७ बैशाख २०८१, शुक्रबार
Follow Us

लाईफ ईन एलएबाट उत्साहित छन बास

नेपालब्रिटेन संवाददाता
३ जेष्ठ २०७९, मंगलवार ०३:२८

काठमाडौं । हालै अमेरिकामा रिलिज गरिएको नेपाली चलचित्र ‘लाईफ ईन एलए’ यही शुक्रबारबाट नेपालमा रिलिज हुँदैछ । अमेरिकाका विभिन्न शहरमा प्रदर्शन गरेपछि यो चलचित्रलाई नेपालमा रिलिज गर्न लागिएको हो । अमेरिकामा बस्दै आएका यो फिल्मका नायक बास बिसु, नायिका अकेशा बिष्ट, निर्देशक सूर्य श्रेष्ठ यही चलचित्रको प्रचारका लागि यतीबेला नेपाल आईपुगेका छन् ।

सोमबार पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अभिनेता बासले लाईफ ईन एलएको रिलिजप्रति आफु निकै उत्साहित भएको बताए,‘हामी अमेरिकामा रहेर पनि नेपाली भाषा साहित्य तथा कला संस्कृतिको संरक्षणमा त्यत्तिकै कटिबद्ध छौं भनेर देखाउन यो चलचित्र तयार गरेको हौं । नेपालीहरु नेपाल बाहिर जहाँ भए पनि उनीहरुले आफ्नो भाषा संस्कृतिको लागि सोही ठाउँबाट योगदान दिनुपर्छ भन्ने हाम्रो मान्यता हो ।’

जेठ ६ बाट रिलिज हुने यो चलचित्र अहिले एकल रिलिज हुँदैछ । आफ्नो सिनेमालाई मल्टिप्लेक्सले समेत प्रसस्त शो दिन सम्झौता भएको उनले बताएका छन् । बास बिसु बिगत डेढ दशकभन्दा लामो समयदेखि अमेरिकाको लस एन्जलसमा बस्दै आएका थिए । नेपाली फिल्मसँगको सम्बन्धबारे उनले राजधानीसँग भने,‘यो एक दशकमा मैले कैयौं नेपाली चलचित्र अमेरिकामा व्यबसायिक रुपमा प्रदर्शन गरिसकेको छु । त्यहाँ कसरी नेपाली चलचित्रको व्यापार गर्न सकिन्छ भन्ने बुझेरै हामीले चलचित्र लाईफ इन एलए बनाएका हौं ।’ यो चलचित्रको निर्माता समेत रहेको बासले अमेरिकबाट आफुहरुले फिल्मको ८० प्रतिसत लगानी उठाईसकेको पनि राजधानीलाई बताएका छन् ।

बासको भनाईमा नेपाली बिधार्थीहरुले अमेरिका पुगेपछि गर्नु पर्ने सँघर्षको कथामा यो चलचित्र केन्द्रित छ । फिल्मबारे उनले भने,‘अमेरिकामा अध्ययन गर्ने विधार्थीहरुले त्यहाँ निकै सँघर्ष गर्नु पर्छ र यो चलचित्रले त्यहाँ नेपाली विधार्थीहरुको अबस्था कस्तो छ भन्नेबारे जानकारी गराउने छ ।’ त्यसैले अमेरिका जान चाहने नेपाली विधार्थीहरुको लागि यो चलचित्र मार्गदर्शन हुने भएकाले उनीहरुलाई यो फिल्म हेर्न पनि बासले अनुरोध गरेका छन् ।

कोरोनाको महामारीको बेला छायाँकन गरिएको यो चलचित्र नेपालमा २० प्रतिसत र अमेरिकाको लस एन्जलसमा ८० प्रतिसत छायाँकन गरिएको पनि बासले जानकारी गराएका छन्,‘ अमेरिकाको सुन्दर शहर लस एन्जलस कस्तो छ भन्नेबारे पनि नेपाली दर्शकलाई यो फिल्मले देखाउने छ । त्यो भन्दा पनि यो फिल्मको कथा आफैंमा मार्मिक छ ।’ उनले भने ।

अभिनेता बास पेशाले हाइड्रोपावर इन्जिनियर हुन् । भविष्यमा नेपाल आएर हाईड्रो विकाशमा काम गर्ने उनको योजना छ । तथापि आफु एक दशकदेखि नेपाली चलचित्रको प्रदर्शनमा अमेरिकामा क्रियाशिल रहेकाले चलचित्र अभिनयमा पनि हात हालेको उनले बताएका छन् । आफ्नो अभिनयलाई अझ सुधार्न उनले अभिनय प्रशिक्षण पनि लिँदैछन् ।

यो चलचित्रमा नेपालबाट गौरव पहारी, शिल्पा मास्के, बुद्धी तामाङलगायतका कलाकारको मुख्य भूमिका रहेको छ । अमेरिकाबाटै फिल्म निर्देशनमा स्नातक गरेको सूर्य श्रेष्ठले यो चलचित्रको निर्देशन गरेका हुन् । बिदेशमा रहेको नेपालीहरुले पनि राम्रो चलचित्र बनाउन सक्छ भन्ने उदाहारण दिन पनि आफुहरुले यो चलचित्र अमेरिकबाटै तयार गरेको अभिनेता बासले बताएका छन् । यो चलचित्रबाट नायकको रुपमा डेब्यु गरेका बास नेपालमा आफ्नो अभिनयको प्रतिक्रिया सुन्न उत्साहित छन् । चलचित्रलाई ५ जेठमा काठमाडौंमा प्रिमियर शो गरेर ६ जेठबाट देशव्यापी रिलिज गर्ने पनि उनले जानकारी गराएका छन् ।