१३ बैशाख २०८१, बिहीबार
Follow Us

‘एक्स्पो २०२० दुबई’ मा विभेद

नेपालब्रिटेन डट कम्
२० माघ २०७८, बिहीबार १५:२५

संयुक्त अरब एमिरेट्स् यूएईको दुबईमा हाल सञ्चालनमा रहेको विश्वव्यापी व्यापारिक महोत्सव ‘एक्स्पो २०२० दुबई’ मा कार्यरत नेपाली लगायत अन्य देशका आप्रबासी श्रमिकहरुलाई विभेदसहित बाध्यकारी श्रममा संलग्न गराइएको पाइएको छ । श्रम अधिकार र मानव अधिकारको विषयमा अन्तर्राष्ट्रिय र स्थानीय रुपमा कार्यरत संस्था इक्वीडेमले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा एक्स्पोमा कार्यरत नेपालीसहित अन्य ११ देशका श्रमिकमाथि विभेद र ज्यादती भएको खुलाइएको हो ।

विश्वव्यापी रुपमा सार्वजनिक गरिएको सो अध्ययन प्रतिवेदनले त्यहाँ कार्यरत ८३ प्रतिशत श्रमिकसँग गैरकानुनी भर्ना शुल्क लिइएको, पारिश्रमिक एवं सुविधा नदिइएको उल्लेख गरेको छ । त्यस्तै प्रतिवेदनले ३७ प्रतिशत भन्दा बढी श्रमिकले ३ तीन वा सो भन्दा बढी र अन्य २० प्रतिशतले पाँच वा सो भन्दा बढी बाध्यकारी श्रमका अवस्थाहरु भोग्नु परेको पनि उल्लेख गरेको छ ।

अध्ययनबाट अधिकांश श्रमिकको पासपोर्ट नियन्त्रणमा लिइएको, राष्ट्रियता तथा जातीयताका आधारमा विभेद गर्ने गरिएको र धम्की दिने गरेको पाइएको छ । अन्तर्राष्ट्रिय श्रम मापदण्ड र स्वयं एक्स्पोको श्रम मापदण्ड विपरितका यस्ता गतिविधिले त्यहाँ कार्यरत आप्रवासीमाथि व्यापक ज्यादती भएको पाइएको इक्वीडेमका दक्षिण एसिया निर्देशक रामेश्वर नेपालले बताउनुभयो ।
इक्वीडेमका अनुसन्धाताहरुले पछिल्लो ६ महिनामा एक्स्पोमा कार्यरत श्रमिकहरुसँग गरेको प्रत्यक्ष गोप्य अन्तर्वार्ताहरुका आधारमा सो प्रतिवेदन तयार पारेको जनाइएको छ । अन्तर्वार्ता गरिएकामध्ये ७७ प्रतिशत नेपालसहित भारत,पाकिस्तान बंगलादेश लगायतका एसियाली तथा केन्यासहित अफ्रिकी मूलका श्रमिकहरु थिए । इक्वीडेमका प्रमुख कार्यकारी अधिकृत मुस्तफा कादरीले विश्वका धनीमध्येको एक संयुक्त अरव इमिरेट्समा कार्यरत खासगरी न्यून पारीश्रमिक पाइने काममा श्रमिक उपर भैरहेको बाध्यकारी श्रमजन्य अभ्यासबाट श्रमिकहरुलाई संरक्षण गर्नमा एक्स्पो प्रशासन, युएई सरकार र एक्स्पोमा सहभागी देशहरु विफल भएका बताउनुभएको छ ।

एक्स्पो २०२० दुबई मध्यपूर्वमा भएको पहिलो एउटा त्यस्तो विश्वव्यापी महोत्सव हो, जसमा अक्टोवर २०२१ देखि यसवर्षको मार्चसम्मको छ महिनाको अवधिमा २ करोड ५० लाख जनाले भ्रमण गर्ने अनुमान गरिएको छ । । एक्स्पोमा संयुक्त राज्य अमेरिका, चीन, जापान, संयुक्त अधिराज्य र भारत लगायतका १९२ देश तथा विश्वका प्रमुख प्रमुख ठूला व्यवसायका स्टलहरु रहेका छन् ।