१४ बैशाख २०८१, शुक्रबार
Follow Us

कांग्रेसका शीर्ष नेताहरू बालुवाटारमा

नेपालब्रिटेन डट कम्
१० बैशाख २०७९, शनिबार १२:२४

काठमाडौँ । महानगरपालिकाका मेयर र उपमेयर पदका उम्मेदवार छान्न नेपाली कांग्रेसका शीर्ष नेताहरूको बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा जारी छ । कहाँ कसलाई उम्मेदवार बनाउने भन्ने छलफल टुंगिएको छैन । सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाले नेताहरूसँग अलग–अलग छलफल गरेका छन् । शीर्ष नेताहरूबीचमै उम्मेदवारीबारे समझदारी नभएपछि शनिबार बस्ने भनिएको केन्द्रीय कार्यसम्पादन समितिको बैठक समेत स्थगित भएको छ ।

‘बिहानदेखि हामी छलफलमा छौँ । तर, यहाँ खास बैठक अहिलेसम्म पनि बसेको छैन,’ बालुवाटार छलफलमा सहभागी एक नेताले भने, ‘अहिलेसम्म धेरै समय सभापतिज्यूले ‘साइड मिटिङ’ गरिरहनुभएको छ । साइड मिटिङमा भएका कुराबाहेक ठोस् सहमति केही पनि छैन ।’

ती नेताका अनुसार शनिबार अहिलेसम्म बालुवाटारमा सभापति देउवासहित शीर्ष नेताहरूको संयुक्त बैठक नै बसेको छैन । नेताहरूबीच अहिलेसम्म काठमाडौंको मेयरमा सिर्जना सिंह र भरतपुरको उपमेयरमा चित्रसेन अधिकारीलाई उम्मेदवार बनाउने सहमति बनेको छ । त्यसबाहेक ललितपुर र विराटनगरको मेयर तथा वीरगञ्ज र पोखराको उपमेयर पदको उम्मेदवार टुंगिएको छैन ।