१५ चैत्र २०८०, बिहीबार
Follow Us

आयोजक क्यामरुन र बुर्किना फासो सेमिफाइनलमा

नेपालब्रिटेन संवाददाता
१६ माघ २०७८, आईतवार ०४:३४

आयोजक क्यामरुन र बुर्किना फासो अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा प्रवेश गरेका छन् । शनिबार राति भएको खेलमा गाम्बियालाई २–० ले हराउँदै क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको हो । क्यामरुनको जितमा दुवै गोल कार्ल टोको इकाम्बीले गरेका थिए ।

खेलको ५० औं मिनेटमा कार्लले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए । त्यसपछि ५७ औं मिनेटमा कार्लले व्यक्तिगत दोस्रो गोल गर्दै क्यामरुनलाई २–० को जित दिलाए । अब सेमिफाइनलमा क्यामरुनले इजिप्ट र मोरोक्कोबीचको विजेतासँग २ फेब्रुअरीमा खेल्नेछ ।

यस्तै, अर्को क्वाटरफाइनलमा बुर्किना फासोले ट्युनिसियालाई १–० ले हराउँदै सेमिफाइनलमा प्रवेश गरेको छ । बुर्किना फासोका लागि डंगो आउटाराले निर्णायक गोल गरे । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको तेस्रो मिनेटमा उनले गोल गरेका थिए ।

उनी ८३ औं मिनेटमा रातो कार्ड खाँदै मैदानबाट बाहिरिए पछि बुर्किना फासो १० खेलाडीमा समेटिएको थियो । अब बुर्किना फासोले सेमिफाइनलमा सेनेगल र इक्वेटोरियल गिनियाबीचको विजेतासँग ३ फेब्रुअरीमा खेल्नेछ । आज राति अन्तिम दुई क्वाटरफाइनलमा प्रतिस्पर्धा हुँदैछ । इजिप्ट र मोरोक्कोले राति ८:४५ मा प्रतिस्पर्धा गर्दा सेनेगल र इक्वेटोरियल गिनियाले राति १२:४५ बजे खेल्नेछ ।