१६ चैत्र २०८०, शुक्रबार
Follow Us

लण्डनको ट्राफल्गर स्क्वायरमा बुद्धजयन्ती मनाउनेको तयारी तिब्र

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७९, सोमबार १९:२५

लन्डन। आगामी मे २२ मा लन्डनको ट्राफल्गर स्क्वायरमा आयोजना हुने बुद्धजयन्ती कार्यक्रममा लन्डनका मेयर सादिक खानको सहभागिता हुने अपेक्षा गरिएको छ।

आयोजक बुद्ध फाउन्डेसनले कार्यक्रमबारे जानकारी दिन आइतबार लन्डनमा गरेको पत्रकार सम्मेलनमा मेयर खानको सहभागिता हुनेमा आशावादी रहेको जनाइयो।

‘लन्डनस्थित नेपाली दूतावासमार्फत् लन्डन मेयर सादिक खानलाई कार्यक्रमको औपचारिक निमन्त्रणा पठाइएको छ’, फाउन्डेसन अध्यक्ष दीपक श्रेष्ठले भने, ‘उहाँ सहभागी हुनेमा हामी निकै आशावादी छौं। मेयरअफिसबाट फाइनल कन्फर्मेसन पर्खिररहेका छौं।’

विगतका वर्षहरुमा फाउन्डेसनकै तर्फबाट पठाइने निमन्त्रणा यसपटक दूतावासमार्फत् पठाइएको कारण पनि मेयर खानको सहभागिता रहने सम्भावना उच्च रहेको आयोजकको बुझाइ छ।

दूतावासले बेलायतका सरकारी अधिकारीसंगै यहाँस्थित विभिन्न देशका डिप्लोम्याटहरुलाई पनि आमन्त्रण गरिएको जनाएको छ।

फाउन्डेसन अध्यक्ष श्रेष्ठले संसारभरका हजारौँ मानिस ओहोरदोहोर हुने लन्डनको केन्द्रमा गरिने कार्यक्रमबाट बुद्धको जन्मस्थल तथा उनको दर्शनको प्रचारप्रसार र नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने आशा व्यक्त गरे।हरेक नेपालीको स्वाभिमानसँग जोडिएको कार्यक्रम भएकाले यसलाई सफल पार्न बेलायतस्थित सम्पूर्ण नेपाली र संघसंस्थाहरुलाई एकजुट भएर लाग्न उनको आग्रह छ ।

पत्रकार सम्मेलनमा बुद्ध फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष एवम् बुद्धजयन्ती कार्यक्रम संयोजक सचिन श्रेष्ठले कार्यक्रमको स्वरूपबारे बताएका थिए। दिउँसो तीनदेखि छ बजेसम्मलाई निर्धारित कार्यक्रममा बुद्ध दर्शनसन्बन्धि मन्त्रोच्चारण, प्रवचन, मौलिक नेपाली संस्कृति झल्किने कार्यक्रम, शान्तिदीप प्रज्वलन, नेपालको पर्यटन प्रवर्द्धनात्मक सामग्री वितरण लगायतका कार्यक्रम राखिएका छन्। कार्यक्रमस्थललाई नेपालकै बौद्ध स्तुपाहरुकै झल्को दिने गरी ध्वजा, पटकाहरुसहित सजावट गरिने संयोजक श्रेष्ठले बताए।

कार्यक्रममा सहभागी हुन नेपालबाट लामा गुरु रिम्पोचे पनि आउने जनाइएको छ ।

पत्रकार सम्मेलनकी सञ्चालक फाउन्डेसनकी महासचिव लक्ष्मी राई ‘लारा’ ले यस वर्षको कार्यक्रममा नयाँ पुस्ताका तन्नेरी समेतलाई उत्साहित गरिएको भन्दै सहभागिता बढ्ने जानकारी दिइन्।

त्यसअवसरमा नेपाल पर्यटन बोर्डका मानार्थ दूत महन्त श्रेष्ठले बुद्धजयन्ती कार्यक्रमलाई सफल पार्न पर्यटन बोर्डका तर्फबाट पूर्ण सहयोग रहने प्रतिवद्धता गरे । रोयल बरो अफ ग्रीनवीच नेप्लिज सोसाइटीका अध्यक्ष एवम् काउन्सिलर उम्मेदवार जीत रानाभाटले कार्यक्रममा नेपालीहरुका साथै बेलायती समुदाय र विभिन्न क्षेत्रका स्थानीय जनप्रतिनिधिहरुलाई पनि सहभागी गराउन सके प्रभावकारी हुने सल्लाह दिए।

