१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एमाले पदाधिकारीको अधिकार र कर्तव्य हेरफेर

नेपालब्रिटेन संवाददाता
५ माघ २०७८, बुधबार १३:०९

काठमाडौँ ।नेकपा (एमाले)ले संशोधित विधानअनुसार केन्द्रीय समितिका पदाधिकारीहरूको कर्तव्य र अधिकार ‘हेरफेर’ सहित बाँडफाँड गरेको छ । चितवनमा सम्पन्न १०औँ राष्ट्रिय महाधिवेशनबाट एमालेले नेताहरूको व्यवस्थापनका लागि पदाधिकारी थप गर्दै विधानमा संशोधन गरेको थियो । सोहीअनुसार पदाधिकारीहरूको कर्तव्य र अधिकारमा हेरफेर गरेको हो ।

अब विधानमा वरिष्ठ उपाध्यक्ष पदको पनि व्यवस्था गरिएको छ । सोही अनुसार संशोधनअघिको विधानमा रहेको उपाध्यक्षको कर्तव्य र अधिकार अब वरिष्ठ उपाध्यक्षलाई दिइएको छ ।

१०औँँ महाधिवेशनको संशोधनअघिको विधानमा ‘अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने कार्य गर्ने’ अधिकार उपाध्यक्षमा थियो । अब यो अधिकार उपाध्यक्षबाट कटौती गरेर वरिष्ठ उपाध्यक्षलाई दिइएको छ । महासचिव र उपमहासचिवको कर्तव्य र अधिकार भने यथावत् राखिएको छ ।

सचिवहरूको अधिकारमा अधिकार र कर्तव्यमा दुई बुँदा थप गरिएको छ । हालको विधानमा नवौँ महाधिवेशनले संशोधन गरेको विधानमा प्रत्यायोजित अधिकार संशोधन गरिएको हो ।

सचिवहरूले केन्द्रीय सचिवालय, पार्टी सङ्गठन, मोर्चा सङ्गठन, प्रचार तथा प्रकाशन र राजकीय मामिला गरी पाँच क्षेत्रको काम गर्ने भन्ने अधिकार हटाएर महासचिवको काममा आवश्यक सहयोग गर्ने, महासचिवले प्रत्यायोजन गरिएका कार्यहरू गर्ने भन्ने बुँदा राखिएको छ ।

विधान अनुसार पदाधिकारीहरूको अधिकार र कर्तव्य

अध्यक्षका अधिकार र कर्तव्यः
१) पार्टीको प्रमुख नेताको रूपमा समग्र पार्टीको नेतृत्व गर्ने ।
२) राष्ट्रिय महाधिवेशन, विधान महाधिवेशन, राष्ट्रिय प्रतिनिधि परिषद, केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीका नीति तथा निर्णयहरूको कार्यान्वयनमा पार्टीलाई नेतृत्व प्रदान गर्ने, पार्टी विधानको कार्यान्वयन गर्ने गराउने ।
३) केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र राष्ट्रिय प्रतिनिधि परिषद्का बैठकको अध्यक्षता गर्ने ।
४) केन्द्रीय कमिटी तथा पोलिटब्युराेको बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने ।
५) केन्द्रीय कमिटीकोतर्फबाट विधान महाधिवेशन तथा राष्ट्रिय प्रतिनिधि परिषद्मा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने ।
६) आफूमा निहीत अधिकार उपाध्यक्ष वा उपाध्यक्षहरूमा प्रत्यायोजन गर्ने ।
७) केन्द्रीय कमिटी, पोलिटब्युराे र स्थायी कमिटीलेतोकेका अन्य कार्यहरू गर्ने ।
८) केन्द्रीय कमिटी, पोलिटब्युराे र स्थायी कमिटीका निर्णय कार्यान्वयन गर्ने गराउने ।

वरिष्ठ उपाध्यक्षको अधिकार र कर्तव्यः

१) अध्यक्षको काममा आवश्यक सहयोग गर्ने ।
२) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने कार्य गर्ने ।
३) अध्यक्षले प्रत्यायोजन गरेका कार्यहरू गर्ने
४) केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका अन्य कार्यहरू गर्ने ।

उपाध्यक्षका अधिकार र कर्तव्यः
१) अध्यक्षको काममा आवश्यक सहयोग गर्ने ।
२) अध्यक्षले प्रत्यायोजन गरेका कार्यहरू गर्ने
३) केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका कार्य गर्ने भनेर तोकिएको छ ।

महासचिवका अधिकार र कर्तव्यः
१) राष्ट्रिय महाधिवेशन तथा विधान महाधिवेशनबाट पारित नीति–निर्णयहरूको कार्यान्वयनका लागि कार्ययोजना तयार गरी केन्द्रीय कमिटी, पोलिटब्युराे र स्थायी कमिटीमा प्रस्तुत गर्ने ।
२) केन्द्रीय सचिवालय सञ्चालन गर्ने ।
३) अध्यक्षको परामर्शमा केन्द्रीय कमिटी, पोलिटब्युराे, स्थायी कमिटी र राष्ट्रिय प्रतिनिधि परिषद्को बैठक बोलाउने र बैठकको कार्यसूची तयार गर्ने ।
४) केन्द्रीय कमिटी, पोलिटब्युराे, स्थायी कमिटीको बैठकमा सङ्गठनात्मक प्रतिवेदन पेस गर्ने ।
५) केन्द्रीय कमिटीको तर्फबाट विधान महाधिवेशन र राष्ट्रिय प्रतिनिधि परिषद्को बैठकमा सङ्गठनात्मक प्रतिवेदन प्रस्तुत गर्ने ।
६) केन्द्रीय कमिटी, पोलिटब्युराे, स्थायी कमिटी र राष्ट्रिय प्रतिनिधि परिषदका बैठक सञ्चालन गर्ने,
७) आफूमा निहीत अधिकार उपमहासचिवमा प्रत्यायोजन गर्ने ।
८) केन्द्रीय कमिटी, पोलिटब्युरो र स्थायी कमिटीले तोकेका अन्य काम गर्ने ।
९) केन्द्रीय कमिटी, पोलिटब्युराे तथा स्थायी कमिटीका निर्णय कार्यान्वायन गर्ने गराउने ।

उपमहासचिवका अधिकार र कर्तव्यः

१) महासचिवको अनुपस्थितिमा महासचिवले गर्ने सम्पूर्ण कार्यहरू गर्ने ।
२) महासचिवले प्रत्यायाेजित गरेका कामहरू गर्ने ।
३) महासचिवको काममा आवश्यक सहयोग गर्ने ।
४) केन्द्रीय कमिटी, पोलिटब्युराे र स्थायी कमिटीले तोकेका अन्य कार्यहरू गर्ने ।

सचिवको अधिकार र कर्तव्यः
१) महासचिवको काममा आवश्यक सहयोग गर्ने ।
२) महासचिवले प्रत्यायोजन गरेका कार्यहरू गर्ने ।
३) केन्द्रीय कमिटी, पोलिटब्युरो, स्थायी कमिटी र केन्द्रीय सचिवालयले तोकेका अन्य कार्यहरू गर्ने ।