१६ चैत्र २०८०, शुक्रबार
Follow Us

बेलायत, खाडी तथा युरोपमा नेपाली स्वास्थ्यकर्मीको माग उच्च

नेपालब्रिटेन डट कम्
३ माघ २०७८, सोमबार ०७:४१

केही वर्ष अघिसम्म अदक्ष श्रमिक माग गर्ने श्रम गन्तव्यले पछिल्लो समय नेपालबाट स्वास्थ्य क्षेत्रमा काम गर्ने नर्सको माग गर्न थालेका छन् । कोभिड–१९ संक्रमणपछि विश्व श्रम बजारमा स्वास्थ्य क्षेत्रका जनशक्ति महँगो हुन थालेपछि नेपालबाट स्वास्थ्य क्षेत्रमा काम गर्ने नर्सलगायतका दक्ष कर्मचारी माग हुन थालेको हो ।

पछिल्लो समय खाडीका केही देश, इजरायल, बेलायत तथा युरोपलगायतका देशले नेपालबाट बीएसी नर्स, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स (पीसीएल), डेन्टल टेक्निसियन, डेन्टल हाइजिनिस्ट, डेन्टल एक्सरे र केयरगिभर लगायतका क्षेत्रमा रोजगारी दिनेगरी नेपाली नर्स लैजान इच्छा देखाउन थालेका छन् । कोरोना संक्रमणपछि अन्तर्राष्ट्रिय श्रम बजारमा देखिएको दक्ष स्वास्थ्यकर्मी तथा प्राविधिक श्रमिकको अभाव पूरा गर्न नेपालबाट नर्स तथा स्वास्थ्य प्राविधि माग हुन थालेको श्रमविज्ञ डा. गणेश गुरुङले बताए । डा. गुरुङका अनुसार नेपाली नर्स तथा स्वास्थ्यकर्मी अन्य देशको तुलनामा मेहेनति, इमान्दार र सस्तो भएका कारण पछिल्लो समय नेपालबाट नर्स तथा केयर गिभरको माग हुन थालेको हो ।

पछिल्लो दुई दशक अदक्ष श्रमिक स्रोत मुलुकको रूपमा रहेको नेपालबाट बेलायत, इजरायल तथा खाडी देशबाट नर्स तथा स्वास्थ्य प्राविधिकको माग आउन थालेको छ । यसमध्ये इजरायलले अस्पताल तथा केयर गिभर संस्थाका लागि नेपालबाट एक हजार १ सय ७५ श्रमिकसँग रोजगार सम्झौता गरिसकेको छ ।

जसमध्ये ७० प्रतिशत महिला र ३० प्रतिशत पुरुष लैजाने तयारी अन्तिम चरणमा पुगेको वैदेशिक रोजगार बोर्डले जनाएको छ । यसमध्ये कतिपय नेपाली श्रमिकलाई इजरायलको अस्पतालले रोजगार सम्झौतासमेत गरिसकेको छ ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले शनिबार एक अनौपचारिक कार्यक्रममा काम, पारिश्रमिक तथा सेवा सुविधाका हिसाबले आकर्षक तथा सुरक्षित गन्तव्य मुलुक खोजी गर्ने क्रममा बेलायतसँग दुई पक्षबीच भएको औपचारिक छलफलबाट श्रम सम्झौता गरी रोजगारीका लागि नेपाली नर्स पठाउने बताए । यसका लागि मन्त्रालयले एक साताभित्र श्रम सम्झौता (एमओयू)को मस्यौदा तयार गर्ने सहमति भएको जनाएको छ ।

नेपाल र बेलायतबीच सरकारीस्तर (जीटूजी) बाट मात्र नेपाली नर्स रोजगारीका लागि बेलायत पठाउने सहमति भएको छ । रोजगार सम्झौताको अवधि पाँच वर्षको हुने र रोजगारीका लागि बेलायत जाने नर्सले कुनै सेवा शुल्क भने बुझाउनु पर्ने छैन ।

यसैगरी कुबेतको स्वास्थ्य मन्त्रालयको समन्वयमा त्यहाँका विभिन्न अस्पतालमा काम गर्न ७ सय २९ नर्सको माग आएको छ । यसका लागि कुबेतको एड्भान्स टेक्नोलोजी कम्पनी केएससीले कुबेतको स्वास्थ्य मन्त्रालयको अनुमतिमा नेपाली नर्स लैजाने ओमेगा इन्टरनेसनल मेनपावरका सञ्चालक राजकुमार राईले जानकारी दिए । यसका लागि सो मेनपावरले वैदेशिक रोजगार विभागबाट कात्तिक ११ गते पूर्व श्रम स्वीकृतिसमेत लिइसकेको छ । नर्स पेसामा कुबेत जाने नेपालीको मासिक तलब ३ सय ५० कुबेती दिनार अर्थात् एक लाख ३० हजारभन्दा बढी हुने विभागको श्रम स्वीकृतिमा उल्लेख छ ।

नेपाली नर्सले सिटीईभीटी वा अन्य कुनै कलेज युनिभर्सिटीबाट तीन वर्षको कोर्स पूरा गरी सम्बन्धित काममा कम्तिमा तीन वर्षको अनुभव भएको हुनुपर्ने उल्लेख छ । सीएमए, अनमीलगायत अन्य तीन वर्षभन्दा कम करिकुलम सर्टिफिकेट भएका हकमा मेनपावरले नै छनोट गर्ने जानकारी दिइएको छ ।

मेनपावरले दोस्रो चरणमा विभागबाट लिएको पूर्व श्रम स्वीकृतिअनुसार २ सय ८ पुरुष र ३ सय ९० महिला छन् । यसअघि भने सो मेनपावरले २० महिला नर्सको पूर्व श्रम स्वीकृति लिएको छ ।