१६ चैत्र २०८०, शुक्रबार
Follow Us

१४ फ्रेबुअरी : एउटा यस्तो प्रेमकथा…

नेपालब्रिटेन डट कम्
१ फाल्गुन २०७३, आईतवार १३:१७

काठमाडौं । एउटा सत्य प्रेम, त्यो सफल हुन्छ ने भन्न सकिन्न । साँचो माया गर्नेहरुबीच एउटा भनाइ नै छ, ‘पाउनुमात्र नभएर गुमाउनु पनि प्रेम हो ।’ तर, जुन प्रेम सत्य अर्थात् अन्तरहृदयमै छ त्यो गुमाएर पनि सम्झनाको खिल बनिरहछ । १४ फ्रेबुअरी अर्थात् ‘भ्यालेनटाइन–डे’ प्रेमिल जोडीको मनको संघारमै आइसकेको अवस्थामा क्याफे, बार र कफिशपहरुमा प्रेम प्रशंग चल्नु पनि स्वभाविकै हो । तर, यसैबेला एउटा यस्तो प्रेमकथा सार्वजनिक भएको छ, जसले साँचो प्रेम गर्नेहरुलाई मात्र नभई प्रेमको अर्थ बुझ्न चाहनेहरुका लागि पनि ‘भ्यालेनटाइन’ खुराक बन्न सक्छ ।
हो, १४ फ्रेबुअरी (जसलाई पछिल्लो समय संसारमा प्रणय दिवश पनि भनिन्छ) आउन २४ घण्टामात्र बाँकी हुँदा एउटा सत्य प्रेमको यर्थातता चित्रित चलचित्र ‘१४ फ्रेबुअरी’ डिजिटल मिडिया यु–ट्युबमार्फत एकसाथ संसारभरका लागि सार्वजनिक गरिएको छ ।
युवा गीतकार तथा मोडल दर्पण राई निर्देशित यस छोटो चलचित्रलाई आइतबार (आजै) रिलिज गरिएको हो । यो यस्तो चलचित्र हो, जसले आवाजविहिन प्रेममा भावनाहरु तरंगित गरेको छ । यस साइलेन्स फिल्ममा दर्पण राई र सम्झना राईले आफ्नो अभिनयमार्फत नै करिब १५ मिनेटमा सत्य प्रेममा के हुन्छ ? के हुन्न ? भन्ने स्पष्ट रुपमा दर्साएका छन् ।
दर्पण र सम्झनाको अभिनयलाई ध्वनीमार्फत अझ प्रष्टाउन खोजिएको छ । यो ‘भ्यालेनटाइन–डे’ लाई लक्षित गरिएकाले ‘१४ फ्रेबुअरी’मा प्रेमका सकरात्मक सन्देश दिने प्रयत्न गरिएको छ किनकि, संसारका प्रेम जोडीहरुको प्रेम सधैं सफल होस् भन्ने कामना ‘भ्यालनेटाइन–डे’ले गरेको हो । प्रेममा स्वतन्त्रताकै पक्षमा युवाबीच मनाउन थालिएको ‘भ्यालेनटाइन–डे’ अर्थात् प्रेम दिवशलाई थप चर्चामा ल्याउने यो चलचित्रको ध्येय हो ।
यस चलचित्रका तथा नायक दर्पण भन्छन्, ‘यो फिल्म भ्यालेनटाइन मनाउनेहरुका लागि मात्र नभएर प्रेम गर्ने सम्पूर्ण वर्गका लागि हो । तर, एउटा प्रेमकथा भएकाले भ्यालेनटाइन लक्षित गरेर सार्वजनिक गरिएको हो ।’ यो चलचित्र केही दिनअघि पोखरामा प्रिमियर गरिएको थियो, जहाँ दर्शकले अति रुचाएको र कतिपयको आँखा रसाएको दर्पणले बताए ।
एमएमएस इन्टरटेनमेन्टको प्रस्तुती रहेको ‘१४ फ्रेबुअरी’ का लागि म्युजिक गायक तथा संगीाकार विनय केटुले गरेका हुन् भने सम्पादन प्रेम शर्माले । ‘१४ फ्रेबुअरी’लाई एमएमएस इन्टरटेनमेन्टले नै आफ्नो यु–ट्युबमार्फत सार्वजनिक गरेको हो । चलचित्र हेरिसकेपछि कस्तो लाग्यो ? प्रतिक्रिया दिन दर्पणले आग्रह गरेका छन् । यस चलचित्रलाई डम्मर राईले खिचेका हुन् ।