१६ चैत्र २०८०, शुक्रबार
Follow Us

रोहितको शतक बाबजुद नेपाल पीएनजीसँग ६ रनले पराजित

नेपालब्रिटेन संवाददाता
११ चैत्र २०७८, शुक्रबार १३:१२

काठमाडौं । युवा ब्याटर रोहित कुमार पौडेलको शतक प्रेरित नेपाल घरेलु मैदानमा पपुवा न्युगिनी (पीएनजी) विरुद्धको पहिलो खेलमा ६ रनले पराजित भएको छ । २९३ रनको विजयी लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर मात्र २८६ रन बनाउन सक्यो । रोहितले १२६ रनको कीर्तिमानी शतकीय इनिङमा खेले पनि नेपाल जितबाट टाढा रह्यो ।

रोहितको यो अन्तर्राष्ट्रिय क्रिकेटमा पहिलो शतक हो । यस्तै रोहित एकदिवसीयमा सर्वाधिक रन बनाउने पहिलो नेपाली खेलाडी बने । उनले १०७ बलमा ७ चौका र ४ छक्का प्रहार गर्दै नेपाललाई बलियो स्थितिमा पुर्‍याएका थिए ।

नेपालका आरिफ शेखले ३४, कुशल भुर्तेलले ३२, सोमपाल कामी र कमल सिंह ऐरीले समान १८ रन बनाउँदा भिम शार्कीले १७ रन बनाए । पीएनजीका नोरमान भानुअले ३ विकेट लिए । यस्तै चार्ल्स अमिनी, असद भालाले समान २/२ विकेट लिए ।

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पीएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २९२ रन बनायो । पीएनजीका चार्ल्स अमिनीले सर्वाधिक ७७ रनको इनिङ खेले । यस्तै कप्तान असद भालाले ६० रनको योगदान गरे । ओपनर टोनी उराले ३८ रन बनाउँदा रिले हेकुरेले ३१, नोरमान भानुअले ४७ रन बनाए ।

नेपालका कमल ऐरी, सोमपल कामी, दिपेन्द्र सिंह ऐरीले समान २ विकेट लिए । कप्तान सन्दीप लामिछाने र आरिफ शेखले समान १ विकेट हात पारे । अब, नेपालले पीएनजीविरुद्ध भोलि शनिबार नै दोस्रो खेल खेल्नेछ ।