८ बैशाख २०८१, शनिबार
Follow Us

५० हजार युरो सरकारी अनुदानमा नियाल्पले सुरु गर्यो “नमस्ते पोर्चुगल”

नेपालब्रिटेन डट कम्
९ माघ २०७८, आईतवार १६:०१

राजकुमार थापा, पोर्चुगल। प्रवासी भूमिमा रहेर पनि आफ्नै प्रयास र मेहनतले इमानदारीतापूर्वक लगातार काम र प्रयत्न गरे निश्चय नै सफलता मिल्छ र समुदाय र सम्बन्धित देशको सरकारी निकायको समेत विश्वास आर्जन गर्न सकिन्छ भन्ने एउटा उदाहरण बनेको छन् युरोपेली मुलुक पोर्चुगलमा आप्रवासीहरुको हितका लागि झण्डै ३ बर्ष अघि स्थापित संस्था “नियाल्प पोर्चुगल” र यसका संचालक कमल भट्टराई ।

पोर्चुगलमा झन्डै ३० देखि ४० हजार नेपालीहरु रहेको अनुमान गरिन्छ, एनआरएनए लगायत ५ दर्जनभन्दा बढी सामाजिक, जातीय, क्षेत्रीय, जिल्लागत र वैचारिक संघ-संस्थाहरु स्थापित छन् । यसमध्ये सिमित संस्थाहरु सक्रिय र क्रियाशील छन् भने धेरै जसो चैं त्यति सक्रिय छैनन् । उनीहरुको सम्बन्धित देशको स्थानीय निकाय वा समुदायसंग सम्बन्ध, सम्पर्क र पहुँच पनि छैन । तर यही भिडभाडको बीचमा आफ्नो छुट्टै पहिचान स्थापित गर्न सफल भएको संस्था हो “नियाल्प पोर्चुगल”। पोर्चुगल सरकारले राजपत्रमा नै सूचना प्रकाशित गरेर सरकारको माइग्रेसन काउन्सिलबाट यो संस्थालाई मान्यता दिएको छ ।

मुख्यत: आप्रवासीहरूको हितका लागि खोलिएको नियाल्प पोर्चुगलले अहिले पोर्चुगलको सरकारी निकाय, लिस्बन महानगर र स्थानीय सरकारको विश्वास पनि जित्दै गएको छ । यसैको परिणामस्वरूप सरकारी अनुदानबाट अहिले उसले ५० हजार युरो सहयोग प्राप्त गर्दै ‘नमस्ते पोर्चुगल’ नामको कार्यक्रम संचालन गरिरहेको छ । संस्थाका निर्देशक कमल भट्टराई भन्छन् ” मैले धेरै पटक कोशिस गरे, हाम्रो उदेश्य र कामको सविस्तार चर्चा र ब्याख्या गरे, अहिले हाम्रो उदेश्यमा सहमत भएर, हाम्रो प्रपोजललाई मन पराएर हामीलाई “नमस्ते पोर्चुगल” परियोजना संचालन गर्न एक बर्षका लागि ५० हजार युरोको सरकारी अनुदान स्वीकृत भएको छ । २५ हजार त हामीले प्राप्त गरि नै सक्यौं ।”

युरोपियन युनियनको १० मिलियन युरोको सहयोग कार्यक्रममा आफ्ना सदस्य राष्ट्रहरुलाई दिएको सहयोग अन्तर्गत पोर्चुगल सरकारबाट स्वास्थ्य कार्यक्रममार्फत आफ्नो संस्थाले रकम प्राप्त गरेको भट्टराईले युरोपनेपाली खबरलाई बताए ।

‘झण्डै ७७५ भन्दा बढी संघ संस्थाहरूले यो कार्यक्रमको लागि आवेदन दिएका मध्ये २४६ संस्थाहरुमात्रै छनोटमा परेको थिए त्यसमध्ये एक थियो नियाल्प पोर्चुगल पनि । कार्यक्रम अवधि एक बर्षको रहेको निर्देशक भट्टराईले जानकारी दिए । परियोजना २०२१ को अक्टोबरबाट सुरु भैसकेको छ ।

