१६ चैत्र २०८०, शुक्रबार
Follow Us

प्रशिक्षक अल्मुताइरीबिरुद्ध खनिए खेलाडी, सर्प र छेपारोको संज्ञा

नेपालब्रिटेन संवाददाता
६ जेष्ठ २०७९, शुक्रबार १३:०१

काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा निकालिएका खेलाडीको समूह मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीविरुद्ध सामाजिक सन्जालमा खनिएका छन् । प्रशिक्षक अल्मुताइरीले शुक्रबार सामाजिक सञ्जालमा ‘र’ लेख्दै स्टोरी पोस्ट गरेका थिए । यसैको जवाफमा प्रशिक्षण छोडेका खेलाडीहरुले फरक शैलीमा विरोध जनाएका हुन् ।

खेलाडीले समेत फेसबुकको स्टोरी मार्फत र लेख्दै आफ्नो जवाफ फर्काएका छन् । प्राय खेलाडीले अब्दुलाहलाई सर्पको संज्ञा दिएका छन् ।

‘र..सत्यले तपाईलाई केही समय कडा प्रहार गर्छ तर यो कहिल्यै मर्दैन । झुटले केही समय सुख दिए पनि यो सँघै रहँदैन,’ विशाल राईले लेखेका छन् ।

‘र..लुकाउनु कुनै विकल्प होइन । कुनै कुरा बदल्नु समाधान होइन । सत्य कहिल्यै मर्दैन,’ सुजल श्रेष्ठले लेखेका छन् ।

‘र..सत्यमाथि झुट बोल्नु तपाईका लागि कुनै नौलो कुरा होइन,’ दीनेश राजवंशी लेख्छन् ।

‘र..सत्यको लागि बोल्न सिकाउदै हुनुहुन्थ्यो तर आज आफै झुटको खेती गदै हुनुहुन्छ (सर्प),’ तेज तामाङ लेख्छन् ।

‘र.. ढिलो चाडो सत्यको जित हुन्छ,’ अन्जन बिष्टले लेखेका छन् ।

‘र.. तपाईसँगै रंग बदल्ने निकै ठूलो क्षमता छ (छेपारो)’ अनन्त तामाङले लेखेका छन् ।

राष्ट्रिय टोलीका रोहित चन्द, विमल घर्तिमगर, सुजल श्रेष्ठ, अन्जन बिष्टसहित १० सिनियर खेलाडी र होटलको विषयमा विवाद भएपछि प्रशिक्षक अल्मुताइरीले होटल छोड्ने निर्देशन दिएको भन्दै खेलाडीहरुले बन्द प्रशिक्षण छोडेका थिए ।

विवाद समाधानका लागि तीन सदस्यीय समिति गठन भएको थियो । जसले २८ पेज लामो प्रतिवेदन पनि बुझाइसकेको छ ।

प्रशिक्षक अब्दुल्लाहले शुक्रबारनै १० खेलाडी सहित कप्तान किरण लिम्बूलाई टिम बाहिर राख्दै राष्ट्रिय टोली घोषणा गरेका छन् । जसमा चार खेलाडीले अवसर पाएका छन् ।