१६ चैत्र २०८०, शुक्रबार
Follow Us

सदस्यता शुल्क नर्तिर्ने एनआरएनए यूकेलाई केन्द्रको ताकेतापत्र

नेपालब्रिटेन डट कम्
२५ बैशाख २०७९, आईतवार २२:३५

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) यूकेले पंन्जिकृत सदस्यहरुको शुल्क केन्द्रमा नतिरे पछि संघले कार्यवाहीको तयारी गरेको छ ।

संघको तर्फबाट शनिवार एनआरएनए यूकेलाई प्राप्त एक इमेलमा एनआरएनए यूकेका सदस्यहरुबाट संकलित सदस्यता शुल्क के कति कारणले काठमाण्डौंमा स्थित केन्द्रको खातामा जम्मा नभएको हो जानकारी माग गरिएको छ ।

कोषाध्यक्षत्रय लोक प्रसाद दाहाल, फडिन्द्र पन्त र सुनिल शाहद्धारा हस्ताक्षरित इमेलमा सदस्यता शुल्कबापत जम्मा भएको रकम विनियोजन सम्बन्धमा कार्यसमितिको आधिकारिक धारणा उपलब्ध गराइदिन आग्रह गरिएको छ । पत्रमा कार्यसमितिको आधिकारिक धारणा उपलब्ध गराई संस्थाको वर्तमान उल्झनलाई स्पष्ट निकास दिन अनुरोध गरिएको छ ।

इमेलमा भनिएको छ – “केन्द्रीय विधान २००३ तथा संसोधन २०२१ सहित यस अन्तराष्ट्रिय समन्वय परिषदको कोष व्यवस्थापन तथा विनियोजन सम्बन्धी व्यवस्थाको आधारमा अन्तराष्ट्रिय कोष तथा राष्ट्रिय समन्वय परिषदहरुको कोष सञ्चालनमा पनि संस्थागत एकरुपता, पारदर्शिता र जवाफदेहिता स्पस्ट देखिनेगरी लागू गर्दै एनआरएनएमा आवद्द सम्पूर्ण सदस्यहरुलाई सत्य–तथ्य जानकारी दिने र संस्थाको आर्थिक गतिविधिहरुलाई चुस्त–दुरुस्त र विस्वासिलो गर्ने उदेश्यसहित वर्तमान केन्द्रीय कोष विभागले कार्य थालनी गरेकोबारे राष्ट्रिय समन्वय परिषद बेलायतको कार्यसमितिलाई पनि यसै इमेल–पत्रमार्फत जानकारी गराउन चाहन्छौ।”

“राष्ट्रिय समन्वय परिषद यूकेमा यहाँहरु गत जुलाई २०२१ मा निर्वाचित भई कार्यभारमा हुनुहुन्छ, केन्द्रीय परिषदमा गत मार्च २०२२ मा केन्द्रीय परिषद गठन भई हामीले कार्यभार सम्हालेको यो नयाँ परिवेशमा अन्तराष्ट्रिय परिषद र राष्ट्रिय परिषदबीच समन्वय र थप समझदारी विकास गर्दै संस्थागत उदेश्यहरु हासिल गर्ने साझा दायित्वमा सहकार्य गर्न हामी आब्हान गर्दछौ” पत्रका भनिएको छ ।

पत्रका एनआरएनए यूकेलाई नयाँ परिवेशमा संस्थाभित्र रहेका कमीकमजोरीहरु हटाई कुनै पनि कार्यमा सामुहिक निर्णयमार्फत अघि बढ्न सल्लाह दिंदै त्यसका लागि केन्द्रीय कोषाध्यक्षहरु सधैं तयार रहेको जनाएको छ । उनीहरुले केन्द्रीय कोष छुट्टै नभएर एनआरएनए यूकेमा आवद्द सदस्यहरु र सम्पूर्ण राष्ट्रिय समन्वय परिषदको साझा भएको भन्दै यसको व्यवस्स्थापनको जिम्मेवारीको हिस्सा राष्ट्रिय परिषद बेलायत पनि भएको जनाएका छन् ।

पत्रका उल्लिखत विषयलाई निकास दिन र आर्थिक विनियोजन तथा संस्थाका बिभिन्न एकाइहरुबीच सौहार्द वातावरण निर्माण गर्न बेलायतको कार्यसमितिले अग्रसरता लिने आशा प्रकट गरिएको छ ।

गैरआवासीय नेपाली संघ यूकेका महासचिव खुशी लिम्बुले संघको सदस्यता शुल्क सम्बन्धमा छलफल गर्न संघको बैठक १५ मे, आइतवार बोलाइएको बताए । उनले संघको बैठकले औपचारिक निर्णय लिने जानकारी दिए ।

गैरआवासीय नेपाली संघको ३० अप्रीलमा बसेको बैठकले सदस्यता शुल्क नर्तिने एनसीसी र पदाधिकारीहरुलाई १५ दिनभित्र शुल्क चुक्ता गर्न निर्देशन दिएको थियो ।

एनआरएनए यूकेलाई प्राप्त पत्र जस्ताको तस्तै