१५ चैत्र २०८०, बिहीबार
Follow Us

धनुष र ऐश्वर्या रजनीकान्त अलग्गिए

नेपालब्रिटेन संवाददाता
४ माघ २०७८, मंगलवार ०४:५८

साउथ सुपरस्टार धनुष र ऐश्वर्या रजनीकान्त शक्तिशाली जोडीका रुपमा चिनिन्छन् । तर अब यो जोडीले अलग्गिने निर्णय लिएका छन् । साउथ सुपरस्टार रजनीकान्तकी छोरी ऐश्वर्याले धनुषसँग अलग्गिने जानकारी सामाजिक सञ्जालका माध्यमबाट आफ्ना फ्यानलाई दिएकी छन् ।

दुवैको विवाहको १८ वर्ष पुगेको छ । ऐश्वर्या रजनीकान्तका अलावा धनुषले पनि सामाजिक सञ्जालबाट अलग्गिने निर्णय सुनाउँदै आफूहरुको गोपनियताको सम्मान गर्न आग्रह गरेका छन् ।

‘हामी १८ वर्ष सँगै रह्यौं । यो समय हामी साथी, आमाबाबु, जोडी र एकअर्काको साथी बनेर बस्यौं । यो यात्रामा हामीले अगाडि बढ्नका लागि एकअर्कालाई सम्झियौं र धेरै कुरा भयो । आज हाम्रो बाटो अलग्गिँदैछ । म र ऐश्वर्या एक जोडीका रुपमा अलग हुँदैछौं । हामी अहिले हरेक विषयलाई अलग–अलग किसिमले सम्झिने कोशिस गरिरहेका छौं । कृपया हाम्रो यो निर्णयको सम्मान गर्नुहोला र गोपनियताको अवसर दिनुहोला’, धनुषले लेखेका छन् ।

धनुष र ऐश्वर्याले सन् २००४ मा विवाह गरेका थिए । उनीहरुको विवाह हुँदा धनुष केवल २१ वर्षका र ऐश्वर्या २३ वर्षकी थिइन् । दुवैको विवाह तमिल रीतिरिवाज अनुसार भएको थियो । उनीहरुको दुई छोरा छन्, एकको नाम यात्रा राजा र अर्कोको नाम लिंगा राजा हो ।