१५ चैत्र २०८०, बिहीबार
Follow Us

एनआरएनए यूकेले सदस्यता शुल्क तिरेन, आफ्नै एमआईएस बनाउने

नेपालब्रिटेन डट कम्
२ जेष्ठ २०७९, सोमबार ०९:३३

लण्डन । गैरआवासीय नेपाली संघ यूकेले पंन्जिकृत सदस्यहरुको सदस्यता शुल्न नर्तिन शर्तमाथि शर्तअघि सारेको छ ।

संघका कार्यकारी अध्यक्ष कुल आचार्यको अध्यक्षतामा बसेको बैठकले मे १५ तारिखभित्र सदस्यता शुल्क केन्द्र बुझाउन आग्रह गरे पनि एनआरएनए यूकेको आइतवार बसेको बैठकले चलाखीपूर्ण निर्णय गर्दै सदस्यता शुल्क समयमा तिर्न अस्वीकार गरेको छ ।

एनआरएनए यूकेका महासचिव खुशी लिम्बुका अनुसार आइसीसीसंग एमओयु गर्ने र एनआरएनए भवनको लागि सदस्यता शुल्क मिनाहा गरिपाऊँ भनी केन्द्रमा निवेदन दिने निर्णय गरेको छ । एनआरएनए यूकेले पटक पटक तोकेता गर्दा पनि आइसीसीले वास्ता नगरेको उल्टै आरोप समेत लगाएको छ ।

बैठकले निर्णयमा भनिएको छ, ‘एनआरएनए यूकेको गत २०२१ को अधिवेशन र निर्वाचनको सन्दर्भमा पञ्जिकृत सदस्यहरुबाट दस्यता शुल्कबापत लिइएको रकम नेपालस्थित अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) लाई पठाउनेबारेमा छलफल भयो । छलफलपश्चात गत १५ मार्च २०२२ मा बसेको एनआरएनए यूकेको बैठकले निर्णय गरे बमोजिम एनआरएनए यूकेले आइसीसीसंग एमओयु गरेर मात्रै सदस्यताबापत संकलित लेवि आइसीसीलाई पठाउने निर्णय भयो । उल्लिखित एमओयु बारेमा आइसीसीलाई पटक पटक पत्राचार गर्दा पनि आइसीसीले उक्त पत्रहरुप्रति चासो नदेखाएको हुँदा यस विषयमा एनआरएनए यूकेको उक्त विषयप्रति यथाशीघ्र चासो जगाउन आइसीसीलाई पुनः पत्राचार गर्ने निर्णय भयो ।’

यस्तै बैठकले ‘एनआरएनए यूकेले आफ्नो कार्यालय नेपाल हाउस निर्माण वा खरिद गर्ने प्रकृया सुरु गरिसकेको अवस्थालाई मध्यनजर गर्दै सो उद्देश्य पुरा गर्नका लागि पञ्जिकृत सदस्यहरुबाट गत बर्ष २०२१ सदस्यताबापत संकलित माथि १४ मा उल्लिखत रकम यस पटकको लागि मिनाहा गरिपाऊँ भनी एनआरएनए आइसीसीलाई एक अनुरोध पत्र पहिला पठाउने निर्णय भएको उल्लेख छ’।

बैठकका निर्णयको पूर्णपाठ

आदरणीय पत्रकार साथीहरु,
एनआरएनए यूकेको बैठक हिजो मे १५ को दिन संघको कार्यालयमा बस्यो । निम्न निर्णयहरुका आधारमा कृपया आआफ्नो मिडियाबाट समाचार प्रकाशन गर्नुहोला भन्ने अपेक्षा राखेका छौं । धन्यवाद ।

एघारौं कार्य समिति (२०२१–२३) को चौथो प्रत्यक्ष बैठकको मिनट

गैर–आवासीय नेपाली संघ बेलायत (एनआरएनए यूके) को एघारौं कार्य समिति (२०२१–२३) को चौथोे प्रत्यक्ष बैठक आज मिति १५ मे २०२२ आइतबारको दिन अल्डरशटस्थित एनआरएनए यूकेको कार्यालयमा बस्यो । बैठकको अध्यक्षता अध्यक्ष श्री प्रेम गाहा मगरले गर्नुभयो र सञ्चालन महासचिव खुशी लिम्बुले गर्नु भयो ।

बैठकले छलफलपश्चात सर्वसम्मतिको आधारमा निम्न निर्णयहरु गर्योः

(१) एनआरएनए यूकेले बिभिन्न व्यक्ति वा संस्थाहरुलाई उनीहरुको वस्तु वा सेवाका लागि भुक्तान गर्न बाँकी रहेका इन्भोइसहरु मिति १६ मे २०२२ भित्रमा भुक्तानी गर्न कोषाध्यक्ष विष्णु खरेललाई निर्देशन दिने निर्णय गर्यो ।