नमस्ते पोर्चुगल गर्भवती क्लब :

नमस्ते पोर्चुगल परियोजना अन्तर्गत ‘गर्भवती क्लब’ नाम दिएर पोर्चुगलमा रहेका नेपाल, भारत, बंगलादेश, पाकिस्तान लगायत दक्षिणी एसियाली देशका गर्भवती महिलाहरूलाई निशुल्क स्वास्थ्य सेवाको कार्यक्रम डिसेम्बर दोस्रो सातादेखि सुरु भइसकेको निर्देशक भट्टराईले जानकारी दिए ।

‘स्थानीय स्वास्थ्य संस्थाहरूको प्राविधिक सहयोगमा गर्भवती महिलाले पूर्ण रुपमा नि:शुल्क सेवा लिन पाउने गरी गर्भवती अवस्थामा हुने विभिन्न जोखिमहरू, स्वास्थ्यसँग सम्बन्धित कुराहरूमा नेपाली स्वास्थकर्मी र नर्सहरूबाट तालीम दिने व्यवस्थाका लागि छुट्टै अफिस समेत खोलेका छौं’ निर्देशक भट्टराईले युरोपनेपाली खबरलाई भने।

उक्त कार्यक्रममा पोर्चुगलमा गर्भवती महिला अधिकार, पूर्वगर्भावस्था परामर्श, सुत्केरी तयारी कोर्स, पोर्चुगिस स्वास्थ्य संस्थाबीच भाषिक र सांस्कृतिक अन्तरघुलन जस्ता विषयमा जानकारी दिनेछ । यसैगरी महिलाहरुलाई गर्भवती हुनु अगावैदेखि गर्भावस्था, सुत्केरी र सुत्केरी भएपछि अपनाउनुपर्ने साबधानीका बारेमा प्रशिक्षण दिनुका साथै दक्षिण एसियाली क्षेत्रका गर्भवती महिलाहरु र गर्भवती हुन चाहने महिलाहरूलाई उनीहरूको गर्भावस्था, सुत्केरी र सुत्केरीपछिको अवधिभर सहयोग गर्ने उद्देश्य राखी कार्यक्रम शुरु भएको निर्देशक भट्टराईले बताए ।

भाषागत समस्याले आप्रवासी गर्भवती महिलाहरूको स्वास्थ्य निकायसम्म पहुँच पुग्न नसकेको उनको भनाइ रहेको छ। ‘त्यसैले पनि स्थानीय स्वास्थ्य संस्थासँगको साझेदारीमा ‘गर्भवती क्लव’ कार्यक्रम सुरु गरेका हौं । यसबाट थुप्रै गर्भवती नेपाली महिलाहरू पनि लाभान्वित हुने विश्वास लिएका छौँ । “कार्यक्रममा नेपाली बाहेक बंगाली, भारतीय, श्रीङ्कन, पाकिस्तानी महिलाहरू सहभागी रहेको” भट्टराईले जानकारी दिए ।

दक्षिण एसियायी मूलमा सन् २०२० मा पोर्चुगलमा सबैभन्दा धेरै बच्चा जन्माउनेमा नेपाली महिला :

पोर्चुगलमा बच्चा जन्माउने नेपाली महिलाको संख्यामा ह्वात्तै बृद्धि भएको छ । सन् २०२० मा मात्रै नेपाली महिलाहरुले ५०२ जना बच्चालाई जन्म दिएका थिए । २०२१ को तथ्यांक भने आउन बाँकी छ ।

यहाँका अस्पताल र सरकारी निकायको तथ्यांक अनुसार पोर्चुगलमा २००१ देखि नै नेपाली महिलाहरुले बच्चा जन्माएको देखिन्छ । २००१ मा एक जना बच्चाको जन्म भएको थियो । नेपालीहरुको संख्या बढ्दै जाँदा २०१० मा २० जना बच्चाको जन्म भएको छ । जुन २००१ को तुलनामा बीस गुना बढी हो । २०१० देखि २०१५ सम्म भने यो संख्या न्यून थियो ।

