१२ बैशाख २०८१, बुधबार
Follow Us

आज स्थानीय निर्वाचन

नेपालब्रिटेन डट कम्
३० बैशाख २०७९, शुक्रबार ०१:०५

स्थानीय तहको निर्वाचन हुन्छ कि हुँदैन भन्ने द्विविधाबीच ७ सय ५३ स्थानीय तहको निर्वाचन शुक्रबार देशभर एकै चरणमा हुँदै छ।

सरकार र निर्वाचन आयोगले सम्पूर्ण तयारी पूरा भएको जनाउँदै आम मतदातालाई ढुक्क भएर मतदानमा सहभागी हुन आह्वान गरेका छन्। स्थानीय निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, विश्वसनीय र भयमुक्त वातावरणमा सम्पन्न गराउनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयबाट सबै तयारी पूरा भइसकेको आयोगले जनाएको हो।

विहीबार आयोगमा आयोजित नियमित पत्रकार सम्मलेनमा सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले निर्वाचनको सबै तयारी पूरा भएको जानकारी दिए। ‘मतदानका लागि मतदाता नामावलीमा नाम हुन अनिवार्य छ,’ उनले भने, ‘नामावलीमा नाम भएकाले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गाधनी प्रमाणपुर्जाको सक्कल प्रमाणका आधारमा मतदान गर्न दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिइएको छ।’

बिहान ७ देखि साँझ ५ बजेसम्म हुने मतदानमा देशभरका १ करोड ७७ लाख ३३ हजार ७ सय २३ जना मतदाता सहभागी हुन पाउनेछन्। उनीहरूले आगामी ५ वर्षलाई आफ्नो स्थानीय सरकार चयनका लागि १० हजार ७ सय ५६ मतदान स्थलका २१ हजार ९ सय ५५ मतदान केन्द्रबाट मतदान गर्दै छन्। मतदान केन्द्रका लागि आवश्यक निर्वाचन सामग्रीसहित १ लाख ९ हजार ८८ जना कर्मचारी र ६५ हजार ८ सय ६५ जना स्वयंसेवक आआफ्नो मतदान केन्द्रमा पुगिसकेका छन्।

निर्वाचनमा मतदाताले शान्तिपूर्ण वातावरणमा निर्बाध रूपले मतदान गर्ने अधिकारको सुनिश्चितताका लागि शान्तिसुरक्षाको कडा व्यवस्था मिलाइएको सरकारले जनाएको छ।