बुद्ध फाउन्डेसन यूकेले सन् २०१६ देखि वर्षेनी गर्दै आएको बुद्धजयन्ती कार्यक्रम कोभिडका कारण विगत दुई वर्ष रोकिएपछि यसपटक पाँचौं संस्करण हुन लागेको हो ।
फाउन्डेसनले कपिलवस्तु समाजसँग मिलेर शुरु गरेको कार्यक्रममा नेपाली दूतावास, नेपाल पर्यटन बोर्ड र एनआरएनए आइसीसीसहित बेलायतस्थित सम्पूर्ण नेपाली संघसंस्थाको पनि सहकार्य रहने गरेको छ।

सल्लाहकारलाई स्वागत

बुद्ध फाउन्डेसन यूकेले आइतबार नै आफ्ना नवमनोनित सल्लाहकारलाई स्वागत गरेको छ।
राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष डा महावीर पुनको प्रमुख आतिथ्यमा सल्लाहकार स्वागत एवम् परिचय कार्यक्रम सम्पन्न भएको हो।
फाउन्डेसनले हालै नियुक्त गरेका सल्लाहकारहरुलाई अध्यक्ष दीपक श्रेष्ठ र प्रमुख अतिथि डा पुनले प्रमाणपत्र वितरण गरेका थिए।
त्यसअवसरमा सल्लाहकारहरु सुवासिं गुरुङ, लामा धर्म गुरुङ, शान्ति थापा कुँवर, महन्त श्रेष्ठ, कुमार श्रेष्ठ, जीत रानाभाट, हरिश ज्ञवाली, ध्रुवराज अर्याल लगायतको प्रतक्ष्य उपस्थिति थियो भने शिवजी श्रेष्ठ, आरके त्रिपाठीसहितका केही सल्लाहकार भर्चुअल माध्यमबाट जोडिएका थिए।

अध्यक्ष श्रेष्ठले अध्यक्षता र महासचिव लक्ष्मी राई ‘लारा’ ले सञ्चालन गरेको कार्यक्रममा फाउन्डेसनका वरिष्ठ उपाध्यक्ष सचिन श्रेष्ठ, उपाध्यक्ष प्रसुना कंडेल, सचिव सुरेन रुपाखेती, सहकोषाध्यक्ष निरञ्जन खड्का, आइटी संयोजक सन्तोष मण्डल, सदस्यहरु अर्चना गुरुङ, अञ्जना थापा, राम थापा लगायतको पनि उपस्थिति थियो।

फाउन्डेसनले हालै विभिन्न क्षेत्र, समुदाय र पेशालाई समेट्दै विभिन्न एकतीस जनालाई संस्थाको सल्लाहकारमा मनोनित गरेको थियो। जसमा बुद्धिष्ट कम्युनिटी सेन्टर यूकेका संस्थापक अध्यक्ष काजी शेर्पा, तमुधिं यूकेका पूर्व अध्यक्ष सुवासिं गुरुङ, ब्रिटेन नेपाल चेम्बर अफ कमर्स अध्यक्ष डा कपिल रिजाल, नेपाल पर्यटन बोर्डका मानार्थ दूत महन्त श्रेष्ठ, समाजसेवी व्यवसायी रविजंग लामिछाने, एनआरएनए आइसीसी अध्यक्ष कुल आचार्य, ब्यारिष्टर देवेन्द्र श्रेष्ठ, उपमेयर लक्ष्य गुरुङ, मेयर विष्णुबहादुर गुरुङ, समाजसेवी शिवजी श्रेष्ठ, एनआरएनए यूके निवर्तमान अध्यक्ष पुनम गुरुङ, समाजसेवी शान्ति थापा कुँवर, समाजसेवी भोला खनाल (स्कटल्याण्ड), एनआरएनए यूके निवर्तमान महासचिव फडिन्द्र भट्टराई, काउन्सिलर जीव बेल्वासे, कपिलवस्तु समाज यूकेका वरिष्ठ उपाध्यक्ष हरिष ज्ञवाली छन्।

त्यस्तै, व्यवसायी राजन कंडेल, नेपाल पत्रकार महासंघ यूके अध्यक्ष ध्रुवराज अर्याल, डीबीसी यूके अध्यक्ष सुमलकुमार गुरुङ, पशुपतिनाथ मन्दिर यूके ट्रस्टी विनोद ज्ञवाली, लामा गुरु धर्म गुरुङ, काउन्सिलर नेम थापा, तमुधिं यूके अध्यक्ष हित काजी गुरुङ, पासा पुच यूके पूर्व अध्यक्ष कुमार श्रेष्ठ, मगर संघ यूके अध्यक्ष सीता पुन, लुम्बिनी फाउन्डेसनका प्रमुख संरक्षक निरज श्रेष्ठ, लुम्बिनी विकास कोषका सद्भावनादूत गायक धिरज राई, आरजीएनएस अध्यक्ष जीत रानाभाट, सुमना शाक्य, एनआरएनए यूके पूर्व महासचिव आरके त्रिपाठी र नेपाल पर्यटन बोर्डका पूर्व दूत पशुपति भण्डारी पनि सल्लाहकार मनोनित भएका छन्।