८ बैशाख २०८१, शनिबार
Follow Us

घले समूहलाई कारवाही गर्ने एनआरएनएको चेतावनी

नेपालब्रिटेन डट कम्
२८ बैशाख २०७९, बुधबार १४:५६

लण्डन । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले संघको लोगो र लेटरहेड प्रयोग गरी संघको नाममा गरिने अवान्छित गतिविधी गर्ने समूहलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएको छ ।
संघका पूर्वअध्यक्ष शेष घले समूहले शुक्रवार एक बृहत भेलाको आयोजना गरेको दावी गर्दै संघको लेटरहेडमा भ्रामक तरिकाले पत्राचार गरे पछि संघले सो चेतावनी दिएको हो ।
संघका प्रवक्ताद्धय शिव कुमार वरुवाल र सोम सापकोटाले बिहिवार एक विज्ञप्ति जारी गर्दै संघको नियमित कार्यक्रमहरुमा वाधा अड्चन पर्दै जाने परिस्थिति सृजना भएको खण्डमा संघ कानूनी कारवाहीमा जान वाध्य हुने जनाएका छन् ।

विज्ञप्तिमा ‘अनाधिकृत रुपमा संघको नाम र लोगोको दुरुपयोग गरी पठाइने कुनै पनि पत्र गैरआवासीय नेपाली संघको आधिकारिक पत्र नभएकोले यस सम्वन्धी कुनै पनि भ्रममा नपर्नका लागि सम्पूर्ण एनसिसि लगायत सम्वन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं’ भनिएको छ ।


विज्ञप्तिको पूर्णपाठ

गैरआवासीय नेपाली संघको दशौं गैरआवासीय नेपाली विश्व सम्मेलन तथा अन्तर्राष्ट्रिय महाधिवेशन मार्च २६-२७/२०२२ मा काठमाण्डौको हिमालय होटलमा सम्माननीय राष्ट्रपती विधा देवी भण्डारीज्यूको प्रमुख आतिथ्यतामा उद्घाटन र सम्माननीय प्रधानमन्त्री शेर वहादुर देउवाज्यूको प्रमुख आतिथ्यतामा समापन समारोह भव्य रुपमा सम्पन्न भएको सवैलाई अवगत नै छ ।

उक्त महाधिवेशनवाट सर्वसहमतीको आधारमा पारीत भएको संशोधित विधानलाई २७ मार्च २०२२ मा परराष्ट्र मंत्रालयबाट प्रमाणीकरण भएको र उक्त संसोधित विधानको अधिनमा रही सर्वसहमतीको आधारमा संघका पदाधिकारीहरुको चयन भएको जानकारी गराउन चाहान्छौं।

संघको वृहत्तर हितलाई ध्यानमा राख्दै सहमतिमा नै संघको दशौं महाधिवेशनवाट कुल आचार्य, रबिना थापा र डा. बद्री केसीको संयुक्त नेतृत्वमा नयां कार्य समितिको गठन भई उत्साहका साथ संस्थालाई सहमतिकै आधारमा सञ्चालन गर्ने प्रण गर्दै, गैरआवासीय नेपाली संघले विभिन्न विभाग एवं समितिहरु गठन गरेर आफ्ना कार्यक्रमहरु सक्रिय रुपमा अघि वढाउन लागिरहेको अवस्थामा संघको आधिकारिक निकाय वाहेक अन्य जो कोहीले पनि संघको लोगो र लेटर हेड प्रयोग सम्वन्धी कार्यविधी विपरित गैरआवासीय नेपाली संघको नाम र लोगो दुरुपयोग गरी प्रेषित गरिएका पत्रहरु प्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।

अनाधिकृत रुपमा संघको नाम र लोगोको दुरुपयोग गरी पठाइने कुनै पनि पत्र गैरआवासीय नेपाली संघको आधिकारिक पत्र नभएकोले यस सम्वन्धी कुनै पनि भ्रममा नपर्नका लागि सम्पूर्ण एनसिसि लगायत सम्वन्धित सबैमा हार्दिक अनुरोध गर्दछौं।

संघभित्र रहेका आन्तरिक मतभिन्नता र असहमतिहरुलाई संस्था भित्रै छलफल गरेर सहमतीमा पुग्न सकिन्छ र सहमति र सहकार्य गरेरै संस्थालाई एकतावद्ध र मजवूत बनाउन सकिन्छ भन्ने हाम्रो दृढ मान्यता र विश्वास रहि आएकोले आपसी असमझदारीको समाधानार्थ सार्थक वार्ताका लागि संवन्धित असन्तुष्ट पक्षलाई आव्हान गर्दै, संघको आधिकारिक नाम र लोगोको दुरुपयोग नगर्नु हुन संवन्धित सवै पक्षलाई आग्रह गर्दछौं।

संघको लोगो र लेटरहेड प्रयोग गरी संघको नाममा गरिने अवाञ्छित गतिविधीहरुले नेपाली समाजमा भ्रम सृजना भैरहने र संघको नियमित कार्यक्रमहरुमा वाधा अड्चन पर्दै जाने परिस्थिति सृजना भएको खण्डमा संघ कानूनी कारवाहीमा जान वाध्य हुने जानकारी गराउंदछौं ।

सोम सापकोटा शिवकुमार बरुवाल
प्रवक्ता प्रवक्ता

११ मई २०२२