१३ बैशाख २०८१, बिहीबार
Follow Us

सदस्यता शुल्क नबुझाउने पाँच देशलाई कारवाही गर्ने एनआरएनएको चेतावनी

नेपालब्रिटेन डट कम्
१० फाल्गुन २०७८, मंगलवार १९:१७

लण्डन । गैर आवासीय नेपाली संघ (एनआरएनए) केन्द्रलाई बुझाउने भन्दै सदस्यहरुबाट लिएको सदस्यता दस्तुर केन्द्रमा नबुझाउने पाँच राष्ट्रिय समन्वय परिषदमाथि केन्द्रिय समितिले कारवाहीको चेतावनी दिएको छ ।

सदस्यहरुको शुल्क लिएर केन्द्रमा नपठाउने राष्ट्रिय समन्वय परिषदहरुमा अष्ट्रेलिया, युके, अमेरिका, जापान र क्यानडा छन् ।

अध्यक्ष कुमार पन्तले सोमवार एक पत्र जारी गर्दै केन्द्रमा बुझाउने भन्दै लिएको सदस्यता दस्तुर नबुझाएमा आगामी मार्च २२ र २३ मा हुने निर्वाचनमा भाग लिन नपाइने निर्वाचन समितिले समेत स्पष्ट पारेको छ ।

पत्र अनुसार युकेका ११ हजार तिन सय ६३ जनाले बुझाउनुपर्ने ५६ हजार आठ सय १५ अमेरिकी डलर बुझाएका छैनन् ।

विधानको दफा ९।४ अनुसार राष्ट्रिय समन्वय परिषदले केन्द्रिय समितिमा सदस्यता शुल्क बुझाउनुपर्ने प्रावधान छ । र निर्वाचन समितिले निर्वाचनको मिति २२ मार्च अघिनै उक्त शुल्क बुझाउन सूचना जारि गरिसकेको छ ।

पत्रमा मार्च ३ तारिखभित्र सदस्यता शुल्क संघको सचिवालयमा पठाउन अनुरोध गरेका छन् । यदि तोकिएको मितिमा नबुझाएमा सदस्यहरुले निर्वाचनमा भाग लिन नपाउने र त्यसको जिम्मेवार राष्ट्रिय समन्वय परिषदनै हुने पत्रमा उल्लेख गरिएको छ ।

संघको विधानको दफा १७.७ अनुसार राष्ट्रिय समन्वय परिषदले संघको उद्देश्य अनुरुप अगाडि बढ्न अस्वीकार गरेमा, अन्तर्राष्ट्रिय समन्वय परिषदको निर्देशन पालना नगरेमा, वा विधानको अनुसूची ८ मा दिइएको न्युन्तम मापदण्ड अनुसूची ८ (छ) मा सदस्यता शुल्क बुझाउनुनुपर्ने भन्ने प्रावधानको पालना नगर्ने राष्ट्रिय समन्वय परिषदहरुलाई केन्द्रले विघटन गर्ने वा मान्यता फिर्ता लिनसक्ने अधिकार छ ।