१४ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएनए अष्ट्रेलिया प्रतिनिधि विवाद: उच्चस्तरीय समितिमा उजुरी

नेपालब्रिटेन डट कम्
२७ माघ २०७८, बिहीबार १४:४५

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशन प्रतिनिधि विवाद एवं सो सम्बन्धमा देखा परेका असन्तुष्टी सम्बोधन गर्न गठित उच्चस्तरीय समितिका संयोजक शेष घलेले एनआरएनए अष्ट्रेलियाको विवाद ढाकछोप गर्न खोजे पछि समस्या समाधान अन्योलपूर्ण बनेको छ ।
योसँगै अष्ट्रेलियाको महाधिवेशन प्रतिनिधि छनोट थप विवादित बनेको हो ।

गत जुलाईमा ६४ एनसीसीहरुको निर्वाचन सम्पन्न भए पछि महाधिवेशन प्रतिनिधि छनोट गरिएको थियो । सो क्रममा अष्ट्रेलिया, अमेरिका, यूकेको प्रतिनिधि छनोटमा केही पक्षले असन्तुष्टी व्यक्त गरेका थिए ।

सोही असन्तुष्टी सम्बोधनका लागि संघको ८१ औँ आइसीसी बैठकको निर्णय अनुरुप शेष घलेको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरिएको थियो ।
तर, घलेले सो समितिमा अष्ट्रेलिया महाधिवेशन प्रतिनिधि छनोटमा कुनै विवाद नरहेको दावी गरेका हुन् ।
घलेले समितिको छलफलबाटै अष्ट्रेलिया विवादको एजेण्डा नै हटाइदिएका छन् ।

यसैबीच घलेको सो कदमविरुद्ध गैरआवासीय नेपाली संघ अष्ट्रेलियाका निवर्तमान महासचिव डा. ज्ञानेन्द्र रेग्मीले आपत्ती जनाएका छन् ।

रेग्मीले उच्चस्तरीय समितिलाई एक पत्र लेख्दै प्रतिनिधि चयनमा वर्तमान कार्यसमितिले पदीय अधिकारको दुरुपयोग गरि धाँधली गरेको दावी गर्दै ६५ प्रतिशत महाधिवेशन प्रतिनिधि विधान अनुरुप सच्याउन माग गरेका छन् ।

उनले संघको विधि र विधान मिचेर पन्जिकृत सदस्यहरु माझमा निर्वाचन नगरी पठाएको २५ प्रतिशत प्रतिनिधि खारेजीको माग गरेका छन् ।

रेग्मीले निवर्तमान अध्यक्ष केशव कँडेलले आफ्नै कार्यसमितिका सदस्यहरुलाई प्रतिनिधि सूचीमा नराखेको समेत आरोप लगाएका छन् ।

रेग्मीद्वारा उच्चस्तरीय समितिमा प्रेषितपत्रमा मापदण्ड विपरित १३ जना पूर्वएनसीसी सदस्यहरुलाई महाधिवेशन प्रतिनिधि बनाइएको सम्बन्धी उजुरी यसअघिनै आईसीसी अध्यक्ष कुमार पन्त समक्ष पेश गरिसके पनि कुनै सुनुवाई नभएको बताएका छन् ।