७ बैशाख २०८१, शुक्रबार
Follow Us

मधेसी मोर्चाले नमाने पनि जेठमा स्थानीय निर्वाचन गर्ने तयारी

नेपालब्रिटेन डट कम्
४ फाल्गुन २०७३, बुधबार ०६:४५

काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचन जेठमा हुनेगरी फागुन ८ गते मिति घोषणा गर्ने तयारी गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले मंगलबार साँझ सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भएको छलफलमा यस्तो जानकारी दिएका हुन् । तीन नेताबीच प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा करिब दुई घण्टा भएको छलफल सकेसम्म मधेसी मोर्चालाई मनाउने, नमाने पनि एक दुई दिनभित्रै निर्वाचन मिति घोषणा गर्ने सहमतिमा पुगेको बताइएको छ । प्रधानमन्त्री दाहालले मधेसी मोर्चासँग निर्वाचनबारे अन्तिम छलफल गर्ने र उसले अस्वीकार गरेपनि मिति घोषणा गर्ने बचन देउवा र ओलीलाई दिएको बताइएको छ । यसअघि माओवादी केन्द्रका नेता नारयणकाजी श्रेष्ठको निवास हात्तिवनमा माघ २८ मा भएको छलफलमा प्रधानमन्त्री दाहालले एमाले अध्यक्ष केपी ओलीलाई फागुन पहिलो साताभित्रै निर्वाचन मिति घोषणा गरिने बताएका थिए ।