May 17, 2022
12:49 PM | 5:34 PM
खेल

लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा

  04/05/2022 मा प्रकाशित

लन्डन । दोस्रो लेगमा भिल्लारियालमाथि ३-२ को पुनरागमन जितसँगै लिभरपुल यूईएफए युरोपियन च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भियारियालको मैदानमा भएको खेलको पहिलो हाफमा लिभरपुल २-० ले पछि परेको थियो । तर, दोस्रो हाफमा तीन गोल गरेसँगै इङ्लिस क्लबले च्याम्पियन्स लिगको फाइलनमा स्थान पक्का गरेको हो ।

लिभरपुलले समग्रमा ५-२ को जित निकाल्यो । यसअघि भएको पहिलो लेगमा लिभरपुलले २-० को जित निकालेको थियो । बोउलय डियाले गरेको गोलबाट युनाई एम्रीको टोलीले खेलको तेस्रो मिनेटमा नै अग्रता लिएको थियो । ४१औं मिनेटमा फ्रान्सी कोक्युलिनले गोल गर्दै घरेलु टोलीको अग्रता दोब्बर पारेका थिए ।

तर, ६१औँ मिनेटमा फाबिन्होले गोल गर्दै लिभरपुललाई खेलमा फर्काउने कोसिस गरेका थिए । त्यसको पाँच मिनेटपछि लुइस डियाजले गोल गरेपछि लिभरपुल बराबरीमा फर्किएको थियो ।

७४औँ मिनेटमा साडियो मानेले गोल गर्दै लिभरपुलको जित निश्चित गरे । लिभरपुलले अब फाइलनमा म्यानचेस्टर सिटी र रियल मड्रिडबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । यी दुई टोलीबीचको दोस्रो लेग बुधबार राति हुँदैछ । फाइनल खेल फ्रान्स राजधानी पेरिसमा हुनेछ ।

प्रतिक्रिया