६ बैशाख २०८१, बिहीबार
Follow Us

बेलायती महारानीले गरिन आफ्नो उत्तराधिकारीको घोषणा

नेपालब्रिटेन डट कम्
२३ माघ २०७८, आईतवार १८:२६

लण्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयले आफ्नो उत्तराधिकारीको बारेमा ठूलो घोषणा गरेकी छिन् । शनिबार आफ्नो शासनको ७० औं वार्षिकोत्सव मनाउने क्रममा जारी गरेको एक घोषणामा महारानीले इङल्याण्डको अर्को महाराजाको रुपमा आफ्ना छोरा युवराज चार्ल्सको नाम घोषणा गरिन् । यस क्रममा उनले आफ्नो छोरा राजा बनेपछि उनकी पत्नी क्यामिलालाई क्विन कन्सर्ट अर्थात महारानीको उपाधि दिने घोषणा गरिन् ।

एलिजाबेथले भनिन् ‘आगामी समयमा क्यामिलालाई क्विन कन्सर्टको रुपमा चिनियोस् । मलाई आशा छ क्यामिला आफ्नो वफादार सेवा जारी राख्नेछिन् ।’ चार्ल्स र क्यामिलाले सन् २००५ मा बिहे गरेका थिए । महारानी एलिजाबेथको यो घोषणाले क्यामिलालाई राजपरिवारको सदस्यको रुपमा अपनाउन मन्जुरी दिन्छ । हुन त बेलायतको इतिहासमा महाराजकी पत्नी स्वयं नै महारानी हुन्छिन् । तर, यो घोषणा यसकारण महत्वपूर्ण छ किनकि राजकुमार चार्ल्सले पहिले नै आफू बेलायतको महाराज बन्दा क्यामिला क्विन कन्सर्ट नभइ प्रिन्सेस कन्सर्ट रहने घोषणा गरेका थिए ।

चार्ल्सले क्यामिला क्विन कन्सर्ट नभइ प्रिन्सेस कन्सर्ट किन रहन्छिन् भन्ने स्पष्ट पारेका थिएनन् । तर, चार्ल्सपछि उनका उत्तराधिकारी प्रिन्स विलियम र उनका भाइ प्रिन्स ह्यारी क्यामिलाका सन्तान नभएकोले उनले यस्तो घोषणा गरेको हुन सक्ने अनुमान गरिएको थियो । राजकुमार विलियम र ह्यारी चार्ल्सकी पूर्वपत्नी राजकुमारी डायनाका सन्तान हुन् । डायनाको दुर्घटनामा निधन भइसकेको छ ।

वार्षिकोत्सव समारोहको आयोजना इङल्याण्डको पूर्वमा रहेको रोयल स्यान्ड्रिघम हाउसमा गरिएको थियो । ९५ वर्षकी महारानी एलिजाबेथ बेलायतमा ७० वर्षसम्म शासन गर्ने एकमात्र शासक बनेकी छिन् । उनी गएको अक्टोबर महिनापछि अहिले पहिलो पटक सार्वजनिक रुपमा देखिएकी हुन् । महारानीको यो घोषणापछि उनले छिटै सिंहासन छोड्न सक्ने अनुमानमा पनि विराम लागेको छ ।

महारानी एलिजाबेथले ६ फेब्रुअरी १९५२ मा बेलायतको सिंहासन सम्हालेकी थिइन् । आज यसको ७० वर्ष पूरा भएको छ । उनले ७० वर्षपछि पनि आफ्ना पिता किंग जर्ज छैटौंको मृत्युको सम्झना आउने बताइन् । यही दिन किंग जर्जको अचानक निधन भएको थियो । त्यतिबेला एलिजाबेथ २५ वर्षकी थिइन् ।