१३ बैशाख २०८१, बिहीबार
Follow Us

अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, कांग्रेस अगाडि

नेपालब्रिटेन संवाददाता
५ जेष्ठ २०७९, बिहीबार १३:०३

काठमाडौं । हालसम्म ५७० स्थानीय तहको मतगणना सकिएको निर्वाचन आयोगले जनाएको छ । बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमार्फत आयोगका प्रवक्ता शालीग्राम शर्मा पौडेलले १८३ पालिकाको मतगणना अन्तिम चरणमा रहेको बताए ।

हालसम्म २९ हजार ३०३ उम्मेदवार निर्वाचित भइसकेका छन् । जसमा प्रमुखमा १७४ जना, उपप्रमुखमा १७४, अध्यक्षमा ३९६, उपाध्यक्षमा ३९६, वडाध्यक्षमा ५ हजार ६५९, महिला सदस्य ५ हजार ६५३, दलित महिला सदस्य ५ हजार ६५६ जना र वडा सदस्य १ हजार २९५ जना निर्वाचित भएका प्रवक्ता पौडेलले बताए ।

३५ हजार २२१ पदमध्ये हालसम्म करिब ८० प्रतिशत स्थानको मतगणना सम्पन्न भइसकेको उनको भनाई छ । ५ जेठभित्रमा मतगणना सम्पन्न गर्न आयोगले यसअघि नै निर्देशन दिएको थियो । तर, मतगणना नसकिएका स्थानमा बढीभन्दा बढी जनशक्ति परिचालन गरेर मतगणना गर्न आयोगले निर्देशन पनि दिएको छ ।

पछिल्लो मत परिणामअनुसार नेपाली कांग्रेसले २ सय ६१ स्थानमा जीत निकालेको छ भने उसले अझै ६१ स्थानमा अग्रता कायम राखेको छ । दोस्रो स्थानमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) रहेको छ । उसले १ सय ६६ स्थानमा विजय हासिल गरेको छ भने ३१ स्थानमा उसको अग्रता कायम छ ।

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले १ सय ६ स्थानमा जीत निकालेको छ । उसको १३ स्थानमा अग्रता छ भने जनता समाजवादी पार्टी नेपालले १८ स्थानमा जीत निकालेको छ । उसको अझै १४ स्थानमा अग्रता छ भने नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले १४ स्थानमा विजय हासिल गरेको छ । उसले अझै ५ स्थानमा जित्न सम्भावना छ । बाँकी स्थानमा स्वतन्त्र र मधेश केन्द्रित दलहरुले जितेका छन् ।