४ बैशाख २०८१, मंगलवार
Follow Us

नाटकीय खेल जित्दै सिटीलाई प्रिमियर लिगको उपाधि

नेपालब्रिटेन संवाददाता
९ जेष्ठ २०७९, सोमबार ०४:२८

लन्डन । अन्तिम खेलमा एस्टन भिल्लाविरुद्ध ३–२ को नाटकीय जित निकाल्दै म्यानचेस्टर सिटीले इङ्लिस प्रिमियर लिगको उपाधि जितेको छ । पहिलो हाफमा १–० ले पछि परेको सिटीले खेलमा पुनरागमन गर्दै लगातार दोस्रो पटक उपाधि जितेको हो ।

दोस्रो स्थानको लिभरपुललाई दुई अंकले पछि पार्दै पेप ग्वार्डिओलाको सिटीले उपाधिको रक्षा गरेकाे हाे । सिटीलाई जित दिलाउन एल्काई गुन्डोगनले दुई तथा रोड्रीले एक गोल गरे । म्याटि क्यासले ३७औं मिनेटमा गरेको गोलसँगै भिल्लाले पहिलो हाफमा १–० को अग्रता लिएको थियो ।

लिभरपुलका पूर्व खेलाडीसमेत रहेका फिलिप काउटिन्होले ६९औं मिनेटमा गरेको गोलसँगै दोब्बर पारेको अग्रता जोगाउन भिल्ला असफल भयो । गुन्डोगनले ७६औं मिनेटमा गरेको गोलसँगै स्कोरलाइन २–१ मा ल्याएको सिटीका लागि दुई मिनेट नबित्दै रोड्रीले बराबरी गोल फर्काएका थिए ।

निर्धारित ९० मिनेटको खेल सकिन ९ मिनेट बाँकी रहँदा सिटीका लागि गुन्डोगनले व्यक्तिगत दोस्रो गोल गर्दै सिटीको जित सुनिश्चित गरे । सिटीले जित निकाल्न नसकेको भए दोस्रो स्थानको लिभरपुलले उपाधि जित्ने निश्चित थियो । तर, अन्तिम खेलमा नाटकीय जित निकाल्दै सिटी लगातार च्याम्पियन बन्यो ।

विजेता सिटीले ९३ अंक जोड्दा लिभरपुलले ९२ अंक जोडेको छ । यस्तै ७४ अंक जोडेको चेल्सी तेस्रो स्थानमाइ रहँदा ७१ अंक जोडेको टोटेनह्याम हट्सपरले पनि चौथो स्थानमा रहेर अर्को सिजन च्याम्पियन्स लिगमा स्थान बनायो ।

६९ अंक जोडेर आर्सनल पाँचौं स्थानमा रहँदा म्यानचेस्टर युनाइटेड ५८ अंकसहित छैठौं भयो । यसअघि नै निश्चित भइसकेका वाटफोर्ड र नर्विच सिटीसँगै बर्नली पनि रेलिगेसनमा परेको छ ।

सिरी `ए´ को उपाधि एसी मिलानलाई
अन्तिम खेलमा सासोउलोलाई ३-० अन्तरले पराजित गर्दै एसी मिलानले इटालियन सिरी ए फुटबलको उपाधि जितेको छ । आइतबार रातिको जितसँगै मिलानले ११ वर्षपछि लिगको उपाधि जितेको हो । यस्तै मिलानले सिरी ए को उपाधि १९ औं पटक जित्यो ।

मिलानको जितमा ओलिभर जिरुडले दुई गोल गरे । यस्तै फ्रान्क केस्सीले एक गोल गरे । जितसँगै मिलानले ३८ खेलबाट ८६ अंक जोड्दै शीर्ष स्थानमा रह्यो । सासोउलो ५० अंक जोडेर ११ औं स्थानमा छ ।

बार्सिलोना अन्तिम खेलमा घरेलु मैदानमै पराजित
स्पेनिस ला लिगा फुटबलको अन्तिम खेलमा बार्सिलोना घरेलु मैदानमै भियारियालसँग २-० ले पराजित भएको छ । घरेलु मैदान क्याम्प नोउमा जितसहित सिजनको सुखद अन्त्य गर्ने बार्सिलोनाको लक्ष्यमा भियारियालका अल्फान्सो पेडराजा र मोइ गोमेजको गोल बाधक बन्यो । दोस्रो स्थानको बार्सिलोनाले ३८ खेलमा ७३ अंक जोड्दा सातौ स्थानको भियारियालको भने समान खेलमा ५९ अंक रहयाे ।

बार्सिलोनाले ला लिगा च्याम्पियन रियाल मड्रिड भन्दा १३ अंकले पछि रहँदै सिजनको अन्त्य गरेको हो । बार्सिलोनाले सिजनको खराब सुरुवातका बाबजुद दोस्रो स्थानमा बस्दै च्याम्पियन्स लिगको टिकट पक्का गरिसकेको थियो ।

बार्सिलोनामाथिको जितपछि भियारियालले भने क्याम्प नोउमा लगातार १० हारको शृंखलामा पूर्णबिराम लगाएको छ । त्यस्तै, एट्लेटिको मड्रिडले सिजनको सुखद अन्त्य गर्ने क्रममा रियाल सोसिडाडलई २-१ ले हरायो । सेभियाले पनि सिजनको सुखद अन्त्य गर्ने क्रममा एथ्लेटिक बिल्बाओलाई १-० ले पराजित गर्‍याे ।