७ बैशाख २०८१, शुक्रबार
Follow Us

नेपालमाथि पिएनजीको क्लिन स्वीप

नेपालब्रिटेन संवाददाता
१२ चैत्र २०७८, शनिबार ११:५४

काठमाडौँ । पपुवा न्युगिनी (पिएनजी)विरुद्ध दोस्रो तथा अन्तिम एकदिवसीय खेलमा पनि नेपाल पराजित भएको छ । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा शनिबार भएको खेलमा नेपाल ३ विकेटले स्तब्ध बनेको हो ।

नेपालले जितका लागि प्रस्तुत गरेको २७९ रनको चुनौतीपूर्ण लक्ष्य पिएनजीले ४८ ओभर ४ बलमा ७ विकेट गुमाउँदै पुरा गरेको हो । खेलको सुरुवातमा नेपालको बलिङ उत्कृष्ट रहेपनि त्यसपछि भने बलिङ र फिल्डिङ दुवै फितलो हुँदा पिएनजीका खेलाडीले मौका उठाए । पिएनजीका लागि लेगा सियकाले सर्वाधिक अर्धशतकिय पारी खेले । उनले बलमा १०२ बलको सामना गर्दै १२ चौका र १ छक्काको मदतमा ९० रन बताए । शतकका लागि भने चुके । त्यस्तै, सेसे बाउले ३८ तथा चार्ल्स अमिनिले ३६ रन जोडे ।

साथै रिले हेकुरे ४८ रनमा अविजित रहे । बलिङतर्फ नेपालका सोमपाल कामीले ३ विकेट लिए । त्यस्तै,पवन सर्वाफले २ तथा आरिफ शेख र कप्तान सन्दीप लामिछानेले समान १ विकेट हात पारे । योसँगै सन्दीप एकदिवसीय अन्तर्राष्ट्रियमा ५० विकेट लिने पहिलो नेपाली बलर बनेका छन् । साथै २२ खेलमै उक्त किर्तीमानी हात पारेका उनी ओडिआईमा सर्वाधिक छिटो ५० विकेट पूरा गर्ने विश्वकै दोस्रो बलरसमेत बनेका छन् ।

त्यसअघि टस जितेर ब्याटिङको निर्णय लिएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २७८ रन बनाएको थियो ।

नेपालका लागि युवा ब्याटर दीपेन्द्रसिंह ऐरीले शतक प्रहार गरेका छन् । उनको यो आफ्नो अन्तर्राष्ट्रिय करिअरको पहिलो शतक हो । १४० बलको सामना गरेका उनले ७ चौकासहित १०५ रन जोडे । दीपेन्द्र एक दिवसीयमा शतक बनाउने तेस्रो नेपाली खेलाडीसमेत बनेका छन् । यसअघि रोहित कुमार पौडेल र पूर्वकप्तान पारस खड्काले मात्र नेपालबाट एकदिवसीय अन्तर्राष्ट्रियमा शतक बनाएका थिए ।

त्यस्तै, ओपनर देव खनालले अर्धशतकिय पारी खेले। उनी ८६ बलमा ४ चौका र ३ छक्कासहित ७२ रनमा आउट भए । उनको यो पहिलो अन्तर्राष्ट्रिय अर्धशतक हो । साथै दीपेन्द्र र देवको साझेदारीले नयाँ किर्तीमानी कायम गरेको छ । उनीहरुले १२९ रनको साझेदारी गरेका थिए । जुन ओडिआईमा नेपालबाट बनेको कुनैपनि विकेटका लागि उच्च साझेदारी हो ।

रोहित कुमार पौडेलले ३५ रनमा आउट हुँदा भीम सार्कीले २६ रन बनाए । कप्तान सन्दीप लामिछानेले २४ रन मा अविजित रहे । खराव सुरुवात गरेको नेपालले २ ओभरमा २ विकेट गुमाएको थियो । ओपनर कुशल भुर्तेल गोल्डेन रोयल आउट हुँदा अनिलकुमार शाह एक रनमा क्याच आउट भएका थिए ।

बलिङतर्फ पपुवा न्युगिनीका लागि तीव्र गतिका एलि नाओले ३ तथा नर्मन भानुआले २ विकेट लिए ।

योसँगै घरेलु टोली नेपालमाथिकाे शृंखलामा पिएनजीले क्लिन स्वीप गरेको छ । यसअघि शुक्रबार सम्पन्न पहिलो एकदिवसीय खेलमा नेपाल पिएनजीविरुद्ध ६ रनले पराजित भएको थियो । पिएनजीले प्रस्तुत गरेको २९३ रनको लक्ष्य पछ्याएको नेपाल निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २८६ रनमै समेटिएको थियो ।