१६ चैत्र २०८०, शुक्रबार
Follow Us

अमेरिकामा ६० हजार नेपालीले नागरिकता लिए

नेपालब्रिटेन डट कम्
१८ माघ २०७८, मंगलवार १९:१६

अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ५ बर्षको अवधिमा नै झण्डै दोब्बर भएको छ । सुरुदेखि सन् २०१५ सम्मको तथ्यांक हेर्दा २५ हजार ३ सय ९९ जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका थिए भने त्यो यताको ५ बर्षमा २७ हजार ८० जना नेपालीहरुले अमेरिकी नागरिकता लिएका छन् ।

सन् २०१५ भन्दा अगाडिका ३० बर्षमा अमेरिकाको नागरिकता लिने नेपालीहरुको संख्याभन्दा २०१५ पछिका ५ बर्षमा अमेरिकाको नागरिकता लिने नेपालीहरुको संख्या धेरै रहेको छ । सन् २०२१ को तथ्यांक समेत समावेश गर्ने हो भने अमेरिकाको नागरिकता लिने नेपालीहरुको संख्या ६० हजार पुगिसकेको छ । जसमा अमेरिकामा नै जन्मेकाहरुको तथ्यांक समावेश छैन ।

२०१६ सम्मको तथ्यांक हेर्ने हो भने पनि अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या झण्डै ३० हजार रहेको थियो । त्यसपछिका ५ बर्षमा यो संख्या झण्डै ६० हजार पुगेको छ ।

कोरोना महामारीका बाबजुत आर्थिक बर्ष सन् २०२० मा ४ हजार ८ सय ६ जना नेपालीहरुले अमेरिकन नागरिकता प्राप्त गरेका थिए ।

आर्थिक बर्ष सन् २०१९ मा अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ७ हजार ४ सय ९ रहेको थियो । जसमा ३ हजार ५ सय ७७ जना महिला र ३ हजार ८ सय ३२ जना पुरुष रहेका थिए । उनीहरुमध्ये ८१० जना न्युयोर्क निवासी, १२०४ जना टेक्सास निवासी र ६०१ जना क्यालिफोर्निया निवासी रहेका थिए ।

सन् २०१८ मा अमेरिकाभर ५३५२ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । त्यतीबेला सबैभन्दा धेरै न्युयोर्क निवासी ७१८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए भने दोश्रोमा टेक्सास निवासी ५७० र तेश्रोमा क्यालिफोर्निया निवासी ५३४ जना रहेका थिए ।

त्यस्तै सन् २०१७ मा भने अमेरिकी नागरिकता लिने नेपालीहरुको संख्या ४५ सय ९ रहेको थियो । त्यतीबेला न्युयोर्क निवासी ५६० र क्यालिफोर्निया निवासी ५२० जना रहेका थिए । सन् २०१६ मा ५ हजार ४ जना नेपालीहरुले अमेरिकाको नागरिकता लिए । जसमध्ये न्युयोर्क निवासी ६२९ जना रहेका थिए भने उक्त बर्ष सबैभन्दा धेरै टेक्सास निवासी ६५५ जना नेपालीहरुले अमेरिकन नागरिकता लिए ।

अमेरिकी सरकारको आप्रवास तथ्यांक कार्यालयका अनुसार सन् १९९० सम्ममा अमेरिकी नागरिकता पाउन सफल नेपालीहरुको संख्या जम्मा २६१६ मात्र रहेको थियो । त्यतीबेला सन् १९९० कै वर्षमा जम्मा ३७ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए ।

त्यो भन्दा अगाडि सन् १९८९ मा ३५ जना नेपालीले अमेरिकन नागरिकता लिएका थिए । त्यसैगरी सन् १९८८ मा जम्मा ३१ जनाले र सन् १९८७ मा २२ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

सन् १९९१ मा अमेरिकन पाउने नेपालीको संख्या थोरै बढेर ५६ पुगेको थियो । सन् १९९२ मा ४४ जना नेपालीहरुले अमेरिकन नागरिकता पाए । सन् १९९३ मा ४६ जनाले , सन् १९९४ मा ७० जनाले, सन् १९९५ मा ६० जनाले , सन् १९९६ मा ११९ जनाले, सन् १९९७ मा ७८ जनाले र सन् १९९८ मा ८२ जना नेपालीले अमेरिकन नागरिकता पाए ।

सन् १९९९ मा १४३ जनाले, सन् २००१ मा २०५ जनाले, सन् २००२ मा २४७ जनाले,सन् २००३ मा ३१८ जनाले , सन् २००४ मा ४०८ जनाले अमेरिकन नागरिकता पाए । त्यस्तै सन् २००५ मा ४१७ जनाले, २००६ मा ५७५ जनाले, सन् २००७ मा ६३८ जनाले, सन् २००८ मा ९५३ जनाले, सन् २००९ मा १६३२ जनाले, सन् २०१० मा २१८५ जनाले र सन् २०११ मा २२३५ जनाले अमेरिकन नागरिकता लिएका थिए ।

त्यस्तै सन् २०१२ मा २४४८ जना नेपालीहरुले अमेरिकन नागरिकता लिएका थिए । सन् २०१३ मा अमेरिकन नागरिकता लिने नेपालीहरुको संख्या २७११ रहेको थियो । सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिए भने सन् २०१५ मा ४२२५ जना नेपालीले अमेरिकन नागरिकता लिए ।