७ बैशाख २०८१, शुक्रबार
Follow Us

टोटनहमले आर्सनललाई हरायो

नेपालब्रिटेन संवाददाता
३० बैशाख २०७९, शुक्रबार ०३:४२

लन्डन । इंग्लिस प्रिमियर लिग फुटबल अन्तर्गत बिहीबार राति भएको खेलमा टोटनहमले आर्सनललाई ३-० अन्तरले पराजित गरेको छ । लण्डन डर्बीको खेलमा आर्सनल १० खेलाडीमा सीमित भएको थियो । टोटनहमका लागि ह्यारी केनले दुई तथा ह्युङ मीन सनले एक गोल गरे ।

पहिलो हाफमा दुई गोल गरेको टोटनहमले दोस्रो हाफमा थप एक गोल गरेको थियो । खेलको ३३औँ मिनेटमा रब होल्डिङले दोहोरो पहेँलो कार्ड पाउँदा आर्सनल १० खेलाडीमा सीमित भएको थियो । खेलपछि आर्सनल ६६ अंकका साथ चौथो स्थानमा छ भने टोटनहम ६५ अंकका साथ पाँचौ स्थानमा छ ।

अब २ खेल बाँकी हुँदा शीर्ष चारका लागि टोटनहम र आर्सनलबीच च्याम्पियन्स लिगमा स्थान बनाउन प्रतिस्पर्धा हुनेछ । म्यानचेस्टर सिटी ८९ अंकका साथ शीर्ष स्थानमा छ । लिभरपुल ८६ अंकका साथ दोस्रो तथा चेल्सी ७० अंकका साथ तेस्रो स्थानमा छ।

रियल मड्रिडको जितमा भिनिसियसको ह्याट्रिक
मड्रिड । युवा फरवार्ड भिनिसियस जुनियरको ह्याट्रिक मद्दतमा स्पेनिस ला लिगा अन्तर्गत बिहीबार राति भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई ६-० अन्तरले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलको जितमा भिनिसियसले ह्याटि्रक गर्दा फर्लान्ड मेन्डी, करिम बेन्जेमा र रोड्रिगोले १-१ गोल गरे ।

यसअघि नै च्याम्पियन्स लिगको फाइनलमा प्रवेश गरेको रियलले ला लिगाको समेत उपाधि जितिसकेको छ । रियल म्यड्रिड ४६ खेलबाट ८४ अंक सहित शीर्ष स्थानमा छ । पराजित लेभान्टे २९ अंक जोडेर पुछारमा छ ।