन्सन तथा उनका पदाधिकारीको तीव्र आलोचना भइरहेको छ।

प्रधानमन्त्री जोन्सनका प्रवक्ताले भनेका छन्, ‘राष्ट्रिय शोकका बेला पार्टी गर्नु खेदजनक हो।’ प्रधानमन्त्री कार्यालयमा भएका पार्टीमा प्रधानमन्त्री जोन्सन भने सहभागी थिएनन्। तर कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि लागु गरिएको नियम उल्लंघन गरेर पार्टी गरिएको भन्दै आलोचना भएको छ। कोरोना भाइरसको नियन्त्रणका लागि लागु भएको प्रतिबन्धात्मक नियमकै कारण राजकुमार फिलिपको फ्युनेरल (अन्तिम संस्कार) महारानी एलिजाबेथ र परिवारका सीमित सदस्यको उपस्थितिमा मात्रै भएको थियो।