७ बैशाख २०८१, शुक्रबार
Follow Us

मुक्तिनाथ अधिकारी हत्याको २० बर्ष

नेपालब्रिटेन संवाददाता
४ माघ २०७८, मंगलवार ०५:०२

काठमाडौँ । राजनीतिका नाममा भएका कतिपय अपराध समाधान भएजस्तो लागेपनि अपराधीलाई कारवाहीको दायरामा ल्याउन अझै बाँकी रहेको नेपाली काँग्रेसका महामन्त्री गगन थापाले बताए । स्वर्गीय मुक्तिनाथ अधिकारीको २० औँ स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमा बोल्दै महामन्त्री थापाले मुक्तिनाथ अधिकारीको निर्मम तरिकाले भएको हत्याको विषय आफूले नयाँ पुस्तालाई समेत भन्ने गरेको र सरकार एवं सदनबाट फरक ढंगले आवाज उठाउने प्रतिवद्दता व्यक्त गरे ।

कार्यक्रममा माओवादीले हत्या गरेका लम्जुङ दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीको हत्यामा संलग्न भएकाहरुलाई कारवाही गर्नुपर्ने लगायत द्वन्द पिडितलाई न्याय दिनुपर्ने मागलाई वेवास्ता गरिएको भन्दै अधिकारकर्मीहरुले सरकार र राजनीतिक दलहरुको ध्यानाकर्षण गराएका छन ।

स्वर्गीय अधिकारीको २०औँ स्मृति दिवसका अवसरमा भर्चुअल माध्यमबाट आज आयोजित कार्यक्रममा सहभागीहरुले न्यायको माग गर्दा भिख मागेको ठान्ने राज्यप्रति नै नैराश्यता व्यक्त गरेका थिए ।

न्यायका लागि हतियार उठाउने पार्टी र थुप्रै समर्थक र शुभेक्छुक गुमाएका दलहरु कयौँ पटक सरकारमा सहभागी भए तर शहिदहरुको पक्षमा आवाज नउठाउँदा व्यवस्थाप्रति नै निराशा छाएको उनीहरुको भनाइ थियो ।

कार्यक्रममा स्वर्गीय अधिकारीका छोराहरु सुमन अधिकारी र सुवोध अधिकारी, वरिष्ठ पत्रकार राजेन्द्र दाहाल, मानवअधिकारकर्मीहरु कपिल श्रेष्ठ र चरण प्रसाईं, एमनेष्टी इन्टरनेशनलका अध्यक्ष बिक्रम धुकुचु, डा निरज श्रेष्ठ लगायतका वक्ताहरुले न्यायको लागि भएको लडाइँ लामो हुने भएकोले आफ्नो क्षेत्रबाट निरन्तर न्यायका लागि आवाज उठाइरहने प्रतिवद्दता व्यक्त गरे ।

कार्यक्रममा स्वर्गीय अधिकारीका नाति प्रशान्त तिवारी र नातिनी कविना अधिकारीले कवितामार्फत आफ्नो स्वर्गीय हजुरबुवालाई नदेखेपनि उहाँको योगदान र विना कारण भएको हत्याको माग गरेका थिए ।

कार्यक्रम मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानले आयोजना गरेको हो । लम्जुङ्ग दुराडाँडास्थित पाँणिनी संस्कृत विद्यालयका प्रधानाध्यापक मुक्तिनाथ अधिकारीलाई विद्यालयमा अध्यापन गराइरहकै बेला विसं २०५८ साल माघ ३ गते नियन्त्रणमा लिएर विद्यालय भन्दा केही माथि रुखमा झुण्याएर गोली हानी हत्या गरिएको थियो ।

स्वर्गीय अधिकारीको हत्या भएको समाचार र उनको रुखमा बाँधिएको फोटो विश्वव्यापी रुपमा चर्चामा रहेको थियो ।