१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनएमा तत्काल ‘फ्रेस इलेक्सन’ को माग

नेपालब्रिटेन डट कम्
१२ बैशाख २०७९, सोमबार २२:१५

लण्डन । गैरआवासीय नेपाली संघभित्रको विवाद विस्तारै राष्ट्रिय समितिमा जान थाले पछि वर्तमान अध्यक्षको क्षमतमा प्रश्न उठाउदै नयां निर्वाचनमा जानु पर्ने तर्फ बहस सुरु भएको छ ।

गैरआवासीय नेपाली संघका उपमहासचिव विनय अधिकारीले तीनवटा अध्यक्ष हुदाँ पनि संस्थाभित्र एकता कायम हुन नसकेको भन्दै नयां निर्वाचनमा जान माग गरेका हुन् ।

अधिकारीले सोमवार संघका अध्यक्षत्रयलाई एक पत्र लेख्दै ‘एक महिनामा संस्थाको बृहत हितको लागि एकता कायम गर्ने दिशामा नेतृत्व हिड्न नसकेको आभास हुन थालेको’ बताएका छन् ।

उनले एनआरएनए अमेरिकामा आएको बिभाजनप्रति दुःख व्यक्त गर्दै महासचिवद्धयले कार्यसमितिको निर्णय अनुरुप समस्याको समाधान गर्न नसके आफु अघि सर्ने बताए । अधिकारीले भनेका छन्, ‘दुई महासचिवले समस्या समाधान गर्न नसके म महासचिवको उम्मेदवार भएर पनि संस्थाको हितको लागि उपमहासचिवमा सहमत भएको विनय अधिकारी गुट उपगुट भन्दा माथि उठेर विवाद समाधान गर्ने जिम्मेवारी लिन तयार छु ।’

उनले महासचिव केशव पौडेल र गौरीराज जोशीले संस्था चलाउन नसके आफै अघि सर्ने चुनौती दिदै भनेका छन् ‘निर्वाचनको दौरानमा मेरो उम्मेदवारी महासचिवमा रहेको सबैलाई अवगत नै छ । तर संस्थाको एकताको लागि भनेर उपमहासचिवको जिम्मेवारी लिन तयार भएको थिए । यदि अहिलेको नेतृत्वले एकता कायम राख्न सकेन भने स्वतः महासचिवको भूमिका निर्वाह गर्दै संघभित्र एकता कामय गर्न अग्रसर रहने अवगत गराउदछु ।’

उपमहासचिव अधिकारीले अध्यक्षत्रयलाई लेखेको पत्र

श्री अध्यक्ष ज्यूहरु कुल आचार्य, रविना थापा र डा बद्री केसी
गैरआवासीय नेपाली संघ (एनआरएनए)

बिषय: विशेष ध्यानाकषर्ण

गैरआवासीय नेपाली संघ (एनआरएनए) को १० औं महाधिवेशन सम्पन्न भएको १ महिना बितिसकेको छ । संघ भित्रको लामो तिक्तक्ता मेटाउने र विश्वभर रहेका एनआरएनए (एनसीसीहरु) हरुलाई एक्येवद्धता कायम गर्ने उद्देश्यले तीन जना अध्यक्ष प्रणालीलाई स्वीकार गरिएको हो । तर विगत एक महिनामा संस्थाको बृहत हितको लागि एकता कायम गर्ने दिशामा नेतृत्व हिड्न नसकेको आभास हुन थालेको छ ।

एनआरएनए राष्ट्रिय समन्वय परिषद्हरु मध्ये जापान, बेलायत, अमेरिका, पोर्तुगललगायतका देशमा समस्या छन् । ति देशका एनसीसीहरुमा देखिएका अन्तरिक विवाद समाधान गर्नुको सट्टा उल्टै अमेरिका जस्तो महत्वपूर्ण राष्ट्रिय समन्वय परिषद्मा नयाँ कार्यसमिति गठन हुनु गम्भिर विषय हो ।

एनसीसी अमेरिका अध्यक्ष बुद्धि सागर सुवेदीले अन्तरराष्ट्रिय समन्वय परिषद् (आइसीसी) लाई तिर्नु पर्ने शुल्क विधान विपरीत रोकेको, सार्वजनिक पदमा निर्वाचित भएपनि गुटगत भेला र संस्था विरुद्धका गतिविधिमा खुला रुपमा संलग्न भएको र आइसीसीलाई चुनौती दिदै अमेरिकाको विवाद बढाएका थिए । संघले यस्ता गतिविधि नगर्न पटक पटक अनुरोध गर्न र सचेत गराउँदा पनि निर्देशन मानेका छैनन् ।

संघको ८३ औं बैठक अर्थात नयाँ कार्यसमितिको पहिलो बैठकले दिएको म्याण्डेट अनुसार काम हुन नसकेपछि महासचिव द्वय डा। केशव पौडेल र गौरीराज जोशीको कार्य क्षमता माथि गम्भिर प्रश्न उठाउनु पर्ने बेला आयो । महासचिवद्वय भएको देश अमेरिकामा यतिबेला गाइजात्रा देखिएको छ । यसलाई तत्काल रोक्न नसके एनआरएनएलाई दीर्घकालिन हानी हुने पक्का छ । यदि दुई महासचिवले समस्या समाधान नसके म महासचिवको उम्मेदवार भएर पनि संस्थाको हितको लागि उपमहासचिवमा सहमत भएको विनय अधिकारी गुट उपगुट भन्दा माथि उठेर विवाद समाधान गर्ने जिम्मेवारी लिन तयार छु ।

एनआरएनए नेतृत्वकर्ताले समयमा सहि निर्णय नलिने हो भने एनआरएनए अमेरिकाको जस्तै अन्य देशमा दुई दुई वटा एनसीसी बन्ने प्राय निश्चित छ । त्यसैले संघको नेतृत्वलाई तत्काल अन्तरिक विषयमा केन्द्रीत हुन आग्रह गर्दछु ।

संघको निर्वाचनको दौरानमा भएका गतिविधिलाई बिर्सेर कार्यकारी अध्यक्ष अघि नबढ्ने हो भने यो कार्यसमितिको औचित्य समाप्त हुन केहिवेर लाग्दैन । वैधानिक रुपमा निर्वाचनमा उम्मेदबार दिएकाहरुको मात्र कार्यसमितिले मान्यता पाउने छ वा यही अक्टोवर महिनामा नयाँ निर्वाचन गराउनु पर्ने अवस्था आउन सक्छ त्यसैले संघ भित्र हुने मनोनयनमा पहिलो, दोस्रो र तेस्रो पक्ष नभनि सबै पक्षलाई समेटेर लैजान आग्रह गर्दछु ।

साथै, निर्वाचनको दौरानमा मेरो उम्मेदवारी महासचिवमा रहेको सबैलाई अवगत नै छ । तर संस्थाको एकताको लागि भनेर उपमहासचिवको जिम्मेवारी लिन तयार भएको थिए । यदि अहिलेको नेतृत्वले एकता कायम राख्न सकेन भने स्वतः महासचिवको भूमिका निर्वाह गर्दै संघभित्र एकता कामय गर्न अग्रसर रहने अवगत गराउदछु ।

विनय अधिकारी
उपमहासचिव, गैरआवासीय नेपाली संघ

मिति २५।०४।२०२२