१४ बैशाख २०८१, शुक्रबार
Follow Us

टोटनहम चौथो स्थानमा उक्लियो

नेपालब्रिटेन संवाददाता
२१ चैत्र २०७८, सोमबार ०३:५०

लन्डन । न्युक्यासल युनाइटेडमाथि ५-१ को प्रभावशाली जितसहित आइतबार राति टोटनहम इङ्लिस प्रिमियर लिगको चौथौ स्थानमा उक्लिएको छ । ३९औं मिनेटमा फाबियाना साचारको फ्रिकिक गोलमा न्युक्यासलले अग्रता लिएको थियो । त्यसको चार मिनेटपछि नै टोटनहम खेलमा फर्कियो । सनको क्रसमा बेन डेभिसले गोल गरेका थिए ।

४८औं मिनेटमा म्याट डोहेर्टेको गोलमा टोटनहमले अग्रता लियो । त्यसको ६ मिनेटपछि सनले गरेको गोलमा टोटहमले ३-१ को अग्रता लियो । ६३औं मिनेटमा इमर्सन रोयल बललाई जाली चुमाएपछि टोटनहम फराकिलो जिततर्फ अघि बढेको थियो । खेल सकिन सात मिनेट बाँकी रहँदा स्टेभिन बर्जविनले टोटनहमका लागि पाँचौ गोल गरे ।

प्रिमियर लिगअन्तर्गत आइतबार भएको अर्को खेलमा वेस्ट हम युनाइटेडले एभर्टनमाथि २-१ को जित निकालेको थियो । ३० खेलबाट ५४ अंक बटुलेको टोटनहम चौथो स्थानमा उक्लिएको हो । पाँचौ स्थानको आर्सनलको पनि ५४ अंक छ । यद्यपि आर्सनलले टोटनहमभन्दा दुई खेल कम खेलेको छ ।

इन्टर मिलानसँग युभेन्ट्स पराजित
हाकान कालहानोग्लुको निर्णायक गोलमा इन्टर मिलानले इटालीयन सिरी ए मा युभेन्ट्सलाई १-० अन्तरले पराजित गरेको छ । आइतबार राति टुरिनमा भएको खेलमा पहिलो हाफको इन्जुरी समयमा हाकानले पेनाल्टीमा गोल गरे ।

बाकी समय दुबै टोलीबाट गोलका प्रयास भएपनी सदुपयोग हुन सकेन । जितपछि इन्टर ३० खेलबाट ६३ अंक बनाउदै तेस्रो स्थानमा छ । ३१ खेलबाट ५९ अंक बनाएको युभेन्ट्स चौथो स्थानमा छ । लिगको शीर्ष स्थानमा भने एसी मिलानलाई पछि पार्दै नापोली रहेको छ ।

पीएसजीको फराकिलो जित
स्टार खेलाडीहरू केलियन एम्बाप्पे, नेयमार र लियोनल मेस्सीको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च लिग वानमा लोरिएन्टबिरुद्द ५-१ अन्तरको सानदार जित निकालेको छ । फ्रान्सेली फरवार्ड केलियन एमबाप्पेले दुई गोलसँगै ह्याट्रिक असिस्ट दिएपछि घरेलु मैदानमा आइतबार राति पीएसजीले सहज जित पायो ।

खेलमा नेयमार र एमबाप्पेले दुई तथा मेस्सीले एक गोल गरे । लोरिएन्टका तेरेम मोफीले एक गोल फर्काए । १२औँ मिनेटमा नेयमारको गोलबाट पीएसजीले अग्रता बनायो । २८औं मिनेटमा एमबाप्पेले अग्रता दोब्बर पारे ।

५६औं मिनेटमा तेरेम मोफीले गोल गर्दै खेललाई २-१ को स्थितिमा ल्याए । ६७औं मिनेटमा एम्बाप्पेले ब्यक्तिगत दोस्रो गोल गरे । ७३औं मिनेटमा मेस्सीले एम्बाप्पेको पासमा ४-१ को अग्रता बनाए । ९०औं मिनेटमा एमबाप्पेको ह्याट्रिक असिस्टमा नेयमारले व्यक्तिगत दोस्रो तथा टोलीका लागि पाँचौ गोल गरे ।

जितसँगै शीर्षस्थानमा रहेको पिएसजीको ३० खेलबाट ६८ अंक जोड्दै १२ अंकको स्पष्ट अग्रता लिएको छ । दोस्रो स्थानको मार्सेको ५६ अंक छ । पराजित लोरिएन्ट २८ अंक जोडेर १६औँ स्थानमा छ ।

बार्सिलोना दोस्रो स्थानमा उक्लियो
युवा खेलाडी पेड्रीको निर्णायक गोलमा सेभियालाई १-० अन्तरले पराजित गर्दै बार्सिलोना स्पेनिस ला लिगा फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । आइतबार राति घरेलु मैदान नोउ क्याम्पमा १९ वर्षीय पेड्रीको गोलसंगै क्याटलान क्लब बार्सिलोनाले दोस्रो स्थानको सेभिया र एट्लेटिको मड्रिडलाई पछि पार्‍याे ।

पेड्रीले खेलको ७२ औं मिनेटमा औसमाने डेम्बेलेको पास सदुपयोग गरे । जितसँगै २९ खेलबात ५७ अंक जोड्दै बार्सिलोना दोस्रो स्थानमा उक्लिएको छ । सेभिया समान अंक भए पनि चौथो स्थानमा छ ।