१३ बैशाख २०८१, बिहीबार
Follow Us

राजेश राणालाई सिईओ नियुक्ति गर्ने घले समूहको तयारी

नेपालब्रिटेन डट कम्
२ बैशाख २०७९, शुक्रबार ११:४४

लण्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) का कार्यकारी निर्देशक (सिईओ) राजेश राणाले अवकाश लिए लगत्तै पूर्वअध्यक्ष शेष घले समूहले नियुक्तिको तयारी गरेको छ ।

राणाले कर्मचारी नियमावलीअनुसार ५८ वर्षको हद नाघेपछि बैशाख १ देखि अनिवार्य अवकाश लिएका हुन्।

सो समूहका सचिव धर्मराज खतिवडाका अनुसार राणालाई नयां नियुक्ति। गर्ने विषयमा आन्तरिक छलफल तिब्र पारिएको छ । ‘सिईओ छिट्टो नियुक्ति गरौं र अघि बढौं भन्ने दवाव छ अनुभवि सिईओ भेटेको वेला किन नियुक्ति गर्ने भन्ने विषयमा छलफल जारी छ’ खतिवडाले जनाए ।

उहाँले ‘यसअघि देखिनै हामीलाई सहयोग गर्दै आउनु भएको हो आगामी दिनमा मिलेर काम गर्न सक्ने क्षमता उहाँमा छ हामी स्वागत गर्न तयार छौं’ खतिवडाले बताए ।

‘मेरो चैत्र ३० गतेसम्मका लागि मात्र सम्झौता थियो। ५८ वर्ष पूरा भएपछि उमेर नियमअनुसार अवकाश लिनुपर्ने हुन्छ। १ गतेदेखि लागु हुनेगरी अवकास लिएको हुँ’, राणाले बताए ।

राणा पूर्व अध्यक्ष शेष घलेनिकट मानिन्छन्। राणा घलेका विश्वासिला पात्र हुन्। अदालतको आदेशसँगै काममा फर्किएपछि घलेले राणाको ह्वात्तै तलबसुविधा समेत वृद्धि गरेका थिए।

पछिल्लो समय संघमा निर्वाचनको विवाद चलिरहँदा राणाले भित्रिरुपमा घले समूहलाई नै सहयोग गरिरहेको एनआरएनएमा चर्चा छ।
राणाले अवकास लिएपछि संघको सचिवलायमा बिहीवारदेखि प्रमुख कार्यकारी निर्देशकको पद रिक्त भएको छ।

प्रमुख कार्यकारी निर्देशक नियुक्ति गर्दा एनआरएनएको कर्मचारी नियामावली र नेपालको श्रम ऐन अनुसार खुल्ला प्रतिस्पर्धाबाट गरिनुपर्ने प्रावधान छ।

संघमा अहिले तीन जना अध्यक्ष छन्। खुल्ला प्रतिस्पर्धा भनिए पनि अध्यक्षहरू आफू निकटको सिईओ नियुक्ति गर्न चाहान्छन्। आफूलाई काम गर्न सजिलो हुने भएका कारण अध्यक्ष मध्येका एक कुल आचार्यले राणालाई निरन्तरण दिन चाहेको चर्चा एनआरएनएभित्र छ ।