तर २०१६ मा आइपुग्दा भने नेपाली र नेपाली मूलका महिलाहरुले पोर्चुगलमा २०० र २०१८ मा ४०० भन्दा बढी बच्चालाई जन्म दिएका छन् । यस्तै २०२० मा नेपाली महिलाबाट पोर्चुगलका विभिन्न अस्पतालमा ५०२ जना बच्चा जन्मिए । यो तथ्यांक पोर्चुगलमा रहेका दक्षिण एसियाली मुलुककै सर्वाधिक हो ।

पोर्चुगलमा नेपालीहरुको संख्यामा बृद्धि भएसँगै बच्चा जन्माउने महिलाहरुको संख्यामा पनि बृद्धि हुन थालेको छ । नियाल्पका निर्देशक भट्टराई भन्छन्, “नेपालीको संख्या बृद्धि भएसँगै बच्चा जन्माउने महिलाको संख्यामा उच्च मात्रामा बृद्धि भएको छ, त्यसैले पनि हामीलाई यो क्षेत्रमा काम गर्न उत्प्रेरणा मिलेको हो, महिला दिदीबहिनीहरुका लागि यो हाम्रो सेवा पनि हो ।”

पोर्चुगलमा स्वास्थ्य संस्थाबाट सेवा लिनेमा नेपाली दोस्रो नम्बरमा पर्छन् भने पहिलोमा ब्राजिलियनहरु रहेका छन् । पछिल्ला बर्षहरुमा पोर्चुगलमा बसोबास गर्ने अधिकांश नेपालीले स्वास्थ्य संस्थाबाट सजिलै सेवा पाएका छन् । उनीहरुले आफुलाई परेको स्वास्थ्य समस्याबारे सम्बन्धित संस्थामा गएर परामर्श लिने, नियमित चेकजाँच र औषधउपचार प्राप्त गर्ने गर्दछन् ।

नियाल्पको सिलाइबुनाइ तालिमदेखि इमिग्रेसन परामर्शसम्म :

‘नमस्ते पोर्चुगल’ परियोजना अन्तर्गत नै तीन महिने सिलाइबुनाइ तालिम पनि केही हप्ता पछि नै सुरु हुन लागेको निर्देशक भट्टराईले बताएका छन् ।

पोर्चुगलमा रहेका धेरै इमिग्रेन्स एसोसियसनहरू मध्ये सरकारबाट मान्यता प्राप्त भएको एउटा संस्था नियाल्प पोर्चुगल पनि हो । यो एउटा इन्टर कल्चरल एसोसिएसन पनि हो । यस संस्थाले पोर्चुगलमा रहेका आप्रवासीहरूलाई स्कुल, हस्पिटल, स्थानीय नगरपालिकाहरुमा भाषा ट्रान्स्लेसन, कानूनी, सामाजिक शैक्षिक र स्वास्थ्यसम्बन्धी परामर्श सहयोग दिने काम गर्दै आएको छ । ‘यहाँको सरकारी निकायमा नेपाली र हिन्दी भाषामा सरकारी डकुमेन्टहरू ट्रासलेसन देखि प्रहरी कार्यालय र अदालतसम्म भाषा अनुवादको काम पनि गर्छौं, त्यो बाहेक पोर्चुगिज भाषाको स्कुल पनि संचालन गर्दै आएका छौं।’ निर्देशक भट्टराईले भने ।

गोरखाको पालुङटार नगरपालिका-३ घर भएका कमल भट्टराई श्रीमती, एक छोरा र एक छोरीका साथ विगत ८ बर्ष देखि पोर्चुगल बस्दै आएका छन् । उनकी श्रीमती सुनिता भट्टराई पनि नेपालबाट लाइसेन्स प्राप्त नर्स हुन् । श्रीमती र छोराछोरीले समेत भट्टराईको काममा महत्त्वपूर्ण सहयोग पुर्याउने गरेका छन् ।