८ बैशाख २०८१, शनिबार
Follow Us

अमेरिकी उपमन्त्री जिया जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरमा

नेपालब्रिटेन डट कम्
८ जेष्ठ २०७९, आईतवार ०५:११

काठमाडौं । नेपाल भ्रमणमा रहेकी अमेरिकी उपमन्त्री एवं तिब्बती मामिला संयोजक उज्रा जियाले जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविरको निरीक्षण गरेकी छन्। अमेरिकी दूताबासका डेपुटी चिफसहित उपमन्त्री जियाको टोली शनिबार मध्यान्ह जाउलाखेलस्थित तिब्बती शरणार्थी शिविर पुगेको हो।

उपमन्त्री जियाले शिविरको भौतिक एवं अन्य सुविधाका विषयमा विषयबारे जानकारी लिएकी छन्। उपमन्त्री जियाले शिविरमा रहेका शरणार्थीहरुको स्वास्थ्य, शिक्षा लगायतका विषयको समेत अभिरुचिपूर्वक जानकारी लिएको त्यहाँ रहेका एक तिब्बती अगुवाले अन्नपूर्णलाई जानकारी दिए।

शिविरमा बस्ने तिब्बती शरणार्थीसँग उपमन्त्री जियाले केहीबेर अन्तर्क्रिया समेत गरेकी थिइन्। तिब्बती समुदायका अगुवाहरुले शरणार्थी परिचयपत्र नहुँदा कतिपय तिब्बती शरणार्थीहरु मानव अधिकारका आधारभुत कुराहरुबाट समेत वञ्चित हुनु परेको उपमन्त्री जियालाई सुनाएका थिए।​ परराष्ट्र मन्त्रालयले शुक्रबार पत्रकार सम्मेलन गरी अमेरिकी उपमन्त्री जिया तिब्बती शरणार्थी शिवरमा जाने विषयबारे अनभिज्ञता प्रकट गरेको थियो।

प्रवक्ता सेवा लम्सालले उपमन्त्री जियाको व्यक्तिगत भ्रमणबारे आफूहरुलाई जानकारी नहुने बताएकी थिइन्। नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले बुधबार गृहमन्त्री खाणलाई भेटेर अमेरिकी उपमन्त्रीको भ्रमणबारे चासो राखेकी थिइन्। राजदूत यान्छीले नेपालले लिएको एक चीन नीतिको अडान कायमै रहनेमा आफू विश्वस्त रहेको गृहमन्त्री खाँणसँग भनेकी थिइन्।