४ बैशाख २०८१, मंगलवार
Follow Us

बेलायतद्वारा रुसमाथि प्रतिबन्धको घोषणा

नेपालब्रिटेन डट कम्
११ फाल्गुन २०७८, बुधबार ०४:५६

लन्डन । रुसले पूर्वी युक्रेनमा आफ्नो फौज परिचालन गरेपछि बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले रुसका पाँचवटा बैंक र तीनजना अर्बपतिमाथि प्रतिबन्ध लगाइएको घोषणा गरेका छन् ।

जोन्सनले रुसको पछिल्लो कदमले युक्रेनमाथि ‘आक्रमणको नवीकरण’ भएको देखिएको प्रतिक्रिया दिएका छन् । सन् २०१४ मा रुसले युक्रेनको क्रिमियामाथि कब्जा गरेको थियो ।

प्रधानमन्त्री जोन्सनले विधायकहरूलाई भनेका छन्, “अब हामी दिर्घकालीन समस्याका लागि सुदृढ हुनुपर्दछ । यदि परिस्थिति अझै चर्किएर गएको खण्डमा प्रतिबन्धलाई विस्तार गरिने छ । तीनजना रुसी अर्बपति नागरिकको बेलायतमा रहेको सम्पत्ति रोक्का गरिने छ भने उनीहरूलाई बेलायत भ्रमणमा रोक लगाइने छ ।”

रुसी राष्ट्रपति भ्लादिमिर पुटिने दोनेत्स्क र लुहान्स्कलाई स्वतन्त्र राज्यको मान्यता दिएपछि त्यहाँ रुसी फौजलाई प्रवेश गर्न आदेश दिएका थिए । सो फौजले शान्ति सेनाको भूमिका निभाउने पुटिनको भनाइलाई अमेरिकासहित पश्चिमा देशरूले व्यापक आलोचना गरेका छन् । जोन्सनले पुटिनको यस आदेशले पूर्ण चरणको युद्धको पृष्ठभुमि तयार पारेको आरोप लगाएका छन् ।

बेलायतले प्रतिबन्ध लगाएका बैंकमा रोस्सिया, आईएस बैंक, जनरल बैंक, प्रोम्सभ्याज बैंक तथा ब्ल्याक सी बैंक रहेका छन् । यसैगरी प्रतिबन्ध लगाइएका व्यक्तिमा गेन्नाडी तिमचेन्को, बोरिस रोटेनवर्ग र इगोेर रोटेनवर्ग रहेका छन् ।

जोन्सनले जर्मनीले रुसतर्फको नोर्ड स्ट्रिम २ ग्यास पाइपलाइनको ग्यारेन्टी रोक्ने निर्णयको स्वागत गरेका छन् ।

युरोपेली संघ (ईयू) ले रुसी संसद् सदस्य र रुसी सेनालाई आर्थिक सहयोग गर्ने बैंकहरूमाथि लक्षितसहित अन्य थुप्रै प्रतिबन्धको प्रस्ताव सार्वजनिक गरेको छ ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले पनि युक्रेनका छुट्टिएका क्षेत्रहरूमा अमेरिकीहरूको नयाँ लगानी, व्यापार र अन्य आर्थिक कारोबारमा प्रतिबन्ध लगाउने सम्बन्धी कार्यकारिणी आदेशपत्रमा हस्ताक्षर गरेका छन् ।