१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसले एनआरएनलाई अधिकार सम्पन्न बनाउन चाहान्छ

नेपालब्रिटेन डट कम्
२५ माघ २०७३, मंगलवार १२:२३

आरजु देउवा ।

गोर्खाहरुका बारेमा मैले बुबाकै घरमा हुँदादेखि सुन्दै आएकी हुँ। मेरो आफ्नै घर र मामाघर पनि गोर्खा सैनिकको कुनै न कुनै सम्बन्ध रहँदै आएको छ। तपाइँहरुले माग गर्दै अाएको अधिकारको कुराहरु मलाई नजिकबाट थाहा छ। अहिले पनि समस्याहरु छन् भन्ने मैले थाहा पाएकी छु। यसलाई कसरी समाधान गर्ने भन्ने दिशामा म पनि पहल गर्छु।

नेपालमा नेपाली कांग्रेसको सभापति, पूर्व प्रधानमन्त्री भनेर भेट्न आउँछन्। तर कोही कोही फरक मुद्दाहरुमा अन्तर्राष्ट्रिय प्रतिनिधिमण्डल मलाई पनि भेट गर्न आउँछन्। भिषाको विषयलाई लिएर मैले बोलेपछि वेलायती राजदूतले मलाई एसएमएस नै लेख्नुभयो। मैले उहाँलाई अनुरोध गर्दै भने, ‘तपाइँहरु हाम्रो नेपालीलाई युद्धका लागि लाने तर अहिले भिषा दिन कञ्जुसाइँ गर्ने ?’

तपाइँहरु यहाँ एनआरएन भएर बस्नु भएको छ। तपाइँहरुको परिवार कति पटक ओहोर–दोहोर गर्नुपर्छ होला। मलाई यस्तो लाग्यो स्वर्ग जान पनि यति गाह्रो हुँदैन होला। अमेरिकाको भिषा सजिलो छ, एकै पटक पाँच वर्षको लागि दिन्छ। ६ महिनाको भिषाको लागि मैले २४ हजार भारतीय रुपैयाँ तिर्नुपर्‍यो। नेपालीक लागि यो निकै महँगो हो। त्यसमा पनि काठमाडौंमै भिषा उपलब्ध हुँदैन, दिल्ली जानुपर्ने अवस्था छ। यो पटक म यहाँका केही सांसदहरुलाई भेटेर यो कुरा उठाउनेछु।

गैरआवासीय नेपालीले नागरिकता प्राप्तिको कुरा उठाउनु भएको छ। हो म त्यसको मस्यौदा समितिमै थिएँ। गैरआवासीय नागरिकतामा पनि धेरै विभेद भएको छ। नेपाली कांग्रेसले गर्दा यो अधिकार तपाइँहरुले पाउनु भएको हो। जुन पार्टीले तपाइँको मुद्दा बोकेको छ त्यसलाई भन्नुपर्‍यो। त्यसलाई भोट हाल्नुपर्‍यो। कांग्रेसले गैरआवासीय नेपालीलाई अधिकारसम्पन्न पार्न ठूलो योगदान गरेको छ। यतिसम्म चाहिँ संविधानमा राखौं न भन्दा ‘विदेशमा बस्ने अनि नागरिकता चाहिने?’ भन्ने जवाफ मैले पाएँ।

सबै पार्टीका नेताहरुलाई गाली गर्ने चलन हाम्रोमा छ तर नेपालका पुरुषहरुलाई धन्यवाद भन्नैपर्छ। उनीहरुको भिजनले यो सम्भव भएको हो।
नेपाली कांग्रेसको ६० वर्षभन्दा लामो इतिहास छ। प्रजातान्त्रिक राजनीतिमा आजको भोलि केही पनि हुन सक्दैन। मेरो श्रीमान्‌ले पनि महाधिवेशन हारेकै हो। गिरिजाप्रसादसँग हारेकै हो, सुशील कोइरालासँग पनि हारेकै हो।

नेपाली राजनीतिको प्रवृत्ति पनि रमाइलै छ। म केन्द्रीय सदस्य यहाँ (लन्डन) आएँ एउटा भेला गरायो। एउटा पद बाँड्यो। कसैलाई संयोजक बनाइदियो कसैलाई अर्को पद दियो। तपाइँहरु पनि संयोजक भएकोमा दंग, नेता पनि सपिङ गराएकोमा मक्ख। कांग्रेसले ६० वटा बनाएर जान्छ, माओवादीले १०० वटा बनाएर जान्छ। हामी त्यसमा नलागौं। राजनीतिलाई आफ्नो प्रक्रियाबाट आउन दिऊ।

नेपाली कांग्रेसले राजनीति सुरु गर्दा कोही एक्टिभिस्ट थिएन, मिडिया थिएन। हो, मेरै बाजे जुद्धसम्शेरद्वारा नेपालमा राजनीतिक सहीदहरु बनाइए। हुन त म रणा परिवारको मान्छे परेँ। तर त्यो बेलाका शहीदहरुलाई मान्नुपर्छ। हाम्रो परिवारमा पछिसम्म पनि उहाँहरुप्रति ठूलो सम्मान थियो। त्यस्ता मान्छेहरुको जमातले खोलेको पार्टी भनेर कांग्रेसप्रति ठूलो सम्मान थियो।

म एकदम ठूलो राजनीतिक योद्धाको रुपमा पार्टी राजनीतिमा आएको होइन। मानवअधिकारकर्मी, गाउँ र कुनाकाप्चामा काम गरेको पृष्ठभूमिमा काम गरेको पृष्ठभूमिले मलाई राजनीतितर्फ डोर्‍याएको हो। राजनीतिकर्मीले पदमा पुगेर काम गर्नैपर्छ। संविधान निर्माण प्रक्रियामा मैले जति काम गर्ने अवसर पाएँ। एनजिओबाट मैले एक सय वर्ष काम गरेको भए पनि त्यो गर्न पाउँदैनथेँ। राजनीतिमा ठूलो धैर्य हुनुपर्छ। नेपालका नेताहरु भएनन् भनेको धेरै सुन्छु। अब हामी कहाँको नेता खोज्न जाने? नेपालको संविधान यति समावेशी र महिलामैत्री छ भनेर अन्तर्राष्ट्रि मञ्चहरुमा बोल्दा विश्वका नेताहरु छक्क पर्छन्। सबै पार्टीका नेताहरुलाई गाली गर्ने चलन हाम्रोमा छ तर नेपालका पुरुषहरुलाई धन्यवाद भन्नैपर्छ। उनीहरुको भिजनले यो सम्भव भएको हो।

गैर आवासीय नेपालीले नागरिकता पाउने भनेर संविधानमा उल्लेख भएको छ। त्यसलाई प्रदान गर्ने प्रक्रियाहरु के कस्तो हुनुपर्छ भनेर तपाइँहरुले हामीलाई सुझाव दिनुहोस्। तपाइँहरु अन्य देशको व्यवस्था कस्तो छ हेर्नुहोस्, नेपालका कानुन व्यवसायीसँग छलफल गर्नुहोस्। त्यसपछि गैरआवासीय नेपालीले प्राप्त गर्ने नागरिकता प्राप्तिको कानुनको मस्यौदा बनाउन हामीलाई पनि सजिलो हुन्छ।

(नेपाली कांग्रेस नेतृ आरजु देउवा राणाले गैर आवासीय नेपाली संघ, युकेले सोमबार आयोजना गरेको कार्यक्रममा दिएको मन्तव्यको सम्पादित अंश।)