(२) एनआरएनए यूकेको ब्याज र टोकन अफ लभको लागि स्कटल्याण्ड राज्य समितिका अध्यक्ष काँशीराम भण्डारीज्यूले प्रायोजन गर्ने भनी उहाँले गर्नुभएको प्रतिबद्दता अनरुप कवुल भएको रकम चाँडोभन्दा चाँडा उपलब्ध गराउन अनुरोध गर्ने निर्णय गरियो । त्यस्तै गरी एनआरएनए यूके गोर्खा विभाग सहसंयोजक भीम सारुले आफ्नो प्रतिवद्दता बमोजिम एनआरएनए यूकेको ३०० वटा टाइ अर्डर गरी उपलब्ध समेत भइसकेकोले बैठकले उक्त टाई संकलन गरी कार्यालयसम्म ल्याउने जिम्मा कार्यसमिति सदस्यहरु चम्पा थापा मगर र पदम शाहीलाई दियो ।

(३) एनआरएनए यूकेले हाल बेलायत भ्रमणमा रहेका वैज्ञानिक तथा समाजसेवी डा. महावीर पुनसंग आगामी ३ जुन २०२२ मा एक अन्तरकृया गर्ने निर्णय भयो । अन्तरकृया कार्यक्रमको संयोजन गर्ने जिम्मा उपाध्यक्ष गोविन्द खरेललाई दिइयो ।

(४) एनआरएनए यूकेले गोर्खा कप २०२२ मा हेल्थ क्याम्प (स्वास्थ्य शिविर) को आयोजना गर्ने निर्णय भयो । आगामी जुन ४ मा अल्डर्शटमा हुने गोर्खा कप फूटबल प्रतियोगितमा स्वास्थ्य शिविर आयोजना गर्ने र त्यसको संयोजन गर्ने जिम्मेवारी एनआरएनए यूकेका स्वास्थ्य विभाग संयोजक डा. विशाल गुरुङलाई दिइयो । कार्यक्रम गर्दा लाग्ने प्रक्षेपित खर्च ८१६ पाउण्डमा कमी ल्याउन प्रयत्न गर्ने निर्णय भयो ।

(५) एनआरएनए यूकेको नेपाल हाउस प्रोजेक्टको लागि रशमूर बरोका काउन्सिल लीडरहरुलाई एनआरएनए यूकेको कार्यालयमै निमन्त्रणा गरी एक विशेष अन्तरकृया तथा परामर्श कार्यक्रम आयोजना गर्ने निर्णय भयो । यसको संयोजन अध्यक्ष प्रेम गाहा मगर आफैंले गर्ने निर्णय भयो ।

(६) एनआरएनए यूकेले आगामी अगस्ट ६ मा गर्नेे बार्षिक साधारण सभा (काउन्सिल बैठक) को अवसर पारेर एनआरएन भ्वाइसको नयाँ अंक प्रकाशन गर्ने निर्णय भयो । एनआरएन भ्वाइसको नयाँको अंक प्रकाशनको संयोजनको जिम्मेवारी उपाध्यक्ष राम चन्द्र पोखरेल र सम्पादनको जिम्मेवारी महासचिव खुशी लिम्बू र प्रवक्ता भरतमणी चोङबाङलाई जिम्मा दिइयो ।

(७) एनआरएनए यूकेको बैंक वेलफेयर अकाउण्ट वन्द भएको र खातामा रहेको करिब २६,००० पाउण्ड पूर्व अध्यक्ष पूनम गुरुङज्यू तथा पूर्व कोषाध्यक्षहरुसंग सम्पर्क गरी उक्त रकमको खोजी गर्ने जिम्मा वर्तमान उपाध्यक्ष नारायण कँडेल र कोषाध्यक्ष विष्णु खरेललाई दिइयो ।

(७) अन्तर्राष्ट्रिय खेलकुद प्रतियोगिताको छनौटका लागि नेपालमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी हुन इच्छुक खेलाडीहरुलाई यात्रा खर्च (ट्राभल एक्पेन्स) एनआरएनए यूकेले उपलब्ध गराउने निर्णय गर्यो ।

(८) एनआरएनए यूकेको वेभसाइट र डेटाबेस पोर्टल (सदस्यहरुको व्यक्तिगत विवरण राख्ने प्रणाली) निर्माणको लागि आइ. टी. कोअर्डिनेटर आवेश राईलाई न्युनतम खर्च उपलब्ध गराउने निर्णय भयो ।

