१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लासमाथि राजनीति: मृतकका परिवारले पैसा नपाए पछि एनआरएनए अमेरिकाका अध्यक्ष सुवेदी विवादमा (भिडियो)

नेपालब्रिटेन डट कम्
८ फाल्गुन २०७८, आईतवार ०४:४९

न्यूयोर्ग । अमेरिकास्थित गैरआवासीय नेपालीहरुको सदस्यता शुल्क बापत उठाएको डेढ करोड भन्दा बढी रुपैयाँ केन्द्रमा नबुझाएर विवादमा तानिएका एनआरएनए अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी अर्को आर्थिक घोटालामा परेका छन् ।

मृतकको परिवारको सहयोगार्थ उठाएको पैसा समयमा सम्बन्धीत परिवारलाई हस्तान्तरण नगर्दा गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाका अध्यक्ष बुद्धि सुवेदी विवादमा तानिएका छन् ।
गत जुलाईको अन्तिम साता अचानक निधन भएका विपिन लम्सालको अन्त्यष्ठीको लागि गो फण्डबाट संकलित १८ हजार डलर भन्दा बढी रकम मृतकका परिवारले ५ महिना सम्म नपाए पछि सुवेदी माथि अपचलनको आरोप लागेको हो ।

एनआरएनए अमेरिकाको लागि भवन खरिद गर्न शनिवार न्यूयोर्क आइपुगेका सुवेदीको सम्मान आयोजित एक कार्यक्रममा मृतकका आफन्तहरुले चर्को आक्रोश पोखेका छन् ।
एनआरएनए न्युयोर्क च्याप्टरको सकृयतामा संकलित सो रकम अध्यक्ष सुवेदीले संघको खातामा सारेका थिए । कार्यक्रममा सहभागी मृतकका आफन्तहरुले अहिले सम्म संकलित रकम किन नदिएको भन्दै अध्यक्ष सुवेदीमाथि प्रश्न गरेका थिए तर सुवेदीले मृतकको श्रीमतिलाई ४ हजार डलर दिएको बताए । सुवेदीले बाँकी रकम किन नेपाल पुगेन् भन्दै प्रतिप्रश्न गरे पछि मृतकका आफन्त थप आक्रोशित भएका थिए ।


परिवारको अनुरोध अनुसार विपिनको शव यथासम्भव छिटो नेपाल पठाउन अध्यक्ष बुद्धि सागर सुवेदीले अमेरिका स्थित नेपाली एम्बेसी, मेरिल्यान्ड राज्यका हाउस अफ डेलिगेट्स ह्यारी भण्डारी, महासचिव अन्जन कुमार चौलागाई, निवर्तमान उपाध्यक्ष वी आर लामा र न्यु योर्क च्याप्टरसँग समन्वय गर्दै सहयोग जुटाउने कामलाई तीव्रता दिएका थिए ।

नेपाल पठाउन लाग्ने खर्च व्यवस्थापनका लागि एनआरएनए न्यु योर्क च्याप्टरले गोफण्ड मार्फत सहयोगका लागि अपिल गरेका थिए । एनआरएनए न्यु योर्क च्याप्टर अध्यक्ष आङछिरिङ शेर्पाले दाताहरूबाट १८ हजार ३ सय ६८ डलर सङ्कलन भइसकेको बताएका थिए ।

नेपालमा पर्वत घर भएका स्वर्गीय विपिन ५ वर्षअघि अमेरिका पुगेका थिए ।

अमेरिकाको न्युयोर्क स्थित ग्र्याण्ड एभिन्युमा बस्दै आउनु भएका २८ वर्षीय नेपाली युवा विपिन लम्सालको गत जुलाई २७ तारिख मङ्गलवार अचानक मृत्यु भएको हो । घरमा नै रहेको समयमा अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि नजिकैको एलमस्ट अस्पतालमा पुर्‍याइएको थियो ।

केही समयमा नै अस्पतालले विपिन लम्साललाई मृत घोषणा गर्‍यो ।