६ बैशाख २०८१, बिहीबार
Follow Us

धरानमा लौरोले मतान्तर फराकिलो बनाउँदै

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार ०६:१८

सुनसरी । धरान उपमहानगरपालिकामा ३९ हजार मत गनिसक्दा लौरो चुनाव चिह्नका स्वतन्त्र उम्मेदवार हर्क साङपाङले ११ हजार ३३९ मत ल्याउँदै अग्रता कायम गरेका छन् । नेपाली कांग्रेसका किशोर राईले उनलाई ९ हजार ८३० मत ल्याउँदै पछ्याइरहेका छन् । साङपाङ र राईको मतान्तर १ हजार ५०९ छ । त्यसैगरी २०७४ सालको निर्वाचनमा प्रमुख उपप्रमुख जितेको नेकपा एमाले भने तेस्रो स्थानमा छ ।

प्रमुख पदमा एमालेबाट उम्मेदवार दिएकी मञ्जु भण्डारी स्वतन्त्र र कांग्रेसभन्दा निकै तल देखिएकी छिन् । उनले ८ हजार ७१ मत पाएकी छिन् । उनले पाएको मत स्वतन्त्रको भन्दा ३ हजार २६८ मत कम हो ।

त्यसैगरी उपप्रमुखमा गठबन्धनबाट माओवादी केन्द्रका अइन्द्र विक्रम बेघाले ११ हजार ४२१ मत ल्याएका छन् । उनलाई नेकपा एमालेका पदम लिम्बुले १० हजार ९५८ मत ल्याउँदै पछ्याइरहेका छन् । अहिले ११,१२,१३ वडाको गणना भइरहेको छ । बाँकी १५,१६ र १७ को भने बाँकी रहेको धरानका निर्वाचन अधिकृत पुष्करराज नेपालले जानकारी दिए । उनले धरानको मत परिणाम अबको तीन दिन भित्रमा आइसक्ने समेत बताए ।