१६ चैत्र २०८०, शुक्रबार
Follow Us

एमालेले भन्याे- सर्वदलीय बैठकबारे हामीलाई कुनै जानकारी प्राप्त छैन

नेपालब्रिटेन संवाददाता
८ माघ २०७८, शनिबार ०५:११

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सर्वदलीय बैठकबारे कुनै जानकारी प्राप्त नभएकाे बताएकाे छ । स्थानीय तहकाे निर्वाचनबारे छलफल गर्न प्रधानमन्त्री शेरबहादुर देउवाले शनिबार बिहानका लागि सर्वदलीय बैठक बाेलाएका थिए । प्रधानमन्त्री देउवाकाे सचिवालयले एमालेसहित संसदमा प्रतिनिधित्व गर्ने दललाई बैठकमा बाेलाएकाे बताएकाे थियाे ।

तर, एमाले केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालद्वारा जारी सूचनामा ‘प्रधानमन्त्री शेरबहादुर देउवाले आज बोलाएको भनिएको सर्वदलीय बैठकका बारेमा हाम्रो पार्टी नेकपा (एमाले) लाई कुनै जानकारी प्राप्त नभएको स्पष्ट पार्दछौं’ उल्लेख छ । याे सूचना एमालेकाे आधिकारिक फेसबुक पेजमा राखिएकाे छ ।

एमालेले स्थानीय तहको निर्वाचन आगामी जेठ महिनाभन्दा पर धकेल्ने कुनै पनि कार्यमा एमालेको किमार्थ सहमति नहुने धारणा स्पष्ट नै रहेकाे बताएकाे छ । प्रधानमन्त्री देउवाले सरकारी निवास बालुवाटारमा बिहान साढे ९ बजेका लागि सर्वदलीय बैठक बोलाएका हुन् ।