१४ बैशाख २०८१, शुक्रबार
Follow Us

दलले छानेकालाई अस्वीकृत गर्दै मतदाता

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०७९, सोमबार ०४:२६

काठमाडौं । दोस्रो पटक भएको स्थानीय तह निर्वाचनको परिणामले जबर्जस्त ‘वैकल्पिक राजनीति’को बहस छेडिएको छ । दलले छानेका उम्मेदवारहरूलाई केही महानगरपालिकामा मात्र होइन, उपमहानगरपालिकादेखि वडा तहसम्मै स्वतन्त्र उम्मेदवारले पराजित गरेपछि वैकल्पिक राजनीतिको बहस फेरि चर्चामा आएको हो ।

देशको सङ्‍घीय राजधानी काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन्द्र साह जित नजिक छन् । धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवार गोपाल हमालको पनि जित घोषणा हुन मात्र बाँकी छ । धरान उपमहानरपालिकामा त स्वतन्त्र उम्मेदवार हर्क साम्पाङले निर्वाचित भइसके ।

अन्य स्थानीय तहमा पनि स्वतन्त्र उम्मेदवार धेरै ठाउँमा निर्वाचित भइसकेका छन् । यी परिदृश्यपछि जनता समाजवादी पार्टी (जसपा)का सङ्‍घीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले वैकल्पिक राजनीतिक शक्ति आवश्यक रहेकोमा जोड दिएका छन् ।

हुन त उनी वैकल्पिक राजनीतिक शक्ति बनाउने भन्दै २०७२ मा संविधान बनेपछि माओवादीबाट अगल भएका थिए । अलग भएर नयाँ शक्ति स्थापना गरे । तर, २०७४ को सङ्‍घीय संसद्को अधिवेशनमा उनको पार्टीबाट जित्ने उनी एक्ला भए । त्यो पनि तालमेलमा मात्र उनको जित सम्भव भएको हो ।

निर्वाचनको परिणामले गलेका उनले त्यसपछि वैकल्पिक शक्ति भन्‍न त छाडेनन् तर उपेन्द्र यादव नेतृत्वको सङ्‍घीय समाजवादी फोरमसँग एकीकरण गर्दै हाल जसपामा आइपुगेका हुन् ।

गृहजिल्ला गोरखाको ११ स्थानीय तहमा मात्र नभई गण्डकी प्रदेशभर नै एउटा सिट जिताउन नसकेका भट्टराईले ट्वीटरमार्फत ३० वैशाखमा भएको निर्वाचन परिणामले वैकल्पिक शक्ति आवश्यकता पुष्टि भएको बताएका छन् ।

उनले भनेका छन्, ‘चुनावका दूरगामी संकेतहरू :पूर्वकाे धरानदेखि काठमाडाैं हुँदै सुदूर पश्‍चिमकाे धनगढीसम्म स्थापित दलका टाउकामाथि बज्रिएका लाैराेहरू ! थुनिएका थारू विद्राेहका नायक रेशम चाैधरीकाे दल थारू बाहुल्य कैलालीमा अग्रपंक्तिमा ! अधिका‌ंश ठाउँमा पुराना अनुहारकाे हार र नयाँकाे जित ! याे विकल्पकाे खाेजी नभए के हाे ?’

भट्टराई मात्र होइन, पूर्व पत्रकारसमेत रहेका विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्र पनि वैकल्पिक शक्ति आवश्यक रहेकोमा जोड दिन्छन् ।

२०७४ मा भएको निर्वाचनबाट केही प्रदेशमा समानुपातिक सिटसम्म प्राप्त गर्न सकेका मिश्रको पार्टीले यस पटक मधेस प्रदेशको एक स्थानीय तहबाहेक कहीँ पनि निर्वाचन जित्न सकेन ।

सर्वत्र हारपछि पार्टीमा निरन्तर खटिने मान्छे नभएको र आर्थिक स्रोत नभएका कारण निर्वाचनमा दुःखद् परिणाम आएको पार्टी प्रवक्ता शरदराज पाठकले बताइसकेका छन् ।

वैकल्पिक राजनीतिक शक्ति बनाउने भन्ने यी दुई नेता मात्र होइनन्, हिन्दुवादी नेता कमल थापा पनि यसकै पक्षमा छन् । तर, उनको पार्टीले देशभरको ७५३ मध्ये एउटा पनि स्थानीय तहमा निर्वाचन जित्‍न सकेन । हारैहार भएपछि उनी चुपचाप छन् ।

प्रा.डा. लोकराज बराल दलहरूले उम्मेदवार छनोट गर्दा नाताका र कृपा गर्नेलाई दिएपछि जनता आक्रोशित भएको र त्यसको परिणाम स्वतन्त्र उम्मेदवारको जित भएको बताउँछन् । स्वतन्त्र उम्मेदवारहरूको जितलाई उनी वैकल्पिक राजनीतिसँग तुलना गर्दैनन् ।

उनले भनेका छन्, ‘पार्टीबाट निर्वाचित जनप्रतिनिधिहरूको काम गर्ने शैली पनि सन्तोषजनक छैन । उम्मेदवार छान्दा पनि नाताका र कृपा गर्नेलाई छान्‍ने गरेको देखिन्छ । त्यसविरुद्धको जनमत स्वतन्त्र उम्मेदवारलाई प्रकट भएको हो । यसलाई वैकल्पिक राजनीति भन्‍नेसँग तुलना गर्न हुँदैन ।’

स्थापित राजनीतिक दलका उम्मेदवारहरूलाई पछि पार्दै जित हात पार्नु स्वतन्त्र उम्मेदवारका लागि सहज होइन । तर, दलमा आबद्ध नै नभई स्वतन्त्र उम्मेदवारी दिँदै निर्वाचन लडेर ठाउँठाउँमा स्वतन्त्र उम्मेदवारले जितेपछि वैकल्पिक राजनीतिको बहस पनि चर्चामा आएको हाे ।