(९) अल्डर्शटस्थित आमा समूहले एनआरएनए यूकेको कार्यालय हरेक सोमबार प्रयोग गर्ने इच्छा जाहेर गरेकोले सोही बमोजिम आमा समूहलाई प्रत्येक सोमबार निर्धारित समयसम्मका लागि कार्यालय कोठा प्रयोग गर्न दिने निर्णय भयो । जसका लागि कार्यसमितिका सदस्यहरु आफू उपलब्ध रहेको अवस्थामा कार्यालय आएर केयर टेकरको भूमिका खेल्न सक्ने भनी निर्णय भयो ।

(१०) एनआरएनएको कार्यालयमा राजदूतावासको घुम्ती सेवा उपलब्ध गराई पाऊँ भनी नेपाली राजदूतावासलाई पुनः अनुरोध गर्ने निर्णय भयो ।

(११) गत २४ अप्रिल २०२२ को दिन कोभेण्ट्रीनिवासी रामप्रसाद सुवेदीको असामयिक निधन भएको र उहाँको आर्थिक अवस्था निकै कमजोर भएको भनी एनआरएनए यूकेलाई निवेदन आएको हुँदा सोही बमोजिम एनआरएनए यूकेले निज मृतकको परिवारलाई ५०० पाउण्ड प्रदान गर्ने निर्णय भयो । जसका लागि कोषाध्यक्षलाई निम्न खाता नम्बरमा सहयोग रकम उपलब्ध गराउन निर्देशन भयोः

(१२) एनआरएनए यूकेको गत २०२१ को अधिवेशन र निर्वाचनको सन्दर्भमा राज्य समन्वय परिषदका उम्मेदवारहरुबाट लिएको उम्मेदवारी शुल्क फिर्ता गर्ने सम्बन्धमा गरिएको पूर्व निर्णय अनुसार स्कटल्याण्ड, वेल्स र उत्तरी आयरल्याण्ड राज्य समितिलाई शुल्कको ५० प्रतिशत सम्म फिर्ता गर्ने निर्णय भयो ।

(१३) राज्य परिषदहरुलाई प्रत्येक काउण्टी काउन्सिल गठन गरेबापत सम्बन्धित लागतखर्चका लागि सहयोग स्वरुप एनआरएनए यूकेले ३०० पाउण्ड प्रदान गर्ने निर्णय भयो ।

(१४) बैठकमा एनआरएनए यूकेको गत २०२१ को अधिवेशन र निर्वाचनको सन्दर्भमा पञ्जिकृत सदस्यहरुबाट सदस्यता शुल्कबापत लिइएको रकम नेपालस्थित अन्तर्राष्ट्रिय समन्वय परिषद (आइसीसी) लाई पठाउनेबारेमा छलफल भयो । छलफलपश्चात गत १५ मार्च २०२२ मा बसेको एनआरएनए यूकेको बैठकले निर्णय गरे बमोजिम एनआरएनए यूकेले आइसीसीसंग एम. ओ. यु. गरेर मात्रै सदस्यताबापत संकलित लेवि आइसीसीलाई पठाउने निर्णय भयो । उल्लिखित एम. ओ. यु. बारेमा आइसीसीलाई पटक पटक पत्राचार गर्दा पनि आइसीसीले उक्त पत्रहरुप्रति चासो नदेखाएको हुँदा यस विषयमा एनआरएनए यूकेको उक्त विषयप्रति यथाशीघ्र चासो जगाउन आइसीसीलाई पुनः पत्राचार गर्ने निर्णय भयो ।

(१५) एनआरएनए यूकेले आफ्नो कार्यालय नेपाल हाउस निर्माण वा खरिद गर्ने प्रकृया सुरु गरिसकेको अवस्थालाई मध्यनजर गर्दै सो उद्देश्य पुरा गर्नका लागि पञ्जिकृत सदस्यहरुबाट गत बर्ष २०२१ सदस्यताबापत संकलित माथि १४ मा उल्लिखत रकम यस पटकको लागि मिनाहा गरिपाऊँ भनी एनआरएनए आइसीसीलाई एक अनुरोध पत्र पहिला पठाउने निर्णय भयो ।

(१६) मिडल्याण्डमा हुन गइरहेको गोल्डेन एभरेस्ट क्रिकेट प्रतियोगितालाई एनआरएनए यूकेद्धारा आयोजना गरी एनआरएनए क्रिकेट टुर्नामेण्ट भनी कार्यसमिति सदस्य हिरा सापकोटाद्धारा संयोजन गरिने गरियो ।

(१७) कार्यसमिति सदस्य उपेन्द्र पौडेलेको संयोजकत्वमा मिडल्याण्डमा एनआरएनए मेला आयोजना गरिने निर्णय गरियो ।