१४ बैशाख २०८१, शुक्रबार
Follow Us

लण्डनस्थित नेपाली दूतावासमा एनजीओकर्मीको भेला सम्पन्न

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७९, शनिबार ०१:४६

लन्डन । बेलायत र नेपालका गैर सरकारी संस्थाहरुको सञ्जाल ब्रान्गो (बीआरएएनएनजीओ) ले नेपाली दूतावास लन्डनको सहकार्यमा एक कार्यक्रम गरेको छ ।

उक्त कार्यक्रम ‘नेपालको रुपान्तरणमा गैरसरकारी संस्थाको भूमिकाः कोभिड १९ प्रभाव र आगामी बाटो’ विषयमाथि केन्द्रित थियो ।

नेपालमा कार्यरत ब्रिटिश आइएनजीओ र एनजीओहरुको छाता संगठन ब्रान्गोले नेपालमा उनीहरूको परोपकारी कार्यको दक्षता र प्रभावकारिता बढाउन एनजीओहरू र विभिन्न एजेन्सीहरूबीच निष्पक्षताका साथ् अघि बढ्न सूचना आदानप्रदान र सहकार्यमा जोड दिएका छन् ।

सो अवसरमा बोल्दै बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नेपालका अभावग्रस्त मानिसहरुलाई परोपकारी सेवा प्रदान गरेकोमा ब्रान्गो (बीआरएएनएनजीओ), सम्पूर्ण गैर सरकारी संस्था, विकास साझेदारहरु र बेलायती जनतालाई धन्यवाद दिए ।

नेपालको विकासका लागि गैर सरकारी संस्थाहरु प्रमुख साझेदार रहेको आचार्यले उल्लेख गरे । नेपालमा द्रुत, समावेशी र दिगो विकासलाई प्रवर्धन गर्न वहुपक्षीय तथा समग्र दृष्टिकोणको आवश्यकता पनि राजदूत आचार्यले औंल्याए ।

उनले सामाजिक विकास र आयआर्जनका गतिविधिहरूबीचको सन्तुलनमा विशेष गरी महिला तथा पिछडिएका र सीमान्तकृत वर्गलाई लक्षित गरी आगामी दिनमा अघि बढ्नुपर्नेमा समेत जोड दिए ।

कार्यक्रममा नेपालमा कार्यरत विभिन्न गैरसरकारी संस्थाका वक्ता तथा विदेश, राष्ट्रमण्डल तथा विकास कार्यालयका प्रतिनिधिहरुले सम्बोधन गरेका थिए ।

गैरसरकारी संस्थाको प्रतिनिधित्व गर्दै किडाशाका प्रमुख कार्यकारी अधिकृत जेनिस मिलर, हडर्सफिल्ड विश्वविद्यालयका प्राध्यापक डा. पदम सिम्खडा, टिच फर नेपालकी स्वस्तिका श्रेष्ठ, चाइल्ड रेस्क्यू नेपालकी सुश्री जोअना बेगाले सम्बोधन गरेका थिए ।

मुख्यतया नेपालमा आफूले विभिन्न परिवेशमा काम गर्दाको अनुभव, एनजीओको काम कारवाहीमा कोभिड–१९ महामारीले देखिएका चुनौती र आगामी दिनमा गर्नुपर्ने कदमलगायतका विषयमा उनीहरुले धारणा राखेका थिए ।

उनीहरुले बालबालिका शिक्षा, स्वास्थ्य र गरिबी न्यूनीकरण र नेपालका पिछडिएका तथा कमजोर जनताको सामाजिक–आर्थिक उत्थानका क्षेत्रमा आफ्नो योगदानबारे छलफल गरेका थिए ।

वक्ताहरुले हालैका वर्षहरूमा ब्रिटिश ओभरसिज डेभलपमेन्ट असिस्टेन्स (ओडिए) को कमीबारे पनि चिन्ता व्यक्त गरेका थिए ।

काठमाडौंस्थित बेलायती दूतावासका विकास निर्देशक नाथानेल बेभान, बेलायती विदेश मन्त्रालयका भारत तथा हिन्द महासागर निर्देशनालयका डेपुटी हेड क्यामिला सुग्देनले नेपालमा बेलायतको विकास सहयोग उद्देश्यबारे प्रष्ट्याएका थिए ।

स्वास्थ्य र शिक्षा अन्तर्गतका दुईवटा सत्रमा गरिएको उक्त कार्यक्रम संचालन ब्रान्गो (बीआरएएनएनजीओ) का अध्यक्ष निक हिल्टनले गरेका थिए । हिल्टनले स्वास्थ्य क्षेत्र र ब्रान्गो कार्य समूहकी अध्यक्ष साराह म्याकनेसले शिक्षा सम्बन्धि सत्र ‘मोडरेट’ गरेकी थिइन् ।

समारोहमा बेलायती विदेश मन्त्रालय (एफसीडीओ) का अधिकारीहरु लगायत ब्रान्गो सदस्यहरुको उपस्थिति थियो ।