१६ चैत्र २०८०, शुक्रबार
Follow Us

राष्ट्रिय सभा निर्वाचन भोलि, कहाँ कहाँ मतदानस्थल ?

नेपालब्रिटेन संवाददाता
११ माघ २०७८, मंगलवार ०६:२२

काठमाडौं । राष्ट्रिय सभा सदस्यको रिक्त १९ स्थानका लागि भोलि हुने मतदानको तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ । आयोगले मतदानका लागि सात प्रदेशका आठवटा मतदानस्थल र १४ वटा मतदान केन्द्र तोकेको छ । भोलि बिहान ९ देखि अपराह्न ३ बजेसम्म मतदान हुँदैछ । प्रदेशमा कायम रहेका मतदाता सङ्ख्याको १० प्रतिशत बढी मतपत्र पठाइएको आयोगले जनाएको छ ।

निर्वाचनमा स्थानीय तहमा १४ सय ९३ र प्रदेश सभामा ५३२ जना गरी दुई हजार २५ मतदाता रहेका छन् । निर्वाचनमा ५३२ प्रदेश सभा सदस्य र एक हजार ४९३ स्थानीय तहका प्रमुख र उपप्रमुखले मतदान गर्नेछन् । प्रदेश १ को विराटनगर, मधेस प्रदेशको जनकपुरधाम, बागमतीको हेटौँडा, गण्डकीको पोखरा, लुम्बिनीको दाङ, सुदूरपश्चिमको धनगढी, कर्णालीको सुर्खेतमा मतदान स्थल तोकिएको छ ।

निर्वाचनमा हरियो र रातो रंगको मतपत्र प्रयोग हुनेछ । रातो रंगको मतपत्र स्थानीय तहका प्रमुख र उपप्रमुखले प्रयोग गर्नेछन् भने हरियो रंगको मतपत्र प्रदेश सभा सदस्यले प्रयोग गर्ने छन् । स्थानीय तहका प्रमुखको मतभार १८ र प्रदेश सभा सदस्यको मतभार ४८ निर्धारण गरिएको छ । निर्वाचनमा नौ दलका ४३ जना उम्मेदवार छन् ।

प्रदेश १ मा तीन, मधेस प्रदेशमा दुई, बागमतीमा दुई, गण्डकीमा तीन, लुम्बिनीमा तीन, कर्णालीमा तीन र सुदूरपश्चिम प्रदेशमा तीन पदका लागि निर्वाचन हुनेछ ।