७ बैशाख २०८१, शुक्रबार
Follow Us

एनआरएन अमेरिकाको साधारण सभा जुलाई ३ र ४ टेक्सासमा

नेपालब्रिटेन संवाददाता
१३ बैशाख २०७९, मंगलवार ०९:३१

लन्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाको बैठक भर्रचुअल मार्फत सोमवार साँझ सम्पन्न भएको छ । संघका अध्यक्ष कृष्ण लामिछानेको अध्यक्षमा बसेको बैठकले संरक्षक परिषदको गठन गरेको छ ।

अमेरिका क्षेत्रीय पदाधिकारीहरु तथा आइसीसी सदस्यहरुको समेत उपस्थित रहेको बैठकले प्रमुखसंरक्षकमा सुनिल शाह र संरक्षकहरुमा शिव कुमार राई, डा। अर्जुन बन्जाडे र तिलक केसीलाई चयन गरेको छ ।

बैठकले गैरआवासीय नेपाली संघ अमेरिकाको वार्षिक साधारणसभा आगामी जुलाई ३ र४ तारिख डल्लासमा गर्ने निर्णय गरेको छ ।

बैठकमा संघका युवा उपाध्यक्ष रोशन थापाले विषम परिस्थितीका बीच एनआरएनए अमेरिकामा नयां कार्यसमिति गठन भएको चर्चा गर्दै समस्याको समाधान गरेर अघि बढ्न सुझाव दिनुभयो ।

बैठकलाई सम्बोधन गर्दै गैरआवासीय नेपाली संघका सचिव चिरन्जीबी घिमिरेले संस्थाभित्र गुटउप गुटलाई छोडेर रुपान्तरणमा लाग्नु पर्नेमा जोड दिनुभयो । उहाँले संघको अभियानमा नविन कार्य सुरु गरेर अघि बढ्न शुभकामना दिनुभयो । उहाँले लामिछानेको कार्यसमितिले अमेरिकामा रहेका नेपालीहरुबीच एकता कायम गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो ।

गैरआवासीय नेपाली संघका सचिव प्रमोद सिटौलाले एनआरएनए संघको निर्देशन नमान्ने सबै एनसीसी खारेज हुने बताउनुभयो । उहाँले विधि र विधान विपरित काम गर्ने अधिकार कसैलाई नभएको बताउनुभयो ।

बैठकमा संघमा सचिव शंकर खड्काले नयां कार्यसमितिले सबै पक्षको भावनालाई समेटेर अघि बढ्नेमा विश्वास गर्दै बधाई तथा शुभकामना दिनुभयो ।

संघका अधिकासं पदाधिकारीहरु उपस्थित रहेको बैठकमा क्षेत्रीय उपसंयोजक पुरु बोहोराले लामिछानेको कार्यसमिति एउटा नमुनाको कार्यकालको रुपमा स्थापित हुनु पर्नेमा जोड दिनुभयो । उहाँले नयां कार्यसमितिलाई आइसीसीको पूर्ण समर्थन रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

बैठकले साता च्याप्टर र केन्द्रिय समितिको संयूक्त बैठक राख्ने निर्णय गरेको छ । यस्तै संघको कार्यदलमा रहेर काम गर्न ईच्छुकहरुको नाम संकलन आगामी तीन दिनभित्र गर्ने निर्णय भएको छ । यस्तै आगामी एक साताभित्र संघको सल्लाहकारहरुको नाम महासचिव समक्ष सिफारीस गर्न बैठकले आग्रह गरेको छ ।

बैठकले पत्रकार होम लम्साललाई प्रवक्ताको जिम्मेवारी दिने निर्णय गरेको छ । बैठकले गैरआवासीय नेपाली संघ अमेरिकाको विधान संसोधन गर्न बरिष्ठ उपाध्यक्ष सिपी पौडेलको संयोजकत्वमा एक समिति गठन गरेको छ । समितिमा उपाध्यक्ष गोपाल कंडेल, रविन बज्राचार्य, महासचिव डोरन अधिकारी, सन्तोष लामिछाने र सदस्यमा सुमन वस्ति रहनुभएको छ । बैठकमा अध्यक्ष लामीछानेले कार्यसमितिलाई पुर्णता दिदै विभिन्न समितिहरु निर्माण प्रक्रियालाई अगाडी बढाउने बताउनु भएको छ । अर्को बैठकमा विभिन्न विभागहरुलाई पुर्णता दिईने छ ।

वर्तमान परिस्थितिमा उत्पन्न नयाँ परिस्थितिमा सबै रिजन र च्याप्टरहरुका साथीहरुलाई जे अवस्थामा रहनु भएको छ यथास्थितिमा काम कारबाही गर्न गराउन आव्हान गरिएको छ ।