७ बैशाख २०८१, शुक्रबार
Follow Us

आगामी महाअधिवेशनमा नेतृत्व चुन्न निर्वाचन हुन्छ : कुल आचार्य, अध्यक्ष एनआरएनए

नेपालब्रिटेन डट कम्
४ बैशाख २०७९, आईतवार २०:१४

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष कुल आचार्यले सन् २०२३ मा हुने ११ औं महाधिवेशनमा नयां नेतृत्वको लागि निर्वाचन हुने बताएका छन् ।

आचार्यले आइतवार अन्तराष्ट्रिय पर्वत समाजको भेलालाई वार्षिलोनामा सम्बोधन गर्दै गत निर्वाचनमा विधान लगायतका विषयमा अन्योल हुँदा निर्वाचन हुन नसकेको तर्क गर्दै आगामी नेतृत्व चयन निर्वाचनबाट हुने बताए ।

उनले संघका पूर्वअध्यक्षहरुलाई समस्याको समाधान गर्न जिम्मा दिए पनि समस्याको समाधान हुनुको सट्टा अझ विवाद थपिएको बताए ।

उनले १० औं महाधिवेशनको प्रतिनिधि विवाद मिलाउन गठित उच्चस्तरिय समितिमा एक मत हुन नसक्नु दुर्भाग्यपूर्ण भएको बताए । उनले भने ‘उच्चस्तरिय समितिमा समस्याको समाधान होइन् झन समस्या थपियो ।’

उनले सो समिति अग्रजको सम्मान र समस्या समाधान गर्न गठन गरिएको तर्क गरे ।

उनले संघको बृहत आमसहमतिमा पूर्वअध्यक्ष शेष घलेलाई समेत साथमा लिएर हिड्ने प्रयास गरिएको बताए ।

उनले नेपालका सबै दलहरुले सहयोग गर्ने प्रतिबद्धता गरेको दावी गर्दै विदेशमा रहेका नेपालीहरुलाई गैरआवासीय नेपाली संघको अभियानमा सहयोग गर्नको लागि आग्रह गरे ।

तीनवटा अध्यक्षको भागबण्डा स्वीकार गरे पछि विश्वव्यापी रुपमा आलोचित आचार्यले विगतको घाउ नकोट्टाउन समेत आग्रह गरे ।

उनले सबै संघसंस्थाहरुसंग सहकार्य गरेर एनआरएनएलाई साझा संस्थाको रुपमा स्थापित गर्नु पर्ने बताएका छन् ।