१५ चैत्र २०८०, बिहीबार
Follow Us

मगर संघ यूकेको ओपन कन्सर्टमा गायक प्रकाश सपुतले प्रस्तुती दिने

नेपालब्रिटेन डट कम्
९ जेष्ठ २०७९, सोमबार १९:१७

लन्डन । मगर संघ यूकेले आउंदो साता २८ मेमा नेपाली ओपन कन्सर्ट गर्ने भएको छ ।

कोभिड महामारीका कारण २ वर्ष रोकिएको ओपन कन्सर्ट यसपटक फार्नबोरो फुटबल क्लव मैदानमा हुने तयारी छ ।

आइतबार कार्यक्रमबारे जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा संघले १४ औं ओपन कन्सर्टका लागि नेपालका लोकप्रिय गायक गायिका प्रकाश सपुत, नेपाल आइडल सिजन ४ विजेता भूपेन्द्र थापा र भ्वाइस अफ नेपाल २०२१ विजेता तारा श्रीस आउने निश्चित भएको जानकारी दिएको छ ।

यसबाहेक नेपालका अन्य ख्यातिप्राप्त लोक दोहोरी, आधुनिक र पप गीत गाउने कलाकारहरुको पनि कार्यक्रममा बेजोड प्रस्तुति रहने जनाइएको छ ।

बिहान ११ देखि बेलुकी ८ बजेसम्म सञ्चालन हुने कन्सर्ट मैदान प्रवेशका लागि वयस्कलाई २० पाउण्ड, १० वर्ष माथिका बालबालिका तथा ६५ वर्ष माथिका ज्येष्ठ नागरिकका लागि १५ पाउण्ड तय गरिएको छ । १० वर्ष मुनिकालाई प्रवेश निशुल्क छ ।

संघले कार्यक्रममा राजदूत ज्ञानचन्द्र आचार्य, एनआरएनए यूके अध्यक्ष प्रेम गाहामगर, हयाम्पसायर काउन्टी काउन्सिलरहरु, काउन्सिल लिडर, विभिन्न गन्यमान्य कम्तीमा एकसय जना अतिथी र तीनहजार बढी दर्शक सहभागी हुने अपेक्षा गरेको छ ।

मगर संघ यूकेको सातौं कार्यसमिति अहिले कार्यक्रम सफल बनाउन जुटिरहेको महासचिव गुमानसिंह थापाले बताए । कार्यक्रममा संघका १२ वटै शाखाको सहयोग पनि छ । कार्यक्रममा बालबालिकाका लागि फेस पेन्टिंग, अन्य रोचक खेल, खाना स्टल पनि रहनेछन् ।

संघकी अध्यक्ष सीता पुन मगरले बेलायतवासी नेपालीहरुलाई कार्यक्रममा सहभागी भएर मनोरन्जन लिन आग्रह गरेकी छन् । उक्त कार्यक्रमको संयोजन वरिष्ठ उपाध्यक्ष लालबहादुर पुनले गरेका छन् ।

सन् २००२ मा स्थापित मगर संघ यूकेले सन् २००७ देखि बुद्ध पूर्णिमाको अवसरमा वर्षेनी ओपन कन्सर्ट गर्दै आएको